
बाँकेमा गत बर्ष भन्दा यस बर्ष अपराधिक घटनामा वृद्धि भएको तथ्यांकले देखाएको छ । बाँकेमा अघिल्लो आ.व.को ६ महिनामा तुलनामा चालु आ.व.को ६ महिनामा मुद्दा र पक्राउको तथ्यांक वृद्धि भएको तथ्यांकले देखाएको हो ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले चालु आ.व. २०७८/०७९ को ६ महिनामा ५ सय ३३ मुद्दा दर्ता भई त्यसमा ६ सय ७४ जनालाई पक्राउ गरेको जानकारी दिएका छन् । यो तथ्यांक अघिल्लो आ.व. २०७७/०७८ को सोही अवधीमा ४ सय ७८ मुद्दा र पक्राउको संख्या ५ सय १८ रहेको थियो । बाँकेमा आ.व. २०७५/०७६ मा १ हजार १ सय ५६, आ.व. २०७६÷०७७ मा ८ सय ८० र आ.व. २०७७÷०७८ मा ७ सय २२ मुद्दा दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा फाँटको तथ्यांक हेर्ने हो भने गम्भीर प्रकृतिका आपराधिक घटनामा कमी आउन नसकेको हो । प्रहरी तथ्यांकले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, फुटकर ज्यान, साधारण चोरी, डाँका चोरी, सवारी चोरी, बहु विवाह, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग सम्बन्धी घटनामा वृद्धि भएको देखाएको छ । प्रहरीको तथ्यांकले सबैभन्दा बढी मुद्दा लागुऔषधका रहेको देखाएको छ ।
बाँकेमा महिला हिंसाका घटना प्रत्येक बर्ष वृद्धि भैरहेको प्रहरीको मुद्दाको तथ्यांकले स्पष्ट रुपमा देखाएका छन् । प्रहरी तथ्यांक अनुसार यौन हिंसाका मुद्दा प्रत्येक बर्ष बढ्दै गएको पाइन्छ । जिल्लामा आ.व. ०७४/०७५ मा ३९, आ.व. ०७५/०७६ मा ३५, आ.व. ०७६/०७७ मा ५६, आ.व. २०७७/०७८ मा ५५ वटा मुद्दा जबर्जस्ती करणी सम्बन्धी दर्ता भएका छन् ।
जिल्लामा हत्या सम्बन्धी मुद्दामा पनि कमी आएको पाइँदैन । बाँकेमा आ.व. ०७४/०७५ मा कर्तव्य ज्यान सम्बन्धी १५ वटा मुद्दा दर्ता भएका थिए । त्यो संख्या आ.व. ०७५/०७६ मा बढेर १८ पुगेको छ भने गत आ.व. ०७६/०७७ मा २१, आ.व. २०७७ मा १४ मुद्दा दर्ता भएका छन् । ज्यान मार्ने उद्योगका मुद्दा पनि कमी आएको छैन । आ.व. ०७४/०७५ मा २२, आ.व. ०७५/०७६ मा २५, आ.व. ०७६/०७७ मा ३६ मुद्दा, आ.व. २०७७/०७८ मा ४५ वटा ज्यान मार्ने उद्योगका दर्ता भएका छन् ।
जिल्लामा भवितव्य र फुटकर ज्यान सम्बन्धी घटना भने तुलनात्मक रुपमा कम भएको पाइन्छ । आ.व. ०७४÷०७५ मा ५५, आ.व. ०७५÷०७६ मा ५३, आ.व. ०७६÷०७७ मा ३७, २०७७÷०७८ मा १३ वटा भवितव्य ज्यानका मुद्दा दर्ता भएका छन् । फुटकर ज्यान सम्बन्धी मुद्दा उक्त आ.व.मा क्रमशः २२, १८, १७ र ६ वटा रहेका छन् ।