बाँके : यसरी गर्दैछ निर्वाचन कार्यालय निर्वाचनको तयारी

केही दिन अघिसम्म निर्वाचन कार्यालय बाँकेको गेट भन्दा अगाडिसम्म लाम लाग्ने गर्दथ्यो, मतदाता नामावली दर्ताका लागि । पछिल्ला दिन मानिसहरुको भीडभाड देखिने उक्त कार्यालयमा दैनिक नेपालगन्ज बुधबार पुग्दा भने बाहिर सुनसान थियो ।
सीमित कर्मचारीबाट चलेको निर्वाचन कार्यालय बाँकेका कर्मचारी भने काममा व्यस्त देखिन्थ्ये । ‘निर्वाचन घोषणा लगत्तै आन्तरिक कार्यमा व्यस्त छौं’, निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी खुम प्रसाद सुवेदीले भने, ‘निर्वाचन घोषणा पछि मतदाता नामावली संकलन रोकिएको छ, हामी अब संकलित नामावली रुजु गरेर आयोगमा पठाउने कार्यमा व्यस्त छौं ।’
जिल्ला निर्वाचन अधिकारी सुवेदीले निर्वाचन घोषणापछि मतदाता शिक्षा, मतदान केन्द्र, मतदान स्थल, सुरक्षा व्यवस्था, आचासंहिता लगायत धेरै काम निर्वाचन कार्यालयले गर्ने तथा समन्वय गर्नुपर्ने जानकारी दिए ।


‘आयोगले निर्वाचन तयारीका लागि सबैभन्दा पहिले गर्नुपर्ने काम भनेको संकलित नामावलीको अन्तिम टुङ्गो लगाउने हो,’ जिल्ला निर्वाचन अधिकारी सुवेदीले भने, ‘मतदाता नामावली फाइनल भएपछि अन्य विषय क्रमशः अगाडि बढ्दै जान्छन् ।’ हाल जिल्ला निर्वाचन कार्यालयले विभिन्न ठाउँमा संकलित मतदाता नामावली एकत्रित गरेर रुजु गरिरहेको छ । ‘केही दिनमा मतदाता नामावली रुजु गरेर आयोगमा पठाउने छौं’, उनले भने, ‘आयोगबाट स्थानीय तह अन्तर्गतको नामावाली दाबी विरोधका लागि आउँछ, त्यसपछि प्रक्रियागत रुपमा मतदाता नामावलीको टुङ्गो लगाउँछ ।’


जिल्ला निर्वाचन अधिकारी सुवेदीले जिल्ला निर्वाचन कार्यालयले अब समन्वयकारी भूमिका खेल्ने जानकारी दिएका छन् । आयोगको निर्णय र निर्देशन आएपछि त्यसको कार्यान्वयन गर्दै जाने सुवेदीले बताएका छन् ।

भौतिक पूर्वाधार विवरण माग्दै आयोग

निर्वाचन अधिकृतको कार्यालयका लागि भौतिक पूर्वाधार व्यवस्थापन गर्न स्थानीय तहलाई आयोगको पत्र

निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय तहलाई निर्वाचनका लागि तयार रहन सन्देश दिएको छ ।
मुलुक संघीयतामा गएसँगै अब बाँकेका प्रत्येक स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाममा मुख्य निर्वाचन अधिकारीको कार्यालय रहने व्यवस्था छ । अल्पकालीन रुपमा सञ्चालन हुने यी कार्यालयलाई भौतिक पूर्वाधारहरुको खाँचो पर्ने भएकाले आयोगले स्थानीय तहलाई भौतिक पूर्वाधारको अवस्था र आवश्यकताबारे संघीय मामिला तथा सामान्य प्रशासन मार्फत पत्राचार गरिसकेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख निर्वाचन अधिकारी खुम प्रसाद सुवेदीले जानकारी दिएका छन् । ‘सबै स्थानीय तहलाई माथिबाट आएको पत्रबारे जानकारी गराएका छौं’, उनले भने ।


आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनका लागि स्थानीय तहसँग सरकारी भवन, नभए भाडाको घर, उपलब्ध भौतिक पूर्वाधार लगायतको बारेमा विवरण माग गरेको छ । ‘आयोगले मन्त्रालय मार्फत भौतिक पूर्वाधारको विवरण माघ मसान्तसम्म उपलब्ध गराउन स्थानीय तहसँग आग्रह गरेको छ’, जिल्ला निर्वाचन अधिकारी सुवेदीले भने ।
आयोगले स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचन आयोगबाट उपलब्ध गराइएको ल्यापटप र प्रिन्टरहरुको विवरण समेत माग गरेको छ । आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय तहहरुमा निर्वाचन अधिकारीको केन्द्र स्थापनाका लागि स्थानीय तहलाई जिम्मेवारी बनाउन खोजेको छ ।

बाँकेमा चालु आ.व. मै थपिए ४२ हजार
लुम्बिनी प्रदेशमा २८ लाख मतदाता
बाँकेमा मात्रै मतदाता नामावलीबाट २ हजार ६ सय हटाइए

बाँकेमा गत साउन यता मात्रै ४२ हजार बढी मतदाताले नामावली संकलन गराएका छन् । ती मध्ये कतिपय बाहिरी जिल्लाको पनि रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । ‘कतिपय जिल्लामा यहाँका लागि र यहाँका लागि कतिपय जिल्लामा मतदाता नामावली संकलन भएको थियो’, उनले भने, ‘आयोगमा विवरण पुगेर आयोगबाट नामावली आएपछि मतदाताको एकिन हुन्छ ।’
जिल्ला निर्वाचन कार्यालय बाँकेले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर स्थानीय तहमै पुगेर नामावली संकलन गरेको थियो । त्यसपछि पनि निर्वाचन कार्यालय र प्रशासनमा नामावली संकलनलाई निरन्तरता दिइएको थियो । राजनीतिक दलहरु आफैले गाउँगाउँबाट मतदाता नामावली संकलनका लागि गाडी रिजर्व नै गरेर स्थानीयलाई मतदाता संकलन केन्द्रसम्म पुर्याएका थिए । ‘नामावली संकलनमा राजनीतिक दलबाट सहयोग र चासो व्यक्त गरिएको छ’, जिल्ला निर्वाचन अधिकारी खुम प्रसाद सुवेदीले भने । बाँकेमा यसअघि मतदाता नामावली अद्यावधिक गर्दा मृत्यु भएका २ हजार ६ सय २३ जनाको नामावली मतदाता सूचीबाट हटाइएको थियो ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार, लुम्बिनी प्रदेशमा २८ लाख ८३ हजार ९ सय ५८ जना मतदाता रहेका छन् । जसमा महिलाको संख्या १४ लाख ३१ हजार ४ सय ९५ र पुरुष मतदाताको संख्या १४ लाख ५२ हजार ४ सय ३६ जना रहेका छन् । अन्य मतदाताको संख्या २७ जना रहेका छन् । २०७७ पुससम्म मतदाताको अद्यावधिक विवरण अनुसार, देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० जना रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया