सहायक महामन्त्रीमा मनोनयन

म पार्टीको वडा तहदेखिनै सबैखालका जिम्मेवारी बुझेर संगठन गर्दै यहाँसम्म आइपुगेको मान्छे हो ।
ऋषिराज देवकोटा
सहायक महामन्त्री
राष्ट्रिय प्रजातन्त्र पार्टी
बाँकेका युवा नेता ऋषिराज देवकोटा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बन्न सफल भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गर्दा युवानेता देवकोटा समेटिएका हुन् ।
तत्कालिन पार्टी अध्यक्ष कमल थापाले नेतृत्वमा दोहोरिने इच्छा गर्दा पार्टी परिवर्तनका लागि दोस्रो पुस्तामा नेतृत्व जानुपर्ने खुलेआम वकालत गरेका देवकोटालाई अध्यक्ष लिङ्देनले सहायक महामन्त्रीको महत्वपूर्ण जिम्मेवारीमा मनोनयन गरेका छन् ।
‘राप्रपामा युवा पुस्तामा जानुपर्छ भन्ने हाम्रो अभियानको सार्थकताले अहिलेको नेतृत्व स्थापित भएको हो,’ पदाधिकारीमा मनोनयनपछि देवकोटाले भने । पार्टी र नेतृत्वले दिएको जिम्मेवारीलाई आफ्नो कर्तव्य सम्झेर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै देवकोटाले दैनिक नेपालगन्जसँग भने, ‘राप्रपालाई एउटा बलियो प्रजातान्त्रिक,राष्ट्रवादी शक्ति निर्माण गर्न कुनै कसर नराखेर अबको राजनीतिक सक्रियता अगाडी बढ्नेछ ।’
बाँके कचनापुरस्थित लक्ष्मी उच्च माविमा कक्षा ९ पढ्दानै राप्रपा सम्बद्ध विद्यार्थी संगठनको नेतृत्व सम्हाल्दै राजनीतिक करिअरसँग पौठेजोरी खेलेका देवकोटा ०५२ मा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा सोही संगठनको इकाई सभापति भइसकेका थिए ।
पछिल्लो महाधिवेशनमा लोकप्रीय मतका साथ केन्द्रीय सदस्य निर्वाचित देवकोटा प्रदेश अध्यक्षका लागि झिनो मतले पराजित भएपछि केन्द्रतिर लागेका हुन् । कुनैबेला पार्टीको क्षेत्रीय अध्यक्ष हुँदै जिल्ला पार्टी नेतृत्व हाँकेका देवकोटाले सहायक महामन्त्री मनोनयनपछि भने, ‘म पार्टीको वडा तहदेखिनै सबैखालका जिम्मेवारी बुझेर संगठन गर्दै यहाँसम्म आइपुगेको मान्छे हो ।’
पार्टी संगठनका सबै खुट्कीला पार गर्दै केन्द्रीय पदाधिकारी हुन सफल देवकोटा पार्टीको प्रदेश सचिव भइसकेका छन् भने युवा तथा विद्यार्थीका केन्द्रीय तहका जिम्मेवारी सम्हालिसकेका हुन् । ‘यो मेरो छलाङ होइन,’ राजनीतिक उडानबारे दैनिक नेपालगन्जसँग भने, ‘पार्टी र विचार कमजोर हुँदा पनि हिम्मत नहारेर भुईदेखि उठ्दै संघर्ष गर्दाको मुल्यांकन हो ।’ नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुख डा. धवल शम्शेर राणाका राजनीतिक सल्लाहकारका रुपमा पनि देवकोटा सक्रिय छन् । डा. राणा राप्रपाका निर्वाचित महामन्त्री हुन् ।
लिङ्देनले हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष मनोनित गरेका छन् । राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री बनाइएका छन् । भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई प्रवक्तामा मनोनित गरेको राप्रपा अध्यक्षले प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई सहायक प्रवक्ता मनोनित गरेका छन् ।
यस्तै मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङलाई सहमहामन्त्री मनोनित भएका छन् । बाँकेका देवकोटासँगै सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ताहिर अलि र दीपककुमार राईलाई मनोनित गरिएको छ । योसँगै राप्रपामा अब पदाधिकारी संख्या ३१ पुगेको छ । विभिन्न विभागका प्रमुखसमेत तोकेको लिङ्देनले विज्ञप्तिमार्फत जनाएका छन् ।