खजुरामा सामुहिक आवास, २१ परिवारलाई बसोबास

आश्रित परिवारलाई आज औपचारिक रुपमा आवास हस्तान्तरण गरिंदै


बाँकेको खजुरामा स्थानीय सरकारले २१ परिवारलाई सुरक्षित आवासको व्यवस्था मिलाउने भएको छ । त्यसका लागि स्थानीय सरकारले अघि सारेको सामुहिक आवास कार्यक्रम अन्तर्गत १६ वटा घर तयार भइसकेको हो ।


खजुरा– ३, बि बोरिङमा व्यवस्थित १६ वटा घर तयार भएपछि आज शुक्रवार औपचारिक कार्यक्रम गरि आश्रित परिवारलाई आवास हस्तान्तरण गर्न लागिएको खजुरा गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार, लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले हस्तान्तरण कार्यक्रमको शुभारम्भ गर्न लागेका हुन् ।

‘अघिल्लो वर्ष २० वटा घर उनीहरु बसिरहेकै ठाउँमा निर्माण गरिएको थियो,’ गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले तराई मधेस समृद्धि कार्यक्रमको ७० लाख रुपिया लागतमा १६ घर तयार भएको जानकारी दिंदै भने, ‘डेढ बिगाह सरकारी जग्गामा व्यवस्थित आवास तयार गरि हस्तान्तरण गर्न लागिएको हो ।’


अध्यक्ष कक्षपतिले भूमिहीन सुकुम्वासी बसिरहेकै ठाउँमा घर बनाइदिंदा भन्दा सामुहिक आवासको अवधारणा प्रभावकारी हुने विश्वास गरिएको बताए । ‘कम्पाण्डवालसहित २१ वटा घर, शौचालय, आन्तरिक सडक सबै व्यवस्थित बनाइएको छ,’ कक्षपतिले
दैनिक नेपालगन्जसँग भने, ‘अघिल्लो वर्षभन्दा यो वर्ष थप नयाँ ढंगले व्यवस्थित र सामुहिक आवासको योजना तयार भएको हो ।’


१६ वटा घर निर्माण भइसकेको बी–बोरिङ खजुरामा यो वर्ष ५ वटा घर निर्माण भइरहेका छन् । खजुरा गाउँपालिकाका योजना अधिकृत दिल बहादुर पौडेलका अनुसार, त्यसका लागि वजेट ४२ लाख लागत अनुमान गरिएको छ । तयार भइसकेका १६ घर मध्ये १५ घरमा लक्षित परिवारले बसोवास थालेका छन् ।

‘तराई मधेस समृद्धि कार्यक्रमसँग गाउँपालिकाले साझेदारी कार्यक्रम अन्तर्गत अति विपन्न परिवारलाई आवास बनाएर हस्तान्तरण गर्न लागिएको हो,’ पालिका अध्यक्ष कक्षपतिले भने ।

‘खजुरा गाउँपालिकाले जनतासंग स्थानीय सरकार कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको स्वास्थ्य उपचारदेखि गरीब, अतिविपन्न नागरिकलाई विभिन्न किसिमबाट सहयोग गर्दै आइरहेको छ,’ कक्षपतिले भने, ‘स्थानीय सरकार जनताको नजिकैको सरकारमात्रै होइन, अभिभावक पनि हो भन्ने सोंचलाई साकार पार्न खोजिरहेका छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया