सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएर निकै राम्रो काम गरेको छ । तर, त्यो सुरक्षा भत्ता लिन भने ज्येष्ठ नागरिकले निकै सास्ती खेप्नु परिरहेको अवस्था छ । सामाजिक सुरक्षा भत्तामा अर्कैले बुझेर लगिदिने लगायतका बेथिति निम्तिएपछि सरकारले बैंकिङ्ग प्रणाली सुरु गर्यो । तर, त्यो ज्येष्ठ नागरिकका लागि भने निकै कष्टकर बन्न थालेको छ ।
प्रत्येक स्थानीय तहमा पायक पर्ने बैंक तथा वित्तीय संस्था छैनन् । जसको मार भने ज्येष्ठ नागरिकले खेप्नु परेको पाइन्छ । सरकारले दिएको भत्ता बुझ्न भोकै र प्यासै दिनभर बैंकको लाममा बस्नुपर्ने तथा अनेकन झन्झट व्यहोर्नुपर्ने अवस्था छन् । सरकारले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेपछि त्यसको आशा ज्येष्ठ नागरिकमा हुन्छ । कतिपय त्यही भत्ताले नै आफ्नो जीविकोपार्जन गरेको थुप्रै उदाहरण पाइन्छ । स्थानीय तहले बैंकमा रकम हालिदिएपछि उतैबाट लिन भन्छ । नेपालगन्जकै सन्दर्भमा भन्ने हो भने भत्ताका लागि सहयोगी लिएर बैंक खोज्दै हिडेका तमाम भेटिन्छन् ।
ज्येष्ठ नागरिकहरुले सरकारले लगाएको गुण घरसम्मै पुर्याएर हातमा दिए निकै राहत हुने बताउँछन् । ज्येष्ठ नागरिक चन्द्र शर्मा भन्छन्, ‘सरकारले दिएको पैसाले एक रुपैयाँ नहुने हामीलाई परिवारमा इज्जत पाउने अवसर दिएको छ, तर त्यही पैसा लिन भौतारिनु पर्ने अर्को अवस्था छ ।’ ‘ज्येष्ठ नागरिकको सम्मान गरेको सरकारले घरमै पुगेर हातमा दिए निकै राम्रो हुन्थ्यो’, उनी भन्छन् । ज्येष्ठ नागरिक एक्लै भत्ता लिन आउन नसक्ने रामेश्वर शर्मा बताउँछन् । ‘उमेर सँगै धेरै स्वास्थ्य समस्या हुन्छ, बैंकसम्म पुग्न कोही बाटो थाहा पाउँदैनन्, कोही कान सुन्दैनन् त कोही हिडडुल नै गर्न सक्दैनन्’, उनी भन्छन्, ‘सरकारले कर्तव्य त पूरा गर्यो तर त्यसको कार्यान्वनमा चासो राखेन ।’
बाँकेको डुडुवा गाउँपालिकाका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएपछि सर्वोच्च अदालतसम्मै पुगेर मुद्दा हाल्नु पर्यो । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता गाउँ गाउँमा बैंक नखुलेको र बैकिङ्ग प्रर्णालीमार्फत जेष्ठ नागरिक असहाय, अपांगता भएकाहरुले नेपालगन्ज सदरमुकाम गएर रकम भुक्तानी गर्न सक्ने अवस्था नरहेकाले स्थानीय तहले घरघर मै उपलब्ध गराइरहेको भत्ता वितरणको कार्यलाई निरन्तरता दिन अदालतमा रिट दायर गरिएको थियो ।
डुडुवा गाउँपालिकाका जेष्ठ नागरिकहरुले आफ्नै घरमा सहज र सरल रुपमा भत्ता पाउनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदनमाथी सुनवाइ गर्दै अदालतले बृद्ध भत्ता, जेष्ठ नागरिकहरुलाई व्यवहारिक रुपमा सहज र सरल तरिकाबाट वितरण गर्नुपर्ने भनेको छ । यस्तै अशक्त हिडडुल गर्न नसक्ने विरामी तथा गाउँ गाउँमा बैंक नखुलेको र बैंकिङ्ग प्रर्णालीमा तत्काल आबद्ध हुन नसकेका कारण सरकारबाट जेष्ठ नागरिकहरुलाई दिइएको बृद्ध भत्ताको रकम समयमा निकासा नहुदा बृद्धहरुले प्राप्त गर्न नसकी सरकारले दिएको उक्त सुविधाको कार्यन्वयनमा समेत बाधा पुगेको अदालतको ठहर छ । जेष्ठ नागरिकहरुलाई पूर्ववत रुपमा बृद्ध भत्ता रकमको निकास नरोक्नु नरोकाउनु भनि विपक्षीका नाउँमा सर्बोच्च अदालतले आन्तरिम आदेश गरेको थियो ।
अदालतको आदेश अनुसार अब देशभरका बैंक नभएका स्थानीय तहहरुले पनि सेवाग्राहीका घरघरमा पुगेर भत्ता उपलब्ध गराउन सक्ने एउटा नजिरको रुपमा पनि लिन सक्नेछन् । तर पनि डडुवा गाउँपालिकाका स्थानीय बैंकमै पुग्नु पर्यो सामाजिक सुरक्षा भत्ता लिन । गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सहज होस् भनेर यातायातको समेत व्यवस्था गरेको बताउँछन् । यद्यपि, उनले गाउँमा बृद्ध बृद्धाहरु बजारसम्म आएर बैकिङ्ग प्रणालीमार्फत भत्ता बुझ्ने अवस्था सहज नभएको र स्थानीय सरकारको पनि दायित्व र जिम्मेवारी भएकाले घरमै सेवा उपलब्ध गराउने तर्फ केन्द्रित रहेको बताए ।
डुडुवाले सेवाग्राहीका घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएकोमा पछिल्लो समय नेपाल सरकार र कोष लेखा नियन्त्रण कार्यालय नेपालगन्जले जेष्ठ नागरिकका भत्ता उपलब्ध नगराउदा समयमा वितरण गर्न नसकिएको यसअघि डुडुवा गाउँपालिकाले जानकारी दिएको छ ।
डुडुवा गाउँपालिकाले बसको व्यवस्था गरेपछि डुडुवाका ज्येष्ठ नागरिक बैंक खुल्नु अघि नै बैंक अघि लाममा बसे । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार नेपालगन्जको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियससम्म रह्यो । अझ पानी समेत पर्यो । बसमा कोचिएर आएका ज्येष्ठ नागरिकले नेपालगन्ज स्थित एक बैंक अगाडि भोकै दिनभर सडकमा बसिरहेका देखिन्थ्ये । अधिकांस ज्येष्ठ नागरिक सहयोगी लिएका आएका थिए । उक्त बैकबाट उनीहरु साँझ ६ बजे बिदा भएका थिए । बैंकले समयमै भुक्तान गरेपनि एउटा बसले गाउँ पुर्याएर आउँदा बचेका ज्येष्ठ नागरिक पानीमा रुझ्दै बस कुरिरहेका थिए । ‘आइ गवा’, साढे ६ बजे बर्षात्मा भिजिरहेकी एक महिला ज्येष्ठ नागरिकले बस देखेपछि भनिन् ।
डुडुवा गाउँपालिकाका स्थानीय तुलाराम नाउ आफ्नो बुबा सहित सामाजिक सुरक्षा भत्ता बुझ्न दिनभर बैंक अगाडि उभिएका थिए । उनले भने, ‘बुबा कान सुन्नुहुन्न त्यसैले आएको हुँ, भत्ता बुझ्न सास्ती व्यहारेको भन्दा पनि उनी सरकारले भत्ता दिएकोमा खुशी छु ।’ ‘बैंकिङ्ग प्रणाली राम्रो हो, यसले जसको पैसा उसैको खातामा जान्छ’, उनले भने ।