पोषण : अझै छैन ज्ञान

चालु आर्थिक बर्षको हालसम्म ६५ जना र गत आ.व.मा ८० जनाको भेरी अस्पताल नेपालगन्ज स्थित पोषण पुनस्र्थापना गृहमा उपचार

नेपालमा कुपोषण अझै पनि समस्याका रुपमा रहेको छ । अभिभावकलाई आफ्नो सन्तान कुपोषणग्रस्त भएको ढिलो गरी थाहा पाउने गरेका छन् । कुपोषित बालबालिकाको शारीरिक, मानसिक विकास हुँदैन । रोगसँग लड्ने क्षमता पनि कम हुन्छ । नेपालमा धेरै बालबालिकाले लामो समयसम्म अत्यावश्यक पोषण तत्व पाउने गरेका छैनन् । यसले गर्दा बच्चा पुड्का र ख्याउटे हुन्छन् । उनीहरूको तौल पनि कम हुन्छ ।

अभिभावकहरुले अन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुगेपछि मात्रै बालबालिका कुपोषित भएको थाहा पाउने गरेका छन् । केहीको अवस्था जटिल समेत हुने गरेको छ । अझैपनि परिवार तथा आमामा बालबालिकालाई कुपोषित हुनबाट जोगाउन सही ढंगले पोषण दिन ज्ञानको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । ‘अन्य समस्याले स्वास्थ्य जाँच गर्दा कुपोषण भएको पाएपछि चिकित्सकले पोषण पुनस्र्थापना गृहमा पठाउने गर्नुहुन्छ’, स्वास्थ्यकर्मी भन्छन् ।

नेपालमा बालबालिकाको मृत्युको सबैभन्दा ठूलो कारण कुपोषण पनि हो । कुपोषण भएपछि बच्चालाई निमोनिया, क्षयरोग, पखाला र मलेरिया लाग्नुका साथै रगतको कमी भएर ज्यान जाने गर्छ । युनिसेफको सन् २०१३ को अध्ययनले मृत्यु भएका बालबालिकामध्ये ५३ प्रतिशतले पोषण कम भई उत्पन्न समस्याका कारण ज्यान गुमाउने गरेको देखाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार, गत चार वर्षमा ६ देखि ५९ महीनाका दुई हजार नौ सय बालबालिकालाई कडा खालको कुपोषण भएको थियो । तीमध्ये ११३ बालबालिकाको ज्यान गएको थियो । नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भेको तथ्यांक अनुसार, कुपोषणले पार्ने सबैभन्दा बढी असर पुड्कोपन हो । सर्वेक्षण अनुसार, सुदूरपश्चिम प्रदेशमा सन् २०१६ मा ३५ प्रतिशत बालबालिका पुड्का थिए भने सन् २०१९ मा यो मात्रा ६ प्रतिशत बढेर ४१ प्रतिशत पुग्यो । प्रदेश २ का ३४ प्रतिशत बालबालिकामा पुड्कोपन भेटिएको थियो ।

विश्व खाद्य कार्यक्रमले सन् २०२० मा प्रकाशन गरेको रिपोर्ट अनुसार, नेपालमा १८ लाख ४० हजार गर्भवती कुपोषित छन् । कर्णाली, लुम्बिनी र प्रदेश २ मा कुपोषित बालबालिका र गर्भवती महिला बढी छन् । दलित र त्यसमा पनि मुसहर, डोम, चमार समुदाय अझ बढी मारमा परेका छन् ।

भेरी अस्पताल नेपालगन्ज पश्चिम क्षेत्रका विभिन्न ठाउँबाट उपचारका लागि आउने गर्दछन् । चालु आ.व.मा मात्रै अस्पतालमा रहेको पोषण पुनस्र्थापना केन्द्रमा ६५ जना बालबालिकाको उपचार गरिएको छ । त्यो संख्या अघिल्लो आ.व.मा २०७७÷०७८ मा ८० रहेको थियो । कोरोनाका कारण उपचार गराउन आउनेको संख्या घटेकाले उपचारमा आउने कुपोषित बालबालिकाको संख्या अझै बढी हुनसक्ने अनुमान रहेको छ ।

कुपोषणका पछाडि गरिबि मुख्य कारण भएपनि आमाहरुमा ज्ञानको कमीका कारण सही तरिकाले शिशुलाई पौष्टिक आहार नखुवाउँदा कुपोषित हुने क्रम नरोकिएको पोषण पुनस्र्थापना केन्द्रकी इञ्चार्ज बिमला पौडेल बताउँछिन् । ‘८÷९ महिनासम्म आमाको दुध मात्रै खुवाउने, अन्य खानेकुरा पनि सही तरिकाले नखुवाउँदा बालबालिका कुपोषित हुने गरेका छन्’, इन्चार्ज पौडेलले भनिन् ।
पुनस्र्थापना केन्द्रमा आउने बालबालिकालाई चिकित्सकको सिफारिस अनुसार औषधी दिएर १५ दिनदेखि डेढ महिनासम्म उपचार गर्दै आएको केन्द्रकी नर्सिङ्ग स्टाफ सरस्वती आचार्यले जानकारी दिइन् । ‘कम उमेरमा आमा बन्ने, खानपानमा ख्याल नगर्दा कुपोषणको समस्या हुने गरेको पाइन्छ’, उनले भनिन् ।

पोषण पुनस्र्थापना केन्द्रकी इञ्चार्ज पौडेलले पोषणका लागि घरमै भएका खानेकुराको सही तरिकाले प्रयोग गर्न सकिने बताउँछिन् । ‘दाल, चामल, गहुँ, हरियो तरकारी लगायतका खाद्यान्न घरमै हुन्छ’, उनले भनिन्, ‘तिनै खाने कुरा सही तरिकाले खानु पर्दछ, त्यो आमा र बच्चा दुवैका लागि लाभदायक हुन्छ ।’

पुनस्र्थापना केन्द्रले उपचारका लागि आउने बालबालिका र उनका अभिभावकलाई निःशुल्क खानपानको व्यवस्था गरेको छ । ‘उमेर अनुसार बच्चाको तौल, उचाई तथा अन्य स्वास्थ्यका मापदण्डहरु सुधार भएपछि घर पठाउने गरेका छौं’, इन्चार्ज पौडेलले भनिन् ।

प्रतिक्रिया

प्रतिक्रिया