नेपालगन्ज भन्सार कार्यालयले गत बर्षको सुरु लक्ष्य भन्दा १० अर्ब बढी लक्ष्य यस बर्ष प्राप्त गरेको छ । तर पनि भन्सारले हालसम्म ५० प्रतिशतको हाराहारीमा लक्ष्य प्राप्त गरिसकेको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।
नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य प्रत्येक बर्ष बढ्दो रुपमा रहेको छ । तर गत र चालु आ.व.को तुलना गर्ने हो भने ह्वात्तै लक्ष्य बढाइएको हो । गत चालु आर्थिक बर्षको सुरुमा १५ अर्बको हाराहारीमा रहेको लक्ष्य १८ अर्ब हुँदै २१ अर्ब नाघेको थियो । उक्त लक्ष्यलाई भन्सार गत आ.व. २०७७÷०७८ को अन्त्यसम्म पुरा गरेको थियो ।
गत दुई आ.व.मा कोरोनाका कारण भएको लकडाउन र आर्थिक असहजताका बाबजुद भन्सारलाई आफ्नो टार्गेट भने पूरा गर्यो । ‘निकै मेहनतपछि गत आ.व.मा बढेको लक्ष्य पूरा भएको थियो’, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जय बहादुर भण्डारी भन्छन्, ‘चालु आ.व.मा भन्सार लक्ष्य निकै बढेपनि लक्ष्य प्राप्त गर्न प्रयासरत छौं ।’
२५ अर्ब असुली लक्ष्य राखिएको नेपालगन्ज भन्सारले चालु आर्थिक बर्षको साउनमा २ अर्ब २० करोड, भदौमा १ अर्ब ८५ करोड, असोजमा २ अर्ब ७ करोड, कार्तिकमा १ अर्ब ९९ करोड, मंसिरमा २ अर्ब २१ करोड र पुसमा १ अर्ब ९६ करोड असुली गरेको छ । मासिक लक्ष्य पुसमा भने भन्सारले प्राप्त गर्न सकेन । त्यसको कारणबारे उल्लेख गर्दै भन्सार प्रमुख भण्डारी भन्छन्, ‘नेपाल राष्ट्र बैंकको प्रतितपत्र अनिवार्य व्यवस्था र कोभिडको बढ्दो संक्रमणले पनि लक्ष्य प्राप्त गर्न नसकेका हौं ।’ उनले यस बर्ष पनि बार्षिक लक्ष्य पूरा गर्न प्रयासरत् रहेको उल्लेख गर्दै बार्षिक लक्ष्यको ५० प्रतिशत पूरा गरेको बताए ।