‘मोडुलर अप्रेशन थियटर’ का लािगमात्रै झण्डै ५० लाख लगानी गरेको अस्पतालले सेवाको स्तरोन्नती गरेको हो

आँखा उपचारका लागि सञ्चालनमा आएको नेपालगन्जस्थित भिजन आँखा अस्पतालले अत्याधुनिक मोडुलर अप्रेशन थियटर (ओ.टी.) सञ्चालनमा ल्याउने भएको छ ।
अस्पतालका सञ्चालक वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.प्रचण्ड गौतमले आँखाको लागि कुनै किसिमको इन्फेक्सन हुन नदिन नेपालमै पहिलो पटक अत्याधुनिक मोडुलर अप्रेशन थियटर सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।
बुधवार पत्रकारहरुलाई अस्पतालको अत्याधुनिक मोडुलर अप्रेशन थियटर भिजिट गराएका डा. गौतमले भने, ‘अस्पतालका कारण आँखामा समस्या आउन नदिने प्रण हो ।’ उनले सकेसम्म राम्रो उपचार दिने, अन्यथा राम्रो परामर्श दिएर रिफर गर्ने बताए ।

अस्पताललाई स्तरीय अप्रेशन थियटर तयार गर्न करिब ५० लाख थप लगानी गरेको भिजन आँखा अस्पतालले सेमी मोडुलर र मेन मोडुलर अप्रेशन थियटर तयार गरेको जनाएको छ । ‘निर्मलीकरणका लागि पनि विशेष व्यवस्था गरिएको छ,’ आँखा अस्पतालहरुमा यसखालको अप्रेशन थियटर अहिलेसम्म नभएको दावी गर्दै डा. गौतमले भने, ‘भिजनले अत्याधुनिक मोडुलर अप्रेशन थियटरबाट केहिदिनमै बिरामीको शल्यकृया सुरु गर्ने गरि तयारी गरेको छ ।’
भारतबाट समेत उपचारका लागि दैनिक बिरामी आउने भिजन अस्पतालमा खासगरी जलबिन्दु, मोतियाबिन्दु र दृष्टि पर्दाका बिरामीहरु शल्यकृयाका लागि आउने गरेको डा. गौतमले जानकारी दिए । ‘अस्पतालमा अहिले सरदर ४–५ जनाको दैनिक शल्यकृया हुने गरेको छ,’ डा. गौतमले भने, ‘धेरै विरामीको शल्यक्रिया गर्न सकिएपनि राम्रो मानिंदैन ।’
अस्पतालका प्रवन्ध निर्देशक बाबुतरुण गौतमले यसैसाताबाट सेवा सञ्चालनमा ल्याउने गरि काम भइरहेको बताए ।
पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार पूर्णलाल चूकेले नेपालगन्जभित्रै आँखा उपचारका लागि भइरहेको स्तरीय व्यवस्थाले अस्पतालप्रतिको विश्वास बढाउने बताए ।