कोरोना संक्रमणः बाँके र बर्दियाका प्रशासन बन्द

कोडिभ संक्रमणका कारण बाँके र बर्दियाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक शान्ति सुरक्षा बाहेकका सेवा स्थगित गरेका छन् । कार्यालयका कर्मचारी नै कोभिड संक्रमित भएपछि प्रशासनले सूचना जारी गरेर सेवा स्थगित गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले प्रशासनको अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको जानकारी दिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले अर्को सूचना जारी नभएसम्म र बर्दियाका प्रमुख जिल्ला अधिकारी सुनारले माघ १५ गतेसम्मका लागि अत्यावश्यक (शान्ति सुरक्षा) बाहेक सम्पूर्ण सेवा स्थगित भएको सूचना जारी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारीसहितका अधिकाँश कर्मचारीहरु कोरोना संक्रमित भएपछि माघ १५ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरिने विज्ञप्ती निकालिएकोे कार्यालयका प्रशासकिय अधिकृत नारायण ढकालले जानकारी दिए । सोमबार गरिएको कोरोना परिक्षणमा जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रजिअसहित १९ जना संक्रमित भएपछि सेवा प्रवाह स्थगित विज्ञप्ती कार्यालयका प्रशासकिय अधिकृत ढकालले सामाजिक संजालमा राखेका हुन् । पोजेटिभ पुष्टि भएसंगै सोमबार दिउँसोदेखि नियमित दैनिक सेवा प्रवाह स्थगित गरिएको जनाइएको छ ।

कार्यालयमा कार्यरत अधिकाँश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य केहीमा पनि संक्रमणसंग मिल्दाजुल्दा लक्ष्यण देखिएकाले दैनिक सेवा प्राह स्थगित गरिएको बर्दिया प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताए । ‘कोरोना संक्रमित शुन्य जिल्ला बनाउन अभियानमा थिएँ, तर अब आफु पनि संक्रमित हुने भैयो’, उनले भने । बर्दियाका स्थानीयबासीन्दा, स्थानीय व्यापारीको आग्रहमा नेपाल भारत सीमासंग जोडिएका खुल्ला सीमा नाका तत्काल बन्द गर्न सफल भएपनि संक्रमितको संख्या खै कसरी बढ्यो थाहा नै भएन, यद्यपी संक्रमीतको संख्या बढ्न नदिन सीमा नाकामा कडाई गरिएको उनको दाबी छ ।

कार्यालयबाट अत्यावश्यक (शान्ति सुरक्षा) बाहेक सबै स्थगित गरिएका छन् । दैनिक हुने कार्यहरु नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता, नविकरण लगायतका सेवाहरु हाललाई ५ दिनका लागि स्थगित गरिएको उनले बताए । जिल्ला प्रशासन कार्यालय बर्दियामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि ५ दिनसम्मका लागि सेवा प्रवाह बन्द गरिएको हो । कार्यालयमा कुल ३५ जनाको परिक्षण गरिएकोमा २१ जनामा कोरोना पोजेटिभ पाइएको छ । जसमध्ये १९ जना जिल्ला प्रशासन कार्यालय भित्रका कर्मचारी तथा सुरक्षाकर्मी छन् ।

कोरोना भाइरस कोभिड १९ अर्थात तेस्रो ओमिक्रोन भेरियन्ट बढेसँगै बर्दियामा झण्डै साढे ५ सय सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । बर्दियामा सोमबार एकैदिन १ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि यसअघि जिल्ला प्रशासन कार्यालय बर्दियाले नेपाल भारत खुल्ला सीमा नाकामा कडाई नगरिएका कारण दिनहुँ संक्रमितको संख्या बढेको स्थानीय बासीन्दाको गुनासो छ ।

बाँकेमा १ सय ३७ सहित १० हजार बढी थपिए

सोमवार देशभर पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको बुलेटिनमा २१ हजार २०१ परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ । पछिल्लो समय दुई हजार ५४० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने संख्या आठ लाख २४ हजार २३९ पुगेको छ । यो दर ८९.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । बाँकेमा भने १ सय ३७ जनाको परीक्षण गर्दा १ सय ३७ जना पोजेटिभ फेला परेका छन् । जसमध्ये बाँकेका ९७ जना रहेका छन् ।

चारको मृत्युः विगत २४ घण्टामा चार जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । सोमवार अहिलेसम्म ११ हजार ६५९ जनाको सङ्क्रमणका कारणले मृत्यु भइसकेको छ । यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाके, रुपन्देही र कैलाली रहेका छन् ।

यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, गोरखा, तनहुँ, स्याङजा, बागलुङ, दाङ, पाल्पा र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमण दर १७.९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा ८० हजार ७७९, संस्थागत आइसोलेशनमा एक हजार ७७१, सघन उपचार कक्ष २३८ र भेन्टिलेटरमा ४३ जनाको उपचार हुँदैछ ।

एक लाख बढीले लगाए खोप

विगत २४ घण्टामा देशभर एक लाख १९ हजार ३७१ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ८९ हजार ४२५ जना र पूर्ण मात्रा एक करोड २९ लाख ६६ हजार ३६२ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज एक लाख ६८ हजार ९६९ मात्रा लगाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया