नेपालगन्जमा स्थापना गरिएको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) आज शनिबारबाट औपचारिक रुपले सञ्चालनमा ल्याइने भएको छ । शुक्रबार सञ्चालक संस्था वेद उप्रेती ट्रष्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले पत्रकार सम्मेलन गरी संग्रहालय सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् ।

एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको वायुयान संग्रहालय नेपालगन्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको हो । ‘नेपालगन्ज उपमहानगरपालिकाको सकारात्मक व्यवहार र वडा नं. १२ का जनप्रतिनिधिको पहलमा संग्रहालय नेपालगन्जमा ल्याएर सञ्चालन अवस्थामा पुग्यो’, वायुयान संग्रहालयका क्याप्टेन उप्रेतीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ९ वर्षअघि धनगढीमा स्थापना गरेको जानकारी दिंदै भने, ‘अब यो नेपालगन्जको महत्वपूर्ण गन्तव्यका रुपमा रहनेछ ।’
नेपालगन्ज –१२ को बेलासपुरमा राखिएको उक्त वायुयान संग्रहालय विशेषत विद्यार्थीहरुका लागि अध्ययन स्थल बन्ने क्याप्टेन उप्रेतीको विश्वास छ । ‘अन्यका लागि एभियसन तथा पर्यटकीय गन्तव्यको जानकारी पाउने एउटा महत्वपूर्ण थलो हुनेछ’, पत्रकार सम्मेलनका क्रममा पनि म्युजियम सिगार्नमा व्यस्त क्याप्टेन उप्रेतीले भने । उनका अनुसार, डेढ करोड लागतमा यसअघि धनगढीमा स्थापित कस्मिक एयरको पुरानो जहाजमा तयार गरिएको म्युजिएम नेपालगन्ज ल्याएर तयारी अवस्थामा पुुर्याउन झण्डै ३० लाख थप लगानी भएको छ । ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई म्युजियम बनाइएको थियो ।

‘यसको आम्दानी हाम्रो ट्रष्टले विभिन्न लोककल्याणकारी तथा सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ’, क्याप्टेन उप्रेतीले कोरोनाका कारण नोक्सानीको जोखिम बढ्दै गएको औंल्याउँदै भने, ‘घाटामा चल्दा कसैले सहयोग गरेको छैन ।’
स्थानीयलाई रोजगारी र आन्तरिक गन्तव्यको नयाँ स्थान निर्माणका लागि एभियसन म्युजियम प्रभावकारी हुने ठानेर नेपालगन्ज ल्याउन पहल गरिएको स्थानीय वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताए । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ सँग १० वर्षका लागि सम्झौता गरेर चिल्ड्रेन पार्कको सुन्दरता र आकर्षण बढाउने अवधारणा सहित म्युजियम राखिएको उल्लेख छ ।
वायुयान संग्रहालयमा विमान अविष्कारक राइट दाजुभाइले तत्कालीन समयमा निर्माण गरेका विमान तथा आधुनिक समयमा निर्मित पाइलटरहित अत्याधुनिक विमानका ड्रोन मोडेलहरू राखिएका छन् । ‘अहिलेसम्मका सबै मोडेलका जहाजका नमूना यहाँ हेर्न र अध्ययन गर्न सकिनेछ’, एयर इन्डियाका बहालवाला क्याप्टेन उप्रेतीले उत्साहित हुँदै भने, ‘यहाँ कार्यरत कर्मचारीहरु पनि भोलि एभियसनका क्षेत्रमा काम गर्ने गरी प्रशिक्षित हुनेछन् ।’ म्युजियम भित्र २ सय ५० बढी जहाजका नमूनादेखि आकाशबाट खिचिएका कयौं तस्वीरहरु राखिएका छन् । ‘७ मिनेटको एउटा डकुमेन्ट्री यसबीच हेर्न सकिन्छ’, क्याप्टेन उप्रेतीले भने, ‘यसले उडान क्षेत्रका धेरै जानकारी उपलब्ध हुँदा विद्यार्थीहरुलाई मोटिभेट गर्नेछ ।’
उपमहानगरपालिकाको सहमतिमा वायुयान संग्रहालयका लागि करिब ७ कठ्ठा जग्गा प्रयोग गर्न दिइएको हो । वेद उप्रेती ट्रष्टले राजधानी काठमाडौंमा ५ करोड बढी लागतको म्युजियम सञ्चालन गरिरहेको छ । ‘महेन्द्रनगरमा पनि उड्डयन क्षेत्रको जानकारीमूलक म्युजियम सञ्चालन गरिसकेका छौं’, ट्रष्टका प्रमुख उप्रेतीले पत्रकारहरुसँग भने । उनले एभियसन म्युजियम नेपालगन्जको नयाँ पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्दै भने, ‘यसले सबैलाई ज्ञान र मनोरञ्जन एकसाथ प्रदान गर्नेछ ।’
नेपालगन्जमा वायुयान संग्रहालय