राष्ट्रिय सभामा शर्मा

लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी

नेपाली काँग्रेस बाँकेका पूर्व सभापति, पुराना प्रजातान्त्रिक आन्दोलनका अगुवा युवराज शर्मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् । बुधवार भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा लुम्बिनी प्रदेशबाट शर्मासहित सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका हुन् ।

‘राजनीतिक संघर्षबाट अब राजनीतिक यात्रा शुरु भएको छ,’ विजयी घोषणापछि सांसद शर्माले भने, ‘संवैधानिक दायित्व इमान्दारितापूर्वक पुरा गर्नेछु ।’ बाँके काँग्रेसमा लामो साँगठनिक योगदान पु¥याएका शर्मा लामो समय तत्कालिन संस्थापनले बेवास्ता गरेका कारण निष्क्रियप्रायः थिए । ‘मेरो संघर्षको सम्मान गरेर पार्टीले उम्मेदवार बनाएकोमा नेतृत्वप्रति आभारी छु,’ गठबन्धन मतदातालाई सम्बोधन गर्दै शर्माले भने ।

प्रदेश राजधानी दाङमा भएको निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता युवराज शर्माले ४ हजार ३ सय ४४, नेकपा (एकीकृत समाजवादी)की राजेन्द्रलक्ष्मी गैरेले ४ हजार ३ सय ७४ र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले ४ हजार ३ सय ५६ भोट प्राप्त गरे । निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार, शर्मा, गैरे र विश्वकर्मा निर्वाचित भएका हुन् ।

यस्तै प्रतिपक्षी दल नेकपा एमालेबाट रामदयाल गुप्ताले ३ हजार ३ सय ७८, भारती उपाध्याय खनालले ३ हजार ३ सय १२ र कृष्ण सुनारले ३ हजार ३ सय ४८ मत प्राप्त गरेका छन् । बाँकेको कोहलपुरकी खनाल पुरानो बाम आन्दोलनकी योद्धा हुन् । तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्यले मत हालेका थिए, भने स्थानीय तहका २ सय १३ मतदाताले भोट खसालेका थिए । राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया