माघ १ गतेदेखि बाँकेका विद्यालय बन्द छन् । सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्दै त्यो अवधीमा खोपको तयारी गर्न भनेको छ ।
बाँकेका विद्यालयका विद्यार्थीहरुले कोरोना विरुद्ध खोप लगाउन पाउने भएपछि त्यसबारे चासो राख्न थालेका छन् । उनीहरुले आफुले जाने बुझेका ठाउँमा नियमित फोन गरेर विद्यार्थी बालबालिकालाई खोप कहिले भन्ने प्रश्न गरेका छन् ? खोप नलगाएका कारण विद्यालय जान नपाउने हो कि भन्ने चिन्ता र चासो उनीहरुमा रहेको छ । निजी विद्यालयहरुले पनि खोपका लागि चासो राखिरहेका छन् ।
विगत दुई शैक्षिक सत्र कोरोनाका कारण नराम्ररी प्रभावित भएका छन् । अब त्यो अवस्था नआओस् र खोप लगाएर विद्यार्थी बालबालिका विद्यालय जान पाउन् भन्नेमा अभिभावक र विद्यालय दुवैको चासो देखिन्छ । तर, बाँकेमा भने बालबालिकालाई खोप आइसकेको छैन । जसले गर्दा अझै कति समय लाग्ने हो भन्ने एकिन छैन । निजी विद्यालयहरु अनलाइन कक्षाको तयारीमा पनि रहेका छन् । तर, सबै विद्यार्थी अनलाइन कक्षामा समावेश हुन विभिन्न खालका समस्या देखिने विगतको अनुभवले खोप नै लगाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालनको तयारीमा उनीहरु रहेका छन् ।
‘हामी विद्यार्थी बालबालिकालाई खोप लगाउनका लागि तथ्यांक तयार गरेर बसेका छौं’, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले भने, ‘खोप आएपछि सम्बन्धित विद्यालयसँग समन्वय गरि खोप सुरु हुन्छ ।’ उनले अहिले १८ बर्ष माथिकालाई बुष्टर डोजको कार्यक्रम सुरु भैसकेको जानकारी दिंदै बालबालिकालाई पनि खोप आउने बित्तिकै लगाउन सुरु गर्ने बताएका छन् ।