जिल्लाका सरकारी कार्यालय प्रमुखहरुसँग नेकपा एमाले बाँकेका नवनिर्वाचित पदाधिकारी तथा आठ वटै पालिकाका अध्यक्षहरुले अन्तरक्रियात्मक छलफल गरेका छन् ।

सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको समन्वयमा प्रत्यक्ष जनसरोकारका कार्यालयका प्रमुखहरुसँग एमालेले अन्तरक्रिया गरेको पार्टी अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । ‘खासगरी निर्वाचनलाई सफलीभूत बनाउन प्रमुख प्रतिपक्षीका हैसियतले हाम्रो पूरापुर साथ रहने प्रतिबद्धता जनाइएको छ’, छलफलबारे जानकारी दिंदै अध्यक्ष कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘विकास निर्माणका कामहरुलाई चुस्त, दुरुस्त ढंगले अगाडि बढाउन सरोकारवाला कार्यालय गम्भीर भएर सक्रिय बन्न हाम्रो ध्यानाकर्षण रह्यो ।’
अन्तरक्रियामा सुरक्षा अधिकारीसँगै मालपोत अधिकृत, सडक डिभिजन प्रमुख, सिक्टा सिचाइ प्रमुख, विद्युत शाखा प्रमुख लगायतका जन सरोकारका कार्यालय प्रमुखहरुको सहभागिता रहेको एमालेले जनाएको छ । ‘खासगरी नवनिर्वाचित एमाले प्रतिनिधिहरुसँग जिल्ला स्थित कार्यालयका प्रमुखहरुको परिचयात्मक कार्यक्रमसँगै प्रमुख प्रतिपक्ष दलको भूमिकामा हामीले निर्वाह गर्नुपर्ने भूमिकाका लागि पनि यसखालको कार्यक्रम गरिएको हो’, अध्यक्ष कक्षपतिले भने ।