नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धन जनतामाझ जान डराइरहेको टिप्पणी गरेका छन् ।

शुक्रवार बाँकेको खजुरामा आयोजित एउटा कार्यक्रममा बोल्दै महासचिव शंकर पोख्रेलले स्थानीय तहको निर्वाचन गर्न सरकार हिच्किचाएको आरोप लगाउँदै भने, जनताको वीचमा जान गठबन्धन डराइ रहेकाले निर्वाचन नगर्न प्रपन्च रचिरहेको छ ।’ चुनाव टार्न खोज्नु प्रतिगामी कदम भएको भन्दै पोखरेलले जनदबाबको आवश्यकता औल्याए ।
स्थानीय सरकारलाई कमजोर बनाउने षडयन्त्र भइहरेको भन्दै पूर्व मुख्यमन्त्री पोखरेलले निर्वाचन टारेर रिक्त राख्ने षड्यन्त्र भइरहेको धारणा व्यक्त गरे । ‘जेठमा कार्यकाल पूरा हुन्छ,’ स्थानीय तह निर्वाचनको मिति घोषणा गरिसक्नुपथ्र्याे,’ लोकतन्त्रलाई बलियो बनाउन जनतामाझ जानुको विकल्प नरहेको भन्दै पोखरेलले ‘मिलेर खाने दाउमा गठबन्धन लागिरहेको’ आरोप लगाए ।
लुम्बिनीमा गठबन्धनले १७ जनाको मन्त्री मण्डल बनाएर जनताको काम भन्दा एमालेको विरुद्ध मोर्चा कसिरहेको आरोप लगाएका पूर्व मुख्यमन्त्री पोखरेलले भने, ‘ सय दिन त सरकार बनाउन बिताए ।’ राज्यको स्रोत र साधन दोहन गरिरहेको भन्दै प्रदेश सरकारको आलोचना गरेका पोखरेलले ‘एमालेले गरेको कामसँग डराएर हटाउने षड्यन्त्र गरेको’ टिप्पणी गरे ।
मूल्य वृद्धि अहिलेसम्म कै उच्च विन्दुमा पुगेको तथ्य अघि सार्दै एमाले महासचिव पोखरेलले व्यापार घाटा बढ्दो क्रममा यसरीनै अगाडी बढिरहे आर्थिक संकटको संकेत प्रष्ट देखिएको बताए । आर्थिक तरलता अभाव बढिरहँदा बैंक लगानी गर्न नसक्ने अवस्थामा नरहेको पोखरेलले भनाइ छ ।
देश अगाडि बढाउन बलियो शक्ति निर्माणका लागि आफ्नो पार्टी अघि बढेको जनाउ दिएका महासचिव पोखरेलले विकास र समृद्धिको नेतृत्व एमाले मात्र गर्न सक्ने दावी गर्दै भने, ‘सामाजिक न्यायको पक्षमा एमाले स्थापित भइसकेको छ ।’
खजुरा गाउँपालिकाले आयोजना गरेको सामुहिक आवास कार्यक्रम शुभारम्भ गर्दै विकास र समृद्धिको नेतृत्व एमाले मात्र गर्न सक्ने दावी गरे । महासचिव पोखरेलले सामूहिक आवास निर्माण गरि बिपन्न परिवारलाई हस्तान्तरण गर्नु खजुरा गाउँपालिकाले नमूना काम गरेको भन्दै प्रशंसा गरे ।
गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिको अध्यक्षतमा भएको कार्यक्रममा उप–प्रमुख एकमाया विक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
औपचारिक कार्यक्रमको सञ्चालन गाउँपालिकाका राजनीतिक सल्लाहकार भीम ओलीले गरेका थिए । औपचारिक कार्यक्रमपछि एमाले महासचिव पोखरेलले खजुरामा सञ्चालित विभिन्न गौरवका आयोजनाको अवलोकन गरेको गाउँपालिकाका प्रेस सल्लाहकार दुर्गा रोकायले जानकारी दिए ।
प्रेस सल्लाहकार रोकायका अनुसार, पूर्व मुख्यमन्त्री पोखरेलले गाउँपालिकाको प्रशासनिक भवन, मदन भण्डारी बहुउद्देश्यीय सभा गृहको अवलोकन गरेका हुन् ।
बिपन्नलाई खजुरामा सामुहिक आवास हस्तान्तरण