कस्ले जलायो स्काभेटर ?

हामीलाई आरोप लगाइएको छ, सत्य त्यो होइनः नेकपा

फाइल तस्वीरः सांकेतिक


बाँकेको राप्तीसोनारी – २ मसुरी बगर लामाचौरमा पार्किङ गरि राखिएको एउटा स्काभेटरमा आगजनी गरिएको छ । भे १ प ११११ नम्बरको स्काभेटरमा मंगलवार राती अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


निशान बिल्डर्सले आफ्नो स्टक उठाउनलाई प्रयोग गरेको स्काभेटर जलाइएको भन्दै आपत्ति जनाएको छ । तरुण दल कोहलपुरका उपाध्यक्षसमेत रहेका गौरव रावलको स्काभेटरमा आगजनी गरिएको हो । तरुणदलले पनि घटनाप्रति आपत्ति जनाएको छ ।
मंगलवार राती पौने १० बजे तिर स्काभेटरका चालक तथा सहचालक खाना खान गएको बेला अज्ञात समूहले आगजनी गरेको प्रहरीको भनाइ छ ।


इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाबारे सुक्ष्म निगरानी र अनुसन्धान भइहरेको जनाएको छ । ‘घटनालाई टेक्निकल्ली हेरिरहेका छौं,’ इप्रका इन्चार्ज डिएसपी रविन्द्र खनालले दैनिक नेपालगन्जसँग भने, ‘व्यक्तिगत विवाद वा थ्रेटका कुरालाई पनि नियालिरहेका छौं ।’ उनले दोषी उन्मुक्त हुन नदिने बताए ।


राप्तीसोनारीमा अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको भन्दै विप्लव नेतृत्वको नेकपाले रोक लगाएको थियो । व्यवसायीहरुले उत्खनन् गरि थुपारेको नदीजन्य पदार्थमा नेकपाले झण्डानै गाडेर नचलाउन चेतावनी दिएकाले आगजनीमा उनीहरुकै संलग्नता आशंका गरिएको सम्बद्ध व्यवसायीहरुको भनाइ छ ।


तर, नेकपाले भने आरोपलाई अस्वीकार गरेको छ । ‘अबैध उत्खनन्लाई हामीले रोकेको कुरा सत्य हो,’ नेकपाका स्थानीय युवा नेताले दैनिक नेपालगन्जसँग भने, ‘आगजनीको घटनामा हामीलाई आरोप लगाइएको छ, सत्य त्यो होइन ।’ नेकपाले त्यसबारे थप अध्ययन गरेर औपचारिक धारणा दिने जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया