बिश्वसाइकल यात्राका लागि निस्किएका भारतीय दुई साइकल यात्रीलाई शनिवार नेपालगन्जमा स्वागत–सम्मान गरिएको छ । लुधियाना पन्जाबका दुई साइकल यात्री जतिन्दर सिंह (दुबैको एउटै नाम) पहिलो चरणको ३ हजार किलोमिटर साइकल यात्रा तय गरेर १५ औं दिन नेपालगन्ज आइपुगेका हुन् ।

माघ १४ गते बनबासा नाका हुँदै महेन्द्रनगर, धनगढीको बाटो नेपालगन्ज आइपुगेका दुबै जतिन्दर सिंह आइतवार नेपालगन्जबाट राजधानी काठमाडौका लागि प्रस्थान गर्ने नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।
आफ्नै घरमा दुई दिनसम्म आतिथ्यता प्रदान गरेका अध्यक्ष निरौलाका अनुसार, शनिवार नेपालगन्ज साइक्लिङ क्लबले नेपालगन्जमा खादा र अबिर लगाएर स्वागत सम्मान गरेको हो ।
क्लबका सचिव प्रदीप सापकोटाले ‘जिउँदो हुँदा रक्तदान र मृत्यु पछि अङ्गदान’ भन्ने नारा लिएर बिश्व साइकल यात्रामा निस्किएका पन्जाबका दुई साइकल यात्रीलाई नेपालगन्जमा स्वागत सम्मान गरिएको जानकारी दिए ।
उनीहरुले पहिलो चरणको यात्रा पन्जाब, बरेली हुँदै नेपाल प्रवेश गरि महेन्द्रनगर, धनगढी, बर्दिया, नेपालगन्ज, लमही, लुम्बिनी, बुटवल, नारायणगढ हुँदै काठमाडौ भएर मेची पुलबाट सिलगुडीको बाटो भारत मणिपुर हुँदै भुटानसम्मको यात्रा पुरा गर्ने लक्ष्य राखेको बताएका छन् ।
साइकलको माध्यमबाट नेपाल प्रवेश गरे सङ्गै भेटिएका साइकलेहरुसङ्गको आत्मीय सम्बन्ध र आफुहरुलाई प्राप्त सम्मान र सद्भावले आफुहरु निकै प्रभावित भएको साइकल यात्री जतिन्दर सिंहद्वयले प्रतिक्रिया दिए ।
मानिसको मृत्यु पछि पनि मानवीय अंग काम लाग्ने र सक्रिय रहने हुँदा मानिसका अंग आँखा, कलेजो, आन्द्रा, किड्नी अर्को मानिसमा प्रत्यारोपण गर्न सकिने हुँदा आफ्नो मृत्यु पछि अरु मानिसलाई पुनर्जीवन दिन मिल्ने अंग दानको महत्व बारे यात्रामा भेटिएका मानिसहरूलाई जानकारी दिने र उत्प्रेरणा दिंदै अगाडि बढ्ने लक्ष्य सहित यो साइकल यात्रामा निस्किएको भारतीयद्वय साइकल यात्रीहरुले बताए ।