पत्रकारका लागि आँखा जाँच शिविर गरिंदै
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवस आज शनिवार देशभर मनाइँदैछ ।
नवौं अधिवेशनबाट निर्वाचित दुर्गा रोकाय नेतृत्वको कार्यसमितिले बाँकेमा विभिन्न कार्यक्रम गरि स्थापना दिवसलाई प्रभावकारी बनाउने जनाएको छ । शुभकामना कार्यक्रमसहित अन्य विभिन्न कार्यक्रम राखिएको चौतारीले जनाएको छ ।
‘बाँकेका पत्रकारहरुका लागि आँखा जाँच कार्यक्रम आयोजना गरिएको छ,’ चौतारीका सह–सचिव देवेन्द्रराज पौडेलले स्थापना दिवसबारे जानकारी दिंदै भने, ‘त्यसका लागि भिजन आँखा अस्पतालसँग सहयोग र समन्वय गरिएको छ ।’
‘स्थापना दिवसकै अवर पारेर हामीले चौतारी बाँकेका संस्थापक अध्यक्ष रेशम विरहीको सम्मानमा ‘रेशम विरही सृजनशील पत्रकारिता पुरस्कार’ को कोष स्थापना शुभारम्भ पनि गरिंदैछ,’ अध्यक्ष रोकायले भने, ‘अर्को वर्षदेखि जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गरिनेछ ।’
आँखा जाँचको लाभ लिन सबै पत्रकारहरुलाई आव्हान गरिएको अध्यक्ष रोकायले जानकारी दिए । ‘धेरै काम गर्न सकिन्थ्यो कोरोना प्रोटोकलका कारण खुम्चिएका छौं,’ स्थापना दिवसलाई विशेष बनाउँदै आगामी दिनमा अगाडी बढ्यो योजना सुनाउँदै अध्यक्ष रोकायले भने, ‘योजना धेरै छन्, पत्रकारको हितमा काम गर्दै सामाजिक तथा सृजनात्मक काम चौतारीको प्राथमिकतामा रहन्छ ।’
जनताका मुद्दा उठाउँदै व्यवसायिक धर्म निर्वाह गर्न चौतारीका सदस्यहरु प्रतिबद्ध रहेको भन्दै अध्यक्ष रोकायले श्रमजीवी पत्रकारका पक्षमा संघर्षसँगै आगामी दिनमा विधि बिधानमा टेकेर संस्थाको हितमा समयानूकुल काम गर्दै जाने कुरामा आफ्नो कार्यसमिति दृढ रहेको बताए । ‘२४ औं स्थापना दिवसले हामीलाई त्यही कुराको प्रेरणा दिन्छ,’ अध्यक्ष रोकायले भने ।