बाँकेमा ६ महिनाको अवधीमा नै १ हजार बढी घरेलु साना उद्योग थपिएका छन् । कोरोना तथा त्यसका कारण सिर्जित असहज परिस्थितिका बावजुद बाँकेमा १ हजार बढी उद्योग थपिनु सकारात्मक रहेको व्यवसायीहरु बताउँछन् । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशिलाल अधिकारीले चालु आर्थिक बर्ष २०७८÷०७९ को ६ महिनामा १ हजार १ सय ९४ उद्योग दर्ता भैसकेको जानकारी दिएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अनुसार, चालु आर्थिक बर्षको साउनमा २ सय १६, भदौमा २ सय ९७, असोजमा २ सय ३५, कार्तिकमा १ सय ५३, मंसिरमा १ सय ४७ र पुसमा १ सय ४६ वटा साना उद्योग दर्ता भएका छन् । गत दुई बर्ष कोरोनाका कारण आर्थिक क्षेत्र निकै प्रभावित भएपनि घरेलु उद्योग भने बढ्दो रहेको तथ्यांकले देखाएको छ । जसकारणका पूँजी लगानी र रोजगारीको सिर्जना समेत रहेको घरेलु कार्यालयको तथ्यांकले देखाएको छ ।
अघिल्लो आ.व. २०७७/०७८ मा बाँकेमा २ हजार ३ सय ४१ वटा साना घरेलु उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशिलालका अनुसार, उक्त आ.व.मा उत्पादनमूलक ३ सय १४, कृषि तथा वनजन्य १ हजार २ सय ७३, पर्यटन उद्योग सम्बन्धी ३ सय २ र सेवामूलक ४ सय ५२ वटा साना उद्योग दर्ता भएका छन् ।
बेरोजगारी समस्या समाधानका लागि घरेलु उद्योग राम्रो भूमिका खेलेको तथ्यांकबाट देखिन्छ । आ.व. २०७७/०७८ मा साना उद्योगले ८ हजार ९ सय ६१ जनाले रोजगारी पाएको तथ्यांक छ । जसमध्ये महिलाको संख्या ३ हजार ५ सय ९९ र पुरुषको संख्या ५ हजार ३ सय ६२ रहेको छ ।
आ.व. २०७७/०७८ मा बाँकेमा ८ सय ३ साना उद्योगले मात्रै नविकरण गराएका छन् । भने लगत कट्टा गर्ने उद्योगको संख्या ९६ रहेको छ । उक्त आ.व.मा घरेलुले ५५ लाख ३५ हजार ८ सय ७० रुपैयाँ राजश्व संकलन गरेको थियो ।
साना उद्यमी महिला बढी
बाँकेमा साना उद्यमीको संख्या पुरुषको भन्दा महिलाको बढी रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अनुसार, आ.व. २०७७/०७८ मा दर्ता भएका २ हजार ३ सय ४१ मध्ये महिला उद्योगीको संख्या १ हजार ४ सय १ रहेको छ भने पुरुष उद्यमीको संख्या ९ सय ३० मात्रै छ ।
महिलाहरु हस्तकला, टेलरिङ्ग लगायतका व्यवसायमा मात्रै सीमित नभई उद्योगहरु तर्फ पछि आकर्षित हुँदै गएका छन् । महिलाहरुले स्वदेशमा मात्रै नभई विदेश निर्यात हुने मालसामान पनि उत्पादन गर्न थालेका छन् ।
मैनबत्ती, अगरबत्ती, भुजा उद्योग, मसला, सिलाई, ब्युटीपार्लर, बुटिक, कडाई उद्योग सञ्चालन गर्नेहरुमा बढी महिलाहरु छन् । यद्यपि, महिलाले चलाएको उद्योगको बजारीकरणमा भने अझै समस्या रहेको औपचारिक कार्यक्रममा महिला उद्यमीहरुले बताउँदै आएका छन् ।
चालु आर्थिक बर्षको पुसमा बाँकेमा दर्ता भएका १ सय ४६ साना उद्योगको सञ्चालकमा महिलाको संख्या ८२, मंसिरमा दर्ता भएका १ सय ४७ उद्योगमा महिला उद्यमीको संख्या ९३, कार्तिकमा दर्ता भएका १ सय ५३ मा महिला उद्यमीको संख्या ९१, असोजमा दर्ता भएका २ सय ३५ मा महिला उद्यमीको संख्या १ सय ५४, भदौमा दर्ता भएको २ सय ९७ उद्योगमा महिला उद्यमीको संख्या १ सय ८८, साउनमा दर्ता भएको २ सय १६ साना उद्योगमा महिला उद्यमीको संख्या १ सय ६७ रहेको छ ।
यस्तो छ उद्योग विभागको तथ्यांक
पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको व्यवसायी बताउँछन् । गत आव २०७७÷०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार, गत आवको पुस मसान्तसम्म देशभर १ सय ३ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । चालु आवको सोही अवधिमा उद्योग दर्ताको संख्या बढेर १ सय ५४ पुगेको छ । विभागका अनुसार, देशभर हालसम्म ८ हजार ६ सय ८ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका छन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म देशभर ४५ ठूला, ५७ मझौला र ५२ साना उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १७ ठूला, २१ मझौला र ६५ साना उद्योग दर्ता भएका थिए । हालसम्म एक हजार २५९ ठूला, एक हजार ९६६ मझौला र पाँच हजार ३८३ साना उद्योग दर्ता भएका विभागले जनाएको छ ।
लघु उद्यम र घरेलु उद्योगबाहेक रु १५ करोडसम्म स्थिर पूँजी भएको उद्योगलाई साना, रु १५ देखि ५० करोडसम्म पूँजी भएका उद्योगलाई मझौला र रु ५० करोडभन्दा बढी पूँजी भएका उद्योगलाई ठूला उद्योगका रुपमा लिइन्छ । बढीमा रु २० लाखसम्म पूँजी भएको उद्योगलाई लघु उद्यम र परम्परागत सीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योग भनिन्छ । उद्योग दर्तासँगै प्रस्तावित लगानीमा पनि वृद्धि भएको छ । गत आवको पुस मसान्तसम्म दर्ता भएका उद्योगमा रु ७२ अर्ब ६२ करोडको लगानी प्रस्ताव भएकामा चालु आवमा सो लगानी बढेर रु एक खर्ब ८६ अर्ब पुगेको छ । हालसम्म रु २४ खर्ब ७० अर्बको लगानीसहित उद्योग दर्ता भएका विभागको तथ्याङ्क छ ।
उद्योगले दिने रोजगारी पनि झण्डै दोब्बरले बढेको छ । गत आवको समीक्षा अविधमा उद्योग स्थापनाबाट छ हजार २८८ रोजगार भएकामा चालु आवको सोही अवधिमा १३ हजार ७४८ रोजगारी प्रस्तावित भएको विभागले जनाएको छ । हालसम्म दर्ता भएका उद्योगमा छ लाख ४२ हजार ५४३ रोजगारी प्रस्ताव गरिएको छ । विभागबाट विदेशी लगानीको स्वीकृति लिनेको संख्या पनि बढेको छ । गत आवको पुस मसान्तसम्म १२३ विदेशी लगानी स्वीकृति भएकामा समीक्षा अवधिमा सो संख्या बढेर १२९ पुगेको छ । विभागले हालसम्म पाँच हजार ३६६ विदेशी लगानी स्वीकृत गरेको छ ।
विदेशी लगानीका ठूला उद्योग ३१९, मझौला ५६६ र साना उद्योग चार हजार ४८१ दर्ता भएका छन् । समीक्षा अवधिमा विदेशी लगानी रु २३ अर्ब ४७ करोडबाट बढेर रु ३० अर्ब ५६ करोड पुगेको छ । हालसम्म रु तीन खर्ब ९५ अर्ब ४२ करोडको विदेशी लगानी प्रस्तावसहितका पाँच हजार ३६६ उद्योग दर्ता भएका विभागले जनाएको छ । मुलुकमा औद्योगिक वातावरण बन्दै जानु, नीतिगत तथा प्रशासनिक सुधार, लगानीकर्तालाई सेवा सुविधा र सहजीकरण, लगानीका अवरोधलाई सुधार गर्दै लगेसँगै उद्योग स्थापनाका क्रम बढेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिएका छन् ।