
आफूलाई भएको फुर्सदको अवसर छोपेर एउटा मन मिल्ने साथीलाई फोनमा कुरा गर्दै प्रस्ताव राखें – ‘कहिलेकाही त फुर्सद निकालेर भेटघाट गरौंन हो !पहिले त मन नजीक भए पनि बसाईको दूरी टाढा थियो, त्यसैले पनि भेट हुन गाह्रो हुन्थ्यो । अव त बसाइ पनि नजीकै छ तर पनि भेटै हुदैन । किन हो यस्तो ?कतै तन नजीक भएर मन त टाढिएन ?’
मेरो जिज्ञाशामा साथीको प्रतिक्रिया थियो – साँच्ची तिमीले मनकै कुरा ग¥यौ । तर पनि आज अलि गाह्रो भयो । आज बूढाबूढी मिलेर घरको सरसफाइ गर्दैछौं । धेरै दिनदेखिको घरलाई चिटिक्क बनाउने साइत बल्ल आज जुरेको छ । त्यसैले सकेसम्म आजैबेलुका, नभए भोली समय मिलाएर भेटघाट गरौं न त ? मैले नै फोन गर्छु ल !’ साथीको कुरालाई सहज रुपमा स्वीकार गर्दै मैले पनि ‘हस’ भनें । फोन आउछ कि भनेर बेलुका पनि पर्खें । आएन । भोलिपल्ट पनि पर्खें । अह, भोलिपल्ट पनि आएन ।
पर्सिपल्ट मैले आफैले फोन गरें । साथीले ‘सरी’ भन्दै फोन हुन नसक्नुको कारण भने –‘मेरो त जिन्दगी यस्तै छ मित्र । घरको मान्छे असाध्यै शंकालु छ । त्यो दिन दिउसभरि मिलेर काम ग¥यौं । घर पनि सफासुग्घर र व्यवस्थित भयो । बेलुका खाना खाने समयमा एकजना महिला स्टाफको फोन आयो । विषय त्यस्तो खास केही थिएन । बिदाको दिन कसरी बित्यो लगायतका कुराहरु सोधेकोमा सहज किसिमले जवाफ दिदै थिएँ । एक्कासी खाना खाँदैको प्लेट एकातिर लत्याएर म्याम त ‘मेरै अगाडि प्रेमालापका कुराकानी ?’ भनेर उफ्रिन थाल्यो । ‘होइन बाबा यस्तो शङ्का नगर’ भन्दा पनि उल्टै उफ्रिन थाल्यो ।
आफ्नो दोष नभए पछि मलाई पनि रिस उठ्यो र बम्किएँ । यत्तिसम्म भयो कि अब पारपाचुके गर्ने भन्ने सम्मका कुरा भए ।’ उनका कुरा सुनेपछि मैले थपथाप गरें – ‘तिमीहरुले सफा गर्नु पर्ने कुरा सफा नगरेर बस्दा रहेछौ । घर भने अलिकति पनि दाग लाग्न नदिंदारहेछौं । बूढाबूढी मिलेर सफा गरिहाल्दा रहेछौ । सबैभन्दा पहिले तिम्रा बूढाबूढी मिलेर घर होइन कि तिमीहरुको मन सफा गर त ?’ मित्रले मेरो कुरा त सुने तर प्रतिक्रिया भने केही नदिइकनै मौन बसे ।
साँच्ची उल्लिखित विषय आजको परिवेशमा घरघरको कहानी भएको छ । मानिसहरु घर सफा गर्छन, कोठा चिटिक्क सजाएर राख्छन्, आँगन त्यत्तिकै रङ्गीन र बगैचामय बनाउछन् । यत्तिमात्र नभइ मानिसहरु तन पनि सुन्दर बनाउने कुरालाई समेत त्यत्तिकै ख्याल गर्छन । यस्तो लाग्छ कि जीवनमा एकपटक सुन्दर देखिन खोज्ने कुनै समयका विवाहका दुलहादुलही जस्तैगरी त हिजोआजका मानिसहरु हरेक दिन सजिएका हुन्छन् । कोही फेसबुकका लागि पनि सजिएका हुन्छन् भने कोही टिकटकका लागि पनि सजिएका हुन्छन् । कोही अरु अरु कसैका निम्ति पनि । कतिपयले त फेसबुकमा जे कुरा लेखे पनि र सन्दर्भ जे भए पनि ज्यानलाई समेत खाइलाग्दो बनाएर देखाउनै पर्ने हुन्छ । फेसबुके मित्रहरु पनि त्यस्तै हुन्छन् । उसले लेखेको मिठो गजल, मुक्तक लगायतका शब्दहरुतिर आँखा नलगाएर फोटो हेर्दै व्यूटिफूल, क्यूट, हयाण्डसम भनेर कमेन्ट लेख्ने गर्दछन् ।
यी सबैका चर्तिकला देख्दा त आफ्नो फेसबुक नै बन्द गर्नुपर्छ कि भन्ने लाग्छ । कुरा पनि ठिकै हो, फेस देखाउन् भनेरै त्यसको नाम नै फेसबुक भनेको होला । फेस नै देखाउन लायक नभएपछि अरु कुरा देखाउनलाई किन फेसबुक खोल्नु प¥यो र ? यसको मतलव टिकटक खोले भैगो नि भन्ने अर्थ पनि होइन मेरो । यद्यपि टिक्टक्पनि त्यस्तै छन् आजभोलि ।
मुना र मदनको सम्बादमा मदन पैसा कमाउन भोट जान्छु भन्दा मुनालाई पात्र बनाएर महाकवि देवकोटाले लेखेका छन्– ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले ।’ त्यस्ता मुनाहरु खोज्न अहिले दिउसै बत्ती बाल्नु पर्ने हुन्छ । पाइदैनन् । अहिलेका मुनाहरु सुरुमै मदनहरुलाई उपहारको प्रस्ताव राख्छन् ।
गतिलो उपहार नपाए सजिलै छोडिदिने धम्की दिन्छन् । अहिलेका मदनहरुको पारा पनि त्यही हो । पैसा कमाउन र भाइरल हुनकै लागि जे पनि गर्न थाले आजका मानिसहरुले । छोरी, बुहारी,आमा, दिदी, बहिनीआदि भएको बेला त टिकटक नखोले हुन्छ । झुक्किएर खोलिएछ भने पनि जिब्रो टोकेर हत्तपत्त बन्द गर्नुपर्ने हुन्छ ।
साँच्ची के गरेको होला यत्ति विधि पनि ? के उनीहरुका दाजुभाइ र बाबाआमाहरुले त्यो दृश्य हेर्दैनन् होला त?व्यक्तिगत स्वतन्त्रताको नाममा यत्ति धेरै मनपरी गर्नु हामी र हाम्रो समुन्नतिका लागि उपयुक्त हो त ? के यस्ता क्रियाकलापहरुले समाजमा हत्याहिंसा, बलात्कारका घटनाहरुलाई बढावा दिदैन त ? खै किन हो, कहिलेकाही यस्तै यस्तै सन्दर्भहरुले हामी कता जाँदैछौं भन्ने विषयमा एक्लै बसिरहँदा पनि पिरलो लागिरहन्छ ।
मानिस, समाज र समग्र मुलुकले यसरी बाटो विराएर क्रमशः जङ्गलीकरण हुदै जानुको पछाडि भौतिक सम्पन्नताले मानिसलाई गाँज्नु एउटा प्रम्ख कारण हो । भौतिक सम्पन्नताका निम्ति मानिसले आफ्नो कर्तव्य बिर्सिरहेको छ । नेता नेताजस्तो हुन सकिरहेको छैन । जनप्रतिनिधि जनप्रतिनिधिजस्तो हुन सकिरहेको छैन ।
बाचाकबुलहरु एकातिर छन् कामकुरा अर्कोतिर छन् । शिक्षक शिक्षक जस्तो हुन सकिरहेको छैन । असल र समुन्नत जीवनका लागि आर्जन गर्नुपर्ने शिक्षा र सिकाइका लागि शिक्षक मार्गदर्शक हुन सकिरहेका छैन । अभिभावक झनै बरबादीतिर उद्यत छ । कुनै बेलाको पाठशाला रुपि घर अहिले पाठशाला जस्तो नभइ भट्टीपसल जस्तो भइरहेको छ ।
बालबालिकाले अधिकांश खराव कुराहरु घरबाटै सिकिरहेका छन् । मानिस सामाजिक भन्दा पनि स्वार्थी भएको छ । साना साना विषय र विवादका कारणले मानिसहरु घर छोड्ने र सम्बन्ध विच्छेद गर्ने सम्मका निर्णयमा पुगेका देखिन्छन् । बृद्धबृद्धाप्रति गरिने व्यवहार निर्मम भएको छ यसरी कि त्यस्तो व्यवहार गर्ने मानिसले आफू पनि बृद्ध हुन्छु भन्ने कुरा बिर्सिरहेको छ ।
आज मानिसले असल हुनु (Being good)लाई भन्दा पनि असल देखिनु (Looking good) लाई महत्व दिइरहेको छ । मनभरि भएका सिनो र कुहिगन्धलाई छोपेर बाहिर सबैभन्दा असल छु भनेर देखाइरहेको छ । व्यक्तिको सामाजिक जीवन, निजी जीवन र नितान्त व्यक्तिगत जीवनको बीचमा तालमेल छैन ।
समाजमा देखिदा एउटा कुरा गर्छ, घरमा आएर परिवारका सदस्यहरुसँग अर्को कुरा गर्छ र वास्तवमा उसको मनमा त्यो भन्दा अर्कै कुराले बास गरिरहेको हुन्छ । जसले गर्दा उसले मुस्कुराउनका लागि उपयुक्त अवसर नै पाउदैन । किनभने उ आफैभित्रको द्वन्द्वमा अल्झिरहेको छ । उसँग भएका तीनवटा जीवनको बीचमा नै नजीकको साइनो देखिदैन ।
उसले जुन पेशामा काम गरिरहेको छ, त्यो पेशालाई उसको मनले सम्मान गर्दैन । परिवारका सदस्यहरुसँग पनि उसको नजीकको साइनो भए पनि नजीकको सामिप्यता छैन । तथापि हरेक मानिसले आफूलाई असल छु भन्ने प्रमाणित गर्न दौडधुप गरिरहेको छ । मतलव उ असल नभए पनि असल देखाउने ध्याउन्नमा छ ।
महात्मा गान्धी प्राथमिक विद्यालयमा अध्ययन गरिरहेको समयमा एकपटक उनको कक्षामा एकजना विद्यालय निरीक्षक आएर विद्यार्थीलाई आफूले केही शब्द भनेर लेख्न लगाउछन् । त्यत्तिबेला महात्मा गान्धीले उक्त शब्दहरु शुद्ध नलेखेको कुरा विद्यालय निरीक्षकले देख्छन् र नजीकको साथीको हेरेर लेख भनेर उनले महात्मा गान्धीलाई इशारा गर्छन । महात्मा गान्धीले भने त्यसो गर्दैनन् । उनलाई लाग्छ कि अरुको नक्कल गरेर लेख्नु अनैतिक काम हो ।
प्राथमिक विद्यालयमा अध्ययन गर्दाको यो अवस्थामा मात्र नभइ जीवनको कुनै पनि अवस्थामा महात्मा गान्धीले अनैतिक काम गरेनन् । अहिले त्यो आदर्श, त्यो मूल्य र त्यो मान्यता धर्मराएको छ । मानिस आफैले आफैप्रति अन्याय र अत्याचार गरिरहेको छ । उसको आफ्नै बोलीको ठेगान छैन । उसले आफैले बोलेका शब्दहरुप्रति उसले अन्तर्घात गरिरहेको छ । यो सबैको कारण भनेको भौतिक सम्पन्नताको निम्ति मानिस अनावश्यक किसिमले भौतारिनु हो । व्यक्तिभन्दा पनि वस्तुलाई महत्व दिनु हो ।
घुम्दै फिर्दै रुम्जाटार भने जस्तै मानिस अन्ततः मनलाई सुन्दर बनाउने अभियानमा लाग्नुको विकल्प देखिदैन । मन सुन्दर हुन सकेन भने मानिस वास्तवमै खुसी हुन सक्दैन । उसको आँशु र पिडालाई उसले आफ्नो तन सुुन्दर बनाउनका लागि गरिएका हरकतहरुले कम गर्नेवाला छैनन्, बरु उसले सुन्दर हुनका लागि अनुहारमा पोतिएको सौन्दर्यका प्रशाधनलाई उसकै आँशुले पखालेर बगाउनेछ । न त उ बस्ने गरेको बङ्गला र उ चढ्ने गरेको गाडीले नै उसको आँशु पुछ्न सहयोग गर्नेछ । अतः मन सुन्दर बनाउनका लागि उसँग जे छ त्यसैमा खुसी हुन सिक्नुपर्नेछ, न कि आफूबाट गुमेका कुराहरु सम्झना गरेर ।
आफ्नो कर्मको कारणले अरुको अनुहारमा देखिएको खुसी पढेर आफू पनि खुसी हुन सक्नुपर्नेछ, न कि मै खाउँ, मै लाउँ भन्ने स्वार्थी जीवन बाँचेर । दुनियाँमा भएका सकारात्मक कुराहरु तर्फ आफ्नो ध्यानाकर्षण गराएर खुसी हुन सक्नुपर्दछ न कि आफ्ना दिमागलाई अरुका नकारात्मक कुराहरु थन्क्याउने डम्पीङ साइट बनाएर । सबैभन्दा महत्वपूर्ण कुरा त सम्मान गर्ने मामलामा सधैं सम्पन्न हुन सिकौं । सम्मान चाहे आफ्नो निम्ति होस् वा अरुको निम्ति । सम्मान गरेपछि सम्मान पाइन्छ । यसको मतलव चाकरी होइन ।
अमेरिकाको सेल्फहेल्प ग्रूपले गर्ने प्रार्थनाको भाव यस्तो रहेको छ – ‘प्रभू, मलाई त्यो परिस्थितिको सहर्ष रुपमा स्वीकार गर्ने शक्ति देऊ, जसलाई बदल्न सम्भव छैन । प्रभू, मलाई त्यो परिस्थिति बदल्नका लागि शक्ति देऊ,जसलाई बदल्न सकिन्छ र प्रभू मलाई यो पनि सद्बुद्धि देऊ, जसका कारणले बदल्न नसकिने र बदल्न सकिने बीचको भिन्नता पहिचान गर्न सकूँ ।’
मलाई पनि यस्तै लाग्छ कि हरेकले आफूले गरेको कर्म असल वा खराव के हो ? हाम्रो कर्मका कारणले कसलाई लाभ र कसलाई हानी भइरहेको छ ? अन्ततः हाम्रो कर्मको प्रभाव दुनियाँमा कस्तो पर्नेछ ? हामीले यी सब कर्म सर्वजनहितायको पक्षमा गरिरहेका छौं वा आफ्नो निम्ति मात्रै ? हामी यो दुनियाँमा अमरत्व प्राप्त गर्ने अभियानमा छौं वा सशरीर जिउदै भए पनि मरेको झै गरी बाँच्ने अभियानमा ? यी सबै विषयहरुमा पर्याप्त मन्थन गर्न सकियो भने मनको सुन्दरता बढ्न भारी छैन ।
मन चङ्गा भए जीवन त्यसै पनि पवित्र गङ्गा हुने कुरामा कसैलाई पनि द्विविधा छैन । ‘फूलको आँखामा फूलै संसार’ त्यसै कहाँ भाइरल भएको हो र ? सबैलाई चेतना भया !