माघीको रौनक

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्तर हिमालदेखि देक्षिण तराईसम्म बसोबास गर्ने विभिन्न जात–जाती र समुदायको बसोवास छ । विभिन्न जातीय समुदायले माघी संक्रान्तिलाई विभिन्न तरिकाले मनाउने गर्दछन् । विभिन्न जात जती मध्ये तराईमा बस्ने थारु आदिवासी प्रमुख मानिन्छ । यो जाति खासगरी रुपन्देही, नवलपरासी, चितवन, कपिलबस्तु लगाएत पूर्वका केहि जिल्लादेखि पश्चिम नेपालको दाङ्ग, देउखुरी, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर जिल्लामा रहेको पाईन्छ । थारु समुदायको आ–आफ्नै मौलिक भेषभूषा, कला, संस्कृति परम्मपरा सँगसँगै पर्वहरु रहेका छन् । थारुहरुकोे धेरै पर्वहरु मध्ये माघी पर्वलाई राष्ट्रिय पर्व तथा नयाँ वर्षको रुपमा मनाउने गरिन्छ ।
वि.सं. २०५९ सालदेखि नेपाल सरकारले थारुहरुको माघीपर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता प्रदान गरेको छ । त्यसैले थारुहरुले यस पर्वलाई वि.स. २०५९ साल मै पहिलो पटक काठमाण्डौको नेपाल टुरिजम बोर्डमा थारु कल्याणकारीणी सभा र थारु विद्यार्थी समाजको संयुक्त आयोजनामा संस्थागत रुपमा माघी कार्यक्रम गरेको थियो । दोस्रो वर्ष वानेश्वरको सहकारी भवनमा, तेस्रो वर्ष राष्ट्रिय सभागृह, चौथो वर्ष प्रज्ञा भवन त्यसपछि २०७२ सालमा रंगसाला बाहेक अन्य सबै वर्ष टुडिखेलमा माघी महोत्सव भयो र पछिल्लो समयमा प्रदेश, जिल्ला, पालीका स्तरीय कार्यक्रम त कतै माघी मीलन, माघी महोत्शव, माघी मेला, माघी विषेश आदी नामले थारु समुदायसँग आवद्ध संघ संस्थाहरु लगायत अन्य संस्थाहरुले संस्थागत रुपमा आयोजना गर्दै आएका छन् ।

माघीको कार्यक्रम राष्ट्रप्रमुख, प्रधानमन्त्री, मन्त्री, सभामुख, मेयर लगाएतको उच्च ओहदाका व्यक्तित्वहरुले सम्वोधन गरी माघी पर्वको परम्परागत मौलिकतालाई गएका वर्षसम्म धेरै फरक किसिमले मनाईएको थियो । यस वर्ष भने चीनको बुहान सहरबाट सुरु भएको विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ को तेस्रो लहरको कारण यस्ता संस्थागत रुपमा कही कतै छितफुत रुपमा कार्यक्रम तथा मेलाको आयोजना भएपनि विगतको जस्तै गरिएको छैन ।


जनमानसको बुझाइ अनुसार जुन दिनबाट दिन लामो रात छोटो हुने र जाडो मौसम हटी गर्मी मौसमको सुरुवात हुने (गर्मीको जन्मदिन) भन्ने गरिन्छ अर्थात माघ महिनाको १ गतेबाट सूर्यको अवस्थिति दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धमा प्रवेश गर्दछ त्यस दिनलाई माघे संक्रान्ति भन्ने गरिन्छ । माघी संक्रान्तीदेखि शूर्य धनुबाट मकर राशीमा प्रवेश गरि उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ती पनि भनिने गरिन्छ । कसैले यसलाई माघ, कसैले माघी, कसैले माघे संक्रान्ति, कसैले तिलुवा संक्रान्ति त कसैले मकर संक्रान्ति आदी नामले विभिन्न समुदायले आ–आफ्नो तरिकाले मनाइएको पाईन्छ । पश्चिम नेपालका थारुहरुले आफ्ना पूर्खाहरुले गर्दै र मान्दै आएको कृयाकलापलाई परम्परागत रुपमा मान्दै आएको थारु जातिहरुले मनाउने विभिन्न चाड पर्वहरु मध्य यो एक ठूलो र विशेष महत्वपूर्ण पर्व माघी हो । थारु समुदायमा माघी संक्रान्तिको जति सामाजिक, सास्कृतिक मान्यता छ त्यति धार्मीक मान्यता पनि छ ।

माघ १ गतेको दिनलाई हरेक वर्ष माघी संक्रान्तीको रुपमा विशेष रुपमा मनाउने परम्परादेखि कै चलन रहेको छ । यस दिन भाले नबास्दै गंगा, नदी, सगरमा गई नुहाउनाले पाप कर्म कट्नुका साथै धर्म (पुण्य) मिल्ने र आफूले मागेको वरदान पाईन्छ भन्ने धार्मिक जनविश्वास थारु समाजमा छ । त्यसै गरी निःसन्तान दाम्पतीलाई सन्तान प्राप्ति हुन्छ, एवम् छोरा छोरा हुनेले छोरी र छोरी छोरी हुनेले छोरा प्राप्ति हुन्छ भन्ने जन विस्वास छ ।


धार्मिक विश्वासकै कारण प्रत्यक वर्ष दाङ्ग जिल्लाको बैवाङ्कमा रहेको सती मन्दिरको सागर (सगरोम), दाङ्ग घोराहीको बाह्र कुने ताल, त्यसै गरि लमहीको रिहारमा रहेको सागर (सगरोम) मा नुहाउने र पुजा आरधना गर्नेहरुको घुइँचो हुने गर्दछ । त्यसै गरी बाँकेको मानखोलाको दुई मुहानमा स्नान गरी र नौवस्ताको शिव मन्दिरमा, राप्तीसोनारी बैजापुरको राप्ती नदीमा स्नानगरी कुम्महरमा भुवँर भवानीको दर्शन गर्ने र मेला हेर्नेको प्रत्यक वर्ष घुईचो हुन्छ । त्यसै गरी बर्दिया जिल्लाको जयनगरको सदाशिव मन्दिर, ठाकुरद्वाराको ठाकुर बाबा मन्दिरमा नुहाउने र दर्शन गर्ने डफु (ढाक) बजाउने जनमानसको मेला लाग्ने गर्दछ । यस्तै गरी नवलपरासीको देवघाट, कालीगण्डकी किनार, पर्वतको सेतीबेनी, काठमाण्डौं शंखमुलको बाग्मती किनार लगायत देशका विभिन्न ठाउँहरुको ताल, पोखरी, नदिनालामा स्नान गरी माहादेवको पुजा आरधना गर्ने श्रद्धालुहरुको घुइचो रहन्छ ।


थारु समुदायमा माघ १ गतेदेखि नयाँ वर्ष सुरु भएको मानिन्छ । त्यसैले थारु समुदायमा माघ १ गतेदेखि नयाँ कामको सुरु गर्ने चलन छ । विवाह गर्ने, नयाँ अगुवा, महटावा, भल्मन्सा, चिरक्या, गुरुवा वरगन्वा, चौकिडरवा पुरानो छोड्ने र नयाँ राख्ने माघबाटै हुन्छ । विकासको लागि कहाँ कहाँ पुल पुलेसा, बाटो घाटो, कुला, नहर आदि बनाउने वर्ष भरिको कार्ययोजना माघ मै बनाउने गर्छन् । माघीमा मालिकको घरमा काम गर्ने कमैयाहरु पनि खानपिन र नाचगानका लागि छुट्टी पाउँने चलन थियो । हाल नेपालमा कमैया प्रथालाई सरकारले प्रतिवन्द गरेको छ । घरबाट टाढा टाढा गएका मानिसहरु पनि माघी सक्रान्तिमा घर आउँने गर्दछन् । त्यसैले माघलाई मुक्तिको दिन पनि भनिने चलन छ ।


पुरानो चलन अनुसार माघीको दुई दिन अगाडिको दिनलाई माछा मार्ने माघ भनिन्छ । यो दिन सबै गाउँको मान्छे माछा मार्न नदी, नालामा जान्छन् भने संक्रान्तिको एक दिन अगाडि सुंगुर, बंगुर मारी मासु काट्ने दिन (सुवरमर्ना दिन÷जीटा मर्ना दिन) भनिन्छ । सुंगुर बंगुर मार्दा भाला÷झिरले गोपेर, बन्चरोले हानेर मार्ने चलन छ । यस दिन बेलुका सबै गाउँका मानिस “महटावक” घर रातभर ढुम्रु÷ढमार गीत गाउँदै र मघौटा नाच नाची रमाइलो गरी रातभर जाग्राम बस्ने चलन छ । “धुम्रु÷धमार”को पैधार र भाषा शैली तथा लय थरि थरिका हुन्छन् । यसमा यस्तो गीत गाइन्छ ।


उटहरि लाला रे हरी माठ कही सेडुरा म्वार हारी गैल हो
ढरल रे सासु ससुराक सहीडान रे लाला ।

सटी जैवु रे डैया सटी जैवु रे मै
नाना बीरासँग सटी जैवु ।।

उटहरि लाला रे हरी माठ कहीँ टिकुली म्वर हारी गैल हो
ढरल रे सासु ससुराक सहीडान रे लाला ।

सटी जैवु रे डैया सटी जैवु रे मै
नाना बीरासँग सटी जैवु ।।

बिहान हुन लागेपछि भाले नबास्दै नाच्दै, ढ्वाल, दफु, मादल बजाउँदै आ–आफ्नो पायक पर्ने नजिकको नदी, नाला, सागरमा नुहाउन जाने गरिन्छ । जसलाई “माघ लहान” भनिन्छ । माघ नुहाउने ठाउँमा पुगी यसरी गीत गाउने चलन छ ।

बाबाकी सगरवा, मुरीया लाहान ऐली हाँ …।
सखिय हो, कौन घाट करी मुरीया लाहान ।। २

बाबाकी सगरवा, मुरीया लाहान ऐली हाँ …।
सखिय हो, यह घाट करवी मुरिया लाहन ।। २

नुहाइसकेपछि महटावाको घरबाट लगीएको चामलको सादा सेतो टिका बनाएर महटावाले तथा नुहाउन गएका आफु भन्दा ठूला मान्यजनहरुबाट टिका लगाउने र ढोग सलाम गर्ने गरिन्छ । त्यसपछि फेरी घर तर्फ नाच्दै गाउँदै आउने चलन छ । घर तर्फ आउँदा यसरी गीत गाईन्छ ।
बाबाकी सगरवा, मुरिया लाहान गैनु हाँ …।
सखिय हो, टिकुली छुटल पानी घाट ।। २

बाबाकी सगरवा मुरिया लाहान गैनु हाँ …।
सखिय हो सत्यहन लेख हम्र घर अइली ।। २

नुहाएर आउनेहरुको लागि शुभ साइत बनाउन गाउँका युवतीहरुले बाटोमा लोटा, गिलास, कचौरा र गाग्रीको कलश बनाएर राखेका हुन्छन् । नुहाएर आउनेहरुले त्यसमा आ–आफ्नो इच्छा र गक्ष अनुसार रुपैया पैसा राखी दिन्छन् र महटावाको घर पुग्छन् । महटावाको घरमा दुई चार गीत गाएर आ–आफ्नो घर तर्फ फर्किन्छन् ।


घर आइसकेपछि सबभन्दा पहिले “निश्राउ कहर्ना” गरिन्छ । “निश्राउ कहर्ना” भन्नाले चामल दाल, नुन, मास एउटा भाँडोबाट अर्को भाँडोमा तीन, पाँच अथवा सात अज्जुली (उँजरा) चेली बेटीको नाममा अलग्याइन्छ । “निश्राउ कहार्ने”को उद्देश्य गएको वर्ष भरी आफूले जानी नजानी नराम्रो कामको पाप, दोष कटोस, भनी र अब आउने दिन स्वच्छ, पवित्र, राम्रो काम गर्ने, राम्रो मान्छे बन्ने भनेर “निश्राउ कहार्ने” गरिन्छ । आफ्ना हजुर बुवा, हजुर आमा, बाबा, आमा, लगायत आफुभन्दा जेष्ठ नागरिकहरुलाई ढोग सलाम गर्ने र आर्शिवाद लिने गरिन्छ । महिलाहरुले आफुभन्दा मान्यजनहरुको खुट्टा धोई ढोग÷सलाम गरी आफ्नो गक्ष अनुसार दिएको रुपैंया पैसा, कपडा दान दिने÷ लिने चलन पनि छ । निश्राउ कहारेर स–परिवार सँगै बसी आफ्नो घरमा बनेको परिकार ढिक्री, अनदीको रोटी, माछा, मासु, जाडँ, रक्सी खाने र सुख, दुःखका कुराकानी गर्दै गत वर्षको संमिक्षा र आगामी वर्षको योजना बनाइन्छ । यस दिनलाई पुरुषहरुको माघी भनी जानिन्छ ।


माघी मनाउने क्रममा एक घरबाट अर्को घर गरी सबै गाउँ भरी जाने ढोग सलाम गर्न आउने आफन्तजनहरुलाई मीठो मसिनो घरमा जे छ ढिक्री, रोटी, जाडँ, रक्सी र सुंगुरको मासु खुवाएर पठाउने चलन छ । बेलुका पख भएपछि केटा, केटी, युवा, युवती, महिला, पुरुष आ–आफ्नो टिम जसरी पहाडी समुदायमा तिहारमा देउसी भैलो खेलिन्छ त्यसरी नै नाचगान गर्ने चलन छ ।


माघको दोस्रो दिन दुई गतेलाई महिलाको माघी (जन्नीनक माघ÷माघी दिवानी) भनिन्छ । यस दिन महिलाहरु माघ मनाउने र पुरुषहरुले घरमा आएका पाहुनाहरुलाई खुवाउने गरिन्छ । यस दिन माघ एक गते चेली बेटीका नाममा अलग्याइएको “निश्राउ” चामल, दाल, नुन, मासका साथै थप विभिन्न खाने परिकारहरु ढिक्री, रोटी, तरकारी, माछा, मासु आदि सहित गक्ष अनुसार आफ्ना चेली बेटीलाई दान दक्षिणाका रुपमा कपडा पनि दिने चलन रहेको छ । चेली बेटी नभएकाहरुले पुरानो चलन अनुसार दलित समुदायका मानिसहरु जसले सीलाई, आरन काम गरिदिन्छन् उनीहरुलाई दान गर्नेे चलन छ साथै यस दिन नव विवाहित दुलाहाहरुले आफ्ना सासु ससुरालाई आगो ताप्नका लागि ससुरालीमा दाउरा दिन जाने चलन छ ।


यस दिन महटावाको निर्देशन अनुसार अगुवाले गाउँको सबै (गरढुरेन) घर मालिकहरुलाई बरघरको घरमा जम्मा हुने भनी डाँक हाल्छ र घर मुलीहरु एक एक भाँडा (गोल्रा) जाँड, रक्सी लिएर बरघरको घरमा भेला हुने चलन छ । यस भेलामा पछिल्लो वर्षमा भएको कामको समिक्षा र आगामी दिनको कार्ययोजना बनाइन्छ । यहि समयमा गाउँको अगहवा, महटावा (बरघर), भल्मन्सा, चिरक्या, वरगन्वा, चौकिदरवा, गुरुवा छोड्ने र एक वर्षको लागि नयाँ चुन्नेर नियुक्ति दिने सर्व सहमतबाट पारित हुन्छ । यसलाई थारु भाषामा “बखेरी बैठना” पनि भनिन्छ । पुनः बेलुका घर घरमा मघौता नाच नाच्न सुरु हुन्छ । झाली, कस्तार, मजुरा, थपडी बजाउँदै परम्परागत आफ्नै मौलिकतामा निकै रमाइलो गर्दै नाच्ने चलन छ । यसरी नाच्ने क्रममा यस्ता खालको गीत गाउँने गरिन्छ ।
नेगटी घुमटी ऐली हाँ, गोरवा पीरैल रे हाँ …।
सखिए हो, आई पुगली हम्र हजुरक डुवार ।।

बनिया बजार गैनु सेंडुरा मोलैनु रे हाँ …।
सखिए हो, कहिड्या र बनिया सेंडुरक मोल ।।

यिहर छामो गोझीया वहर छामो जबिया रे हाँ …।
सखिए हो, डाम डरटी हजुर मन पसटा ।।
यसरी नाच्ने क्रममा विषेष गरी घरमुली तथा नयाँ दुलहाहरुले पैसा लुटाउने चलन छ । दर्शकहरुले पनि ईच्छा अनुसार लुटाउने गर्दछन् । पैसा लुटाउदा गुन्द्री तथा डरी बिछ्याएर पैसा लाइनैसँग राखेर नाच्नेले उल्टो छाती बनाई मुखले पैसा टिप्ने चलन छ । यसै क्रममा पैसा लुटाउने र लुट्नेको कस्ले जित्छ भनी होड बाजी पनि चल्दछ र घरमुलीले आफ्नो ईच्छा अनुसार चामल, पैसा र एक बोटल रक्सी दिई विदा दिने चलन छ । यसरी माघ मनाउने र नाँच्ने क्रम तीन दिनसम्म चल्दछ ।


माघमा नाचँेको दान दक्षिणाले पुनः पार्टी खाने चलन छ । जसलाई छोट्की माघ (मघ्ली) भनिन्छ । छोट्की माघमा पनि कोही माछा मार्न जाने, कसैले घर–घरबाट जाँड, रक्सी, तरकारी, नुन, तेल उठाउने र कसैले मासु काट्ने गरी सामुहिक रुपमा खानपिन गरी छोट्की माघ मनाईन्छ । यस पर्वमा आ–आफ्नै टोलीका केटा, केटी, युवा, युवती, महिला, पुरुष सम्पूर्णले नाचगान रमाइलो गर्दै यो पर्वलाई एक वर्षको लागि विदा गरिन्छ ।


वास्तवमा प्राचीनकालदेखि थारुहरुको चलन चल्तीमा रहेको महत्वपूर्ण र एक ठूलो पर्व माघ हो । नयाँ वर्षका रुपमा समेत मनाइने यो पर्व थारुहरुको आफ्नै मौलिक, भाषा, परम्परा, संस्कृति र संस्कारलाई छोडी पछिल्ला दिनहरुमा यो पर्व गाउँमा पुरानो संस्कार र परम्परा अनुसार मनाउन छोडिदै जान थालेको छ । यो पर्वका बेला थारु गाँउहरु सुनसान देखिनु दुःखद पक्ष हो । आजभोली शिक्षा आधुनिकीकरण र अन्य समुदायको प्रभावका कारण फरक तरिकाले मनाउने प्रचनलाई थारुहरुले आफ्नो परम्परागत मूल्यमान्ययता, भाषा, धर्म, संस्कृति, संस्कार परम्परा, रितिरिवाज, भेष भुषा, नाचगान, खानपिनको मौलिक संस्कृतिको संरक्षण र संम्बद्र्धनमा ध्यान दिनु पर्ने थारु समुदायमा आजको आवस्यकता देखिन्छ ।


अन्तमाः वि.स. २०७८ सालको थारु सम्वत् नयाँ वर्ष २६४५ सालको उपलक्ष्यमा नेपालको हिमाल, पहाड, तराईमा बसोवास गर्ने जातजाति समुदायका जनताबीच आपसी मेलमिलाप सद्धभाव र सहिण्षुता अभिवृद्धि गरी सामाजीक सांस्कृतिक एकतालाई सुदृत गर्ने देश विदेशमा रहनु हुने आफन्तजन, उद्योगी, ब्यापारी, राजनीतिक कर्मी, निजामती कर्मचारी, समाजसेवी, संघसंस्था, शिक्षाप्रेमी लगायत सम्पूर्ण नेपाली दाजुभाई, दिदी बहिनीहरुमा यस वर्षको माघी संक्रान्तिको पावन अवसरमा शुख, शान्ति, समृद्धि दिर्घायु एंव उत्तर उत्तरप्रगतिको साथै विश्वभरी फैलिएको कोभिड –१९ तेस्रो लहरको ओमिक्रोन भाइरस महामारीलाई परास्त पार्ने शक्ति प्राप्तहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया

प्रतिक्रिया