नारायणपुरमा कर्णाली बैंकः उद्घाटनकै दिन ढाई करोड निक्षेप

नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकले आफ्नो १९ औं शाखा दाङ्गको नारायणपुरमा शुभारम्भ गरेको छ ।

नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेतले मध्यपश्चिम क्षेत्रको पहिलो विकास बैंक, कर्णाली विकास बैंकको १९ औं शाखा शुभारम्भ गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले कार्यक्रममा सम्बोधन गर्दै ग्रामीण, नगरउन्मुख र नगर क्षेत्रका ग्राहकहरु माझ बैंकका उत्कृष्ट सेवाहरु विस्तार गर्दै जाने आफ्नो योजना साकार भइरहेको बताए ।

बाँके, बर्दिया र दाङ्ग जिल्ला कार्यक्षेत्र भएको बैंकले हालै प्युठान र रोल्पा जिल्ला कार्य क्षेत्र थप गरी निकट भविष्य मै उक्त जिल्लाहरुमा शाखा सञ्जाल विस्तार गर्न लागेको जानकारी रावतले दिएका छन् । बैंकले हरेक शाखाबाट मोबाइल बैंकिङ्ग, एटीएम, आई.पि.एस., अनलाइन बैंकिङ्ग, एबिबिएस सेवा विस्तार गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत रावतले बताए ।


स्थानीय वडाध्यक्ष चित्रबहादुर डांगी ‘निर्मल’ ले बैंकले नारायणपुरमा शाखा स्थापना गरी यस क्षेत्रको विकासमा एक खुडकिलो थप गरेकोमा बैंकलाई धन्यवाद दिंदै सेवाग्रहीलाई छिटो छरितो र गुनासो रहित सेवा प्रदान गर्न आग्रह गरे ।


केन्द्रीय कार्यालयबाट कम्पनी सचिव, विभागीय प्रमुख लगायत तुलसीपुर शाखा तथा बिजौरी शाखाका शाखा प्रमुखको समेत उपस्थितिमा भएको कार्यक्रमपछि पहिलो दिननै रु. दुई करोड त्रिपन्नलाख निक्षेप संकलन भएको जानकारी बैंकको नारायणपुर शाखाका प्रमुख राजन ओलीले दिए ।

प्रतिक्रिया

प्रतिक्रिया