सुरु भयो निःशुल्क गुर्जो सेवा कोष

निःशुल्क गुर्जाे सेवालाई देशभर प्रभावकारी रुपमा विस्तार गर्न कोष

नेपालमा कोरोना भाइरसका सङ्क्रमित भेटिएदेखि निःशुल्क गुर्जो वितरण अभियानमा लाग्नुभएका कमलबहादुर राजलवटले निःशुल्क गुर्जाे सेवा कोषको स्थापना गर्नुभएको छ ।

परिवारका सदस्यकोसमेत सहयोगमा स्थापना गरिएको कोषमा रु तीन लाख जम्मा गरेर अभियानको नयाँ चरण सुरु गरिएको उहाँले जानकारी दिनुभयो । कोषमा शेयरमा गरेको लगानीबाट प्राप्त मुनाफा, माछा, मासु, मादकपदार्थजस्ता खाद्य सामग्रीको सेवन नगरी त्यसमा खर्च हुने अनुमानित रकम, घर, जग्गा, खेतबारीको प्रयोगबाट प्राप्त आम्दानी, आफ्नो तथा परिवारको तलब भत्ताको निश्चित् प्रतिशत रकम, आफ्ना घरपरिवारका सदस्यले स्वेच्छाले प्रदान गर्ने रकम, जडीबुटीको उत्पादन गरी त्यसको बेचबिखनबाट प्राप्त हुने रकम र भविष्यमा यस्तै किसिमले उत्पादन, बचत तथा सिर्जना गरिएका कामबाट आउने रकम पनि यो कोषमा राख्न लागिएको राजलवटले जानकारी दिनुभयो ।

हाल निरन्तर गरिँदै आएको निःशुल्क गुर्जाे सेवालाई देशभर प्रभावकारी रुपमा विस्तार गर्न कोषको स्थापना गरिएको जनाइएको छ । आन्तरिक राजस्व कार्यालय धुलिखेलको प्रमुख कर अधिकृतका रुपमा कार्यरत राजलवटले विसं २०७६ चैतदेखि निरन्तर गुर्जोका बिरुवा र यसबाट बनेको धुला एवं चिया वितरण गर्दै आउनुभएको छ । कोषबाट गुर्जाेलगायतका जडीबुटीजन्य बेर्नाको उत्पादनमा समेत सहयोग हुनेछ ।

कोषमा छोरा काव्य राजलवटको व्रतबन्धको भोजबाट रकम बचाएरसमेत सहयोग गरिएको उहाँले बताउनुभयो । माघको तेस्रो साता गरिएको व्रतबन्धका क्रममा कोरोना महामारीका कारण आफन्त एवं साथीभाइ बोलाउन नसकिएकाले त्यो रकमसमेत जम्मा गरिएको हो । विलासिता एवं भोजभतेरमा खर्च हुने रकमसमेत गुर्जो कोषमा राखिने जनाइएको छ ।

गुर्जाे चिया तथा गुर्जाेसहितको धुलो औषधिको सेवालाई अझै प्रभावकारी बनाउन तथा सेवालाई अझै व्यापकता र निरन्तरता दिन आफैले स्वअनुशासन अन्तर्गत कोष खडा गरेको उहाँले बताउनुभयो । कोषमा परिवारका सदस्यबाहेक अरुको सहयोग नलिने नीति लिइएको छ ।

हाल गुर्जो, तुलसी, असुरो, लेमनग्रास, कटीपत्ता, ज्वानो, मेथी, दालचिनी, तेजपात, हर्रो, बर्रो, अमला, ल्वाङ, अलैँची, टिमुर, मरिच, सुठो, बेसार, पिपला, अपमार्ग, सनईपत्ता, निपोध, निम, चिराइतो, बकाइनो, जेठीमधु, वायुविरिङ, चुत्रो, नागरमोथी, सुन्तलाबोक्रा, अनारबोक्रा, लज्जावती, पुनःनभा, अम्बापात, पारिजात पात, आँप पात, बर पात, पिपल, मेवा पात, बोझो, तितेपाती, रुदिलो, कालोजिरा, बेलपात, माझिम फल, जङ्गे हर्रो, सिमल फुल, पुदिना, ठूलो ओखती, अर्जुन छाल, धनियाँ, ब्राह्मी, कोइरालो, खयर, सयपत्री, गोदावरी गरी ५६ वटा जडीबुटीबाट बनेको धुलो बनाएर वितरण गर्ने गरिएको छ ।

बर्तालुलाई निःशुल्क गुर्जोको चिया र धुलो वितरण

यसैगरी राजलवटले साँखुस्थित शालिनदीमा एक महिने माधवनारायणको व्रत बसेका १२५ जना बर्तालुका लागि गुर्जोलगायत जडीबुटीबाट बनेको चिया, धुलो निःशुल्क वितरण गर्नुभएको छ । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिलाई गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलो दिइएको उहाँले जानकारी दिनुभयो ।

समितिले निःशुल्क रुपमा चिया पकाएर भक्तजनलाई सेवा गर्दै आएकामा त्यहाँसमेत गुर्जोको चिया र धुलो दिइएको छ । राजधानीमा विगत आठ वर्षअघिदेखि जारी रहेको वाग्मती सफाइ महाअभियान, मनोहरा सफाइ अभियानलाई पनि गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलो हस्तान्तरण गरिएको छ । वाग्मती सफाइलाई गुर्जो अभियानकर्मी रमेशबहादुर राजलवट र मनोहरा सफाइ अभियानलाई अञ्जु राजलवट र राजेशमोहन प्रधानले चिया र धुलो वितरण गर्नुभएको हो ।

यसैगरी अभियानकर्मी राजलवटले सिन्धुपाल्चोकको थकनी, मेलम्ची, तालामाराङ, शिखरपुर र नवलपुरमा पनि गुर्जोबाट बनेको चिया र धुलो वितरण गरिएको बताउनुभएको छ । गुर्जोेले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने भएकाले कोरोना महामारीका बेला धेरैको माग बढ्ने गरेको छ । ज्वरो, रुघाखोकी, घाँटी दुख्नेजस्ता समस्या समाधानमा पनि गुर्जोलगायत जडीबुटीको धुलो प्रभावकारी हुने गरेको छ । (रासस)

प्रतिक्रिया

प्रतिक्रिया