
राजपत्र अनुसार जान आयोगको ध्यानाकर्षण
२०७४ जेठ ११ गते नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार, आगामी निर्वाचन गरिनु पर्ने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ । अधिवक्ता मोहना अन्सारी र शैलेन्द्र प्रसाद अम्बेडकरले शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई निर्वाचन कार्यालयमै भेटघाट गरी लिखित ध्यानाकर्षण गराएका हुन् ।
खासगरी आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाल सरकारले २०७४ जेठ ११ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार लुम्बिनी प्रदेशमा थप भएका गाउँपालिका तथा नगरपालिकामा सोही अनुसार जान ध्यानाकर्षण गराइएको हो । ‘हाम्रो जिल्लामा पनि खजुरालाई नगरपालिका र एउटा पालिका थप हुने गरी निर्णय गरिएको थियो’, अधिवक्ता अन्सारीले दैनिक नेपालगन्जसँग भनिन्, ‘सर्वोच्च अदालतमा परेको मुद्दा समेतको फैसला भैसकेको अवस्थामा सोही अनुसार अबको निर्वाचन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
खजुरालाई नगरपालिका घोषणा गरिसकिएको अवस्थामा मुद्दा परेपछि पुनः गाउँपालिका अनुसार अघिल्लो निर्वाचन भएको थियो । ‘निर्वाचन भैसकेकाले सर्वोच्चले आगामी व्यवस्था सोही अनुसार हुनेगरी निर्णय गरेको थियो’, अधिवक्ता अन्सारीले भनिन्, ‘अदालतको फैसला अनुसार पनि आयोगले अब खजुरालाई नगरपालिका र अन्य पालिकाको हकमा पनि सोही अनुसार गर्नुपर्दछ ।’ राजपत्र अनुसार, हालको राप्तीसोनारीलाई राप्तीगाउँपालिका र सोनारी गाउँपालिकाका रुपमा विभाजन गरिएको छ । त्यस्तै नवलपरासी, रुपन्देही र कपिलवस्तुमा पनि पालिका थप गरिएका छन् ।