कोरोनाः संक्रमणसँगै निको

कोरोना भाइरसको संक्रमणसँगै बाँकेमा निको हुनेको संख्या उल्लेख्य देखिएको छ । बिहीबारको कोरोनाको संक्रमण दर ७२ प्रतिशत रहेको जानकारी दिंदै जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर ओलीले निको हुने दर संक्रमण भन्दा बढी रहेको बताए । संक्रमण दर ७२.५ प्रतिशत र निको हुने दर ९३.९ प्रतिशत रहेको ओलीले दिएको तथ्यांकमा उल्लेख छ ।


बाँकेका तीन वटा ल्याबमा एक सय ८२ जनाको परीक्षण गर्दा विहीवार एक सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ९२ जनामा ५९, कोहलपुर मेडिकल कलेजमा ६३ जनामा ५६ र बागेश्वरी ल्याबमा २७ जनाको परीक्षण गर्दा १७ जनालाई कोरोना पुष्टि भएको हो ।


नाकामा रहेको जमुनाहा हेल्थ डेस्कमा २ सय ८४ जनाको परीक्षण गर्दा २४ जनामा कोरोना देखिएको जानकारी दिंदै फोकलपर्सन ओलीले बाँकेमा अहिले २९ जना अस्पतालमा रहेको बताए । नौ सय १० जना होम आइसोलेसनमा छन् । बिहीबारमात्रै ७७ जना डिस्चार्ज भएका छन् । यही अवधिमा देशभरका ५ हजार २ सय ९२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैबीच, विहीवारनै भेरी अस्पताल, नेपालगन्जमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । फोकलपर्सन ओलीका अनुसार, कालिकोटका ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । माघ ९ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहीबार बिहान ३ः५५ बजे मृत्यु भएको हो ।


योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ४ सय ४० जना पुगेको छ । पछिल्लो केही दिनयता बाँकेमा दैनिक एकजना बढीको कोरोनाबाट मृत्यु भइरहेको छ । मन्त्रालयका अनुसार, मुलुकभर विहीवार गत २४ घण्टाको अवधिमा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया