२० लाख क्वारेन्टाइन नगराएका कुखुरा तथा माछामासु बरामद

भारतबाट क्वारेन्टाइन नगराइ पशुपन्छीजन्य आयातमा प्रतिबन्ध रहेको छ । तरपनि भारतसँग खुला सीमा रहेको बाँकेमा विभिन्न भित्री नाकाबाट अवैध रुपमा पशुपन्छीजन्य वस्तु आयात हुने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट क्वारेन्टाइन नगरी ल्याएका पशुपन्छीजन्य वस्तुहरु नाकाभित्री सकेपछि समात्ने गरेको छ । चालु आर्थिक बर्षमा मात्रै २० लाख मूल्य बराबरको कुखुरा तथा माछामासु बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका छन् ।

प्रहरीले चालु आर्थिक बर्षको ६ महिनामा अवैध रुपमा ब्रोइलर कुखरा, चल्ला, मासु, माछा सहित ७ जनालाई पक्राउ गरी क्वारेन्टाइनमा बुझाएको जानकारी दिएको छ ।

अबैध ब्रोइलर कुखुरा र मासु बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार भारतबाट अवैध रुपमा ल्याइएको टेम्पो सहित नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, नेपाल–भारत सीमाको भित्री गाउँ नरैनापुर गाउँपालिकाको वडा नं. ६ बाट भे १ स ९०६७ नम्बरको टेम्पोमा ल्याइरहेको २ सय ७७ केजी ब्रोइलर कुखुरा र मासु बरामद गरेको जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले जिउदो र काटेको ब्रोईलर कुखुरा ढुवानी गरिरहेका पूर्ण बहादुर खत्रीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले थप १ सय वटा जिउँदो ब्रोइलर कुखुरा पनि बेवारिसे अवस्थामा बरामद गरेको जानकारी दिएको छ ।

बरामद कुखुरा तथा मासु प्रहरीले आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन नेपालगन्ज बाँकेमा पठाएको जानकारी दिएको छ ।

६ महिनामा ९ करोड बढी राजश्व

जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक बर्ष २०७७/०७८ को ६ महिनामा ९ करोड बढी जरिवाना स्वरुप राजश्व असुल गरेको छ । उक्त रकम अघिल्लो आर्थिक बर्षको सोही अवधीको तुलनामा तीन गुणाले बढी हो ।

अघिल्लो आ.व.को सुरुको ६ महिनामा प्रहरीले २ करोड ७५ लाख ३४ हजार ७ सय ३८ रुपैयाँ बराबरको राजश्व भन्सार छली तथा विभिन्न कारबाहीबाट असुली गरेकोमा चालु आर्थिक बर्षको ६ महिनामा ९ करोड ३९ लाख, ९३ हजार ७ सय ८ रुपैयाँ असुल गरेको छ ।

प्रहरीले चालु आर्थिक बर्षको ६ महिनामा भन्सार चोरीपैठारीबाट ४ करोड ३६ लाख २६ हजार ६ सय ८, सुन तस्कर कारवाहीबाट ३ करोड १३ लाख ९७ हजार ६ सय ७५, ट्राफिक कारबाहीबाट १ करोड १२ लाख ३४ हजार ५ सय, नदीजन्य पदार्थको अवैध उत्खनन्बाट ३ लाख ३० हजार असुलेको छ । जुवाता विरुद्धको कारवाहीबाट ९ लाख ५१ हजार ६ सय १०, फरार अभियुक्तबाट ३७ लाख ९९ हजार ५ सय १४ रुपैयाँ असुल गरेको हो ।

सुपारी सहित दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध रुपमा सुपारी नेपालबाट भारत तर्फ तस्करी गर्न लागेको फेला पारेपछि दुई जनालाई पक्राउ गरेको
छ ।

प्रहरीले दिएको जानकारी अनुसार, भारत रुपैडिहाका इरफान राई र मोहम्मद सईदलाई प्रहरीले भे १ ह १८२४ र भे १ स १२१९ नं.को अटो रिक्साको डिक्कीमा लुकाई भारत लग्न लागेको सुपारी सहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, सुपारीको मूल्य करिब २ लाख रहेको छ ।

पछिल्ला दिन नेपालबाट भारत तर्फ सुपारी तस्करी बढ्दो रुपमा रहेको छ । तेस्रो मुलुकबाट आयात गरिएको सुपारी नेपाल भित्रिएपछि पुनः भारत तर्फ बिक्री गर्न अवैध रुपमा लग्ने गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया