बाँकेमा प्रभावकारी बन्दै बाल हेल्पलाइन, २ हजार ५ सय कल

सन् २०२१ मा हराएका २१ बालिका र ९ बालक फेला परे

बाल हित संरक्षणमा प्रभावकारी बन्दै गएको छ । बाल हेल्पलाइन नम्बर १०९८ मा कोरोनाको महामारीमा पनि सहयोगका लागि प्रशस्त कलहरु भएको तथ्यांकले देखाएको छ ।

सिविन नेपाल, नेपालगन्जले बाँकेमा १०९८ बाट प्राप्त हुने गुनासोको सुनुवाई गर्दै आएको छ । सिविन नेपाल, नेपालगन्ज प्रमुख सिद्धराज पनेरुले सन् २०२१ मा बाल हेल्प लाइनमा २ हजार ४ सय ८६ वटा कल प्राप्त भएको जानकारी दिएका छन् । जसमध्ये पुरुषले १ हजार २ सय ६५ र महिलाले १ हजार २ सय २१ वटा कल गरेका थिए ।

‘विभिन्न संघ, संस्था, प्रहरी, बालबालिका, स्थानीयले बालबालिका अप्ठ्यारोमा पर्दा कल गरेर उजुरी गर्नुहुन्छ’, सिविन नेपालगन्ज प्रमुख पनेरु भन्छन्, ‘उजुरी प्राप्त भएपछि हामी समाधानमा जुट्छौं ।’ कलमा प्राप्त हुने उजुरीको आधारमा त्यसको समाधानका लागि विभिन्न निकायसँग समन्वय गर्दै आएको जानकारी दिंदै पनेरुले बाल हेल्प लाइनले बालबालिकालाई निकै सघाएको अनुभव सुनाउँछन् ।
‘अभिभावकबाट कुटिएको होस् वा विद्यालयका घटना अथवा बालबालिका हराउँदा, बाल विवाह हुन लाग्दा बाल हेल्प लाइनमा जानकारी आउने गरेको छ’, उनले भने ।

सिविन नेपालगन्जका अनुसार, सन् २०२१ मा हराएका २१ बालिका र ९ जना बालक फेला परेको जानकारी दिएको छ । उक्त अवधीमा बाल विवाहका समेत उजुरी परेका छन् । सिविन नेपालगन्जका अनुसार बर्ष २०२१ मा बाल विवाहका २१ उजुरी परेकोमा बालिका विवाहको १० र बालक विवाहको १ उजुरी परेको छ । असहाय, बिरामी भएर सहायताका लागि २ बालिका र २ बालकको उजुरी परेको सिविनले जानकारी दिएको छ ।

सिविनमा सन् २०२१ मा ९ बालिका र १ बाल मानव बेचबिखनको समेत उजुरी परेको थियो । त्यस्तै ७ बालिका हिंसामा परेको, ३ बालिका र १ बालक पारिवारिक समस्यामा रहेको, कर्पोरेट क्षेत्रबाट २ बालिका र १ बालक पीडित भएको उजुरी परेको तथ्यांकले देखाएको छ ।
‘बालबालिकाको सवाल भएकाले सिविनमा परेका सबै उजुरी तथा गुनासोको सुनुवाई तत्कालै गर्दै आएका छौं’, सिविन नेपालगन्जका प्रमुख पनेरुले भने ।

सिविनमा कोभिड संक्रमणका बेला आर्थिक अवस्था कमजोर भई खान, लाउन समस्या भएको भनेर समेत गुनासो आएपछि स्थानीय तहसँगको समन्वयमा राहत वितरण गरिएको सिविन नेपालगन्जले जानकारी दिएको छ ।
सन् २०२१ मा ९ सय ५० बालबालिकालाई लक्षित गरी राहत वितरण गरेको सिविन नेपालगन्जको तथ्यांक रहेको छ । ‘४ सयलाई खाद्यान्न, १ सुत्केरीलाई राहत, १ सय ५० बालबालिकालाई शैक्षिक सामाग्री, ३० लाई हाइजेनिक किट, १५ विद्यालयलाई हेण्डवास स्थानीय तहसँगको समन्वयमा वितरण गरेका छौं’, सिविन नेपालगन्ज प्रमुख पनेरुले भने ।
सिविनले बर्ष २०२१ मा १ हजार ८३ गुनासोको समाधान गरेको बताएको छ ।

एक बर्षमा १ सय ३३ सेल्टरमा

सिविन नेपाल नेपालगन्जले सन् २०२१ मा १ सय ३३ बालबालिकालाई क्षणिक आश्रय दिएको बताएका छन् । विभिन्न संघ, संस्था, प्रहरी तथा उजुरीका आधारमा बालबालिकाको उद्दार गरेर ल्याएपछि प्रहरी, जनप्रतिनिधि, स्थानीयबासी लगायतको च्यानल पहिल्याएर अभिभावकको खोजी गरी सिविनले बालबालिका अभिभावकको जिम्मा लगाउने गरेको छ । अभिभावक नै फेला नपरे उनीहरुको बाल गृहमा पुनस्र्थापित गर्ने गरेको सिविनले जानकारी दिएको छ ।

सिविन नेपालगन्जका प्रमुख सिद्धराज पनेरुका अनुसार, सन् २०२१ मा ६५ बालक र ६८ बालिकालाई सिविनमा राखेर अभिभावकको जिम्मा लगाएको जानकारी दिएका छन् । ‘हामीले बालबालिकासँगै कुराकानी गरेर बिस्तारै उनीहरुको घर पत्ता लगाएर अभिभावकलाई सम्पर्क गरी बालबालिका बुझाउने गरेका छौं’, उनले भने, ‘कुनै कुनै घटनामा अभिभावक सहजै नआउँदा समस्या समेत झेल्नु परेको छ ।’ बाल मनोविज्ञान बुझेर उनीहरुसँग एकै पटक भन्दा उनीहरु भुलाएर, रमाउने वातावरण तयार गरेर वास्तविकता खोतल्ने गरेको पनेरु बताउँछन् ।


बिहीबार दैनिक नेपालगन्ज प्रतिनिधि सिविन नेपालगन्ज पुग्दा कोही क्यारेम्बोर्ड खेल्दै थिए त कोही टिभि हेर्दै थिए । घर कहाँ, कसरी भन्ने प्रश्नमा बेवास्ता गरेका बालबालिकाको ध्यान मनोरञ्जनमै थियो । उद्दार गरिएका बालबालिकालाई झिझो लाग्ने गरी कुरा गर्नु उचित नभएपनि उनीहरु खुलेर भने बोल्न चाहेनन् ।


अभिभावक कुर्दै अबोध
ट्रान्जिटमा रमाउँदै !

बाँकेको कोहलपुरमा भेटिएकी बालिका आर्थिक सहयोग याचनाको एउटा पत्र सहित फेला परेपछि प्रहरीले उद्दार गरेर सिविन पठाएको थियो । गफमा भुलाउँदै उनीसँग कुरा गर्दा उनले वास्तविक घर बनाउनु भन्दा अघि दिदीलाई भनिसकेको जवाफ दिएकी थिइन् ।
सिविन नेपालगन्ज प्रमुख सिद्धराज पनेरुले बाल मनोविज्ञान बुझेर मात्रै उनीहरुको वास्तविकता बुझिरहेको बताउँछन् । ‘कतिपय बालबालिकाले सुरुमा आफ्नो वास्तविक ठेगाना र परिवार थाहा भएपनि भनिदिंदैनन्’, उनीहरुलाई केही दिन राखेर रमाउने वातावरण तयार भएपछि बिस्तारै वास्तविकता खोल्ने गरेको उल्लेख गर्दै पनेरुले भने ।

सिविन नेपाल नेपालगन्जले अहिले पाँच जना बालबालिकालाई आश्रय दिइरहेको छ । भारत तथा नेपालका विभिन्न ठाउँबाट उद्दार गरिएका १ बालिका र ४ बालक अहिले सिविन नेपालगन्जमा राखिएका छन् । अहिले सिविन विभिन्न निकायसँगको समन्वयमा उनीहरुका अभिभावकको खोजी गर्दैछ ।

‘बालबालिकाको भविष्यका लागि जिम्मेवार हुनुपर्छ’


सिविन नेपालगन्जका प्रमुख सिद्धराज पनेरुले लामो समयदेखि बालबालिकाको उद्दार र उनीहरुको पुनस्र्थापनाको काम गरिरहेका छन् । उनी घर छाडेर हिड्ने बालबालिकाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै भन्छन्, ‘बालबालिकाको उज्वल भविष्यका लागि सरोकारवाला सबै जिम्मेवार हुनुपर्दछ ।’


‘रहर र लहडका भरमा भविष्य अन्धाकार बनाउने गरी बालबालिका भारत पुग्ने गरेको पाएका छौं’, पनेरु भन्छन्, ‘सरोकारवाला निकाय जिम्मेवार हुने हो भने यसलाई रोक्न सकिन्छ ।’


विद्यार्थीहरु स्कुल डे«समै पनि नाका कट्ने गरेको पाइन्छ । आर्थिक अवस्था कमजोर तथा केही व्यक्तिहरुको प्रलोभनमा परेर बालबालिका भारत पुग्ने गरेका छन् । भारत गएर आउने व्यक्तिले त्यहाँको बारेमा विभिन्न भ्रम फैलाएपछि बालबालिका अभिभावकलाई नै नसोधेरै घर छाड्ने गरेका छन् ।


‘बालबालिका हराए तत्काल उजुरी गर्ने र राज्य जिम्मेवार हुने हो भने तत्काल रोक्न सकिन्छ’, पनेरु भन्छन्, ‘ठाउँठाउँमा हुने चेकिङ्गमा बालबालिका कहाँ, किन र को सँग भन्ने प्रश्न गर्ने हो भने बालबालिका लहर र रहरमा भारत जान रोकिन्छन् ।’
पनेरुले बालबालिका पढ्ने लेख्ने उमेरमा रहेका बालबालिकाको संगत, व्यवहार परिवारले नियालिरहनु पर्ने बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया