
युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थाएकआपसमा गाभिएपछि आजदेखि एकीकृत कारोबार शुरु गरेको छ । शुक्रबार कोहलपुर, बाँकेमा सम्पन्न भएको एकीकृत कारोबार घोषणा कार्यक्रममा दुवै वित्तीय संस्थाका अध्यक्षद्वय काली प्रसाद चौधरी र प्रभात कुमार चौधरीले संयुक्त रुपमा पानसमा बत्ती बालेर एकीकृत कारोबार भएको घोषणा गर्नुभएको हो ।
घोषणा कार्यक्रममा घोडीघोडा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कुन्ना नारायण चौधरीले दुवै वित्तीय संस्थाका अध्यक्षद्वयलाई दोसल्ला ओढाएर सम्मान प्रकट गर्नुभयो ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई गाभेको हो । दुवै संस्था एकआपसमा गाभिएपछि सबै कारोबार अबदेखि युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ । संस्थाको अधिकृत पूँजी रु.२० करोड पुगेको छ ।
कार्यक्रमको अवसरमा युनिक लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक डा.गोपाल दहितले स्वागत मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा उहाँले एकीकृत कारोबार गर्ने भएपछि युनिक वित्तीय संस्थाको सदस्य थप भएको, पूँजी थप भएको कुरा बताउँदै आजको दिन संस्थाकोलागि सुनौलो दिन रहेको कुरा बताउनुभयो । उक्त कार्यक्रममा घोडीघोडा वित्तीय संस्थाका तर्फबाट अध्यक्ष, सञ्चालक सदस्य, प्रमुख कार्यकारी अधिकृतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
घोडीघोडाको अध्यक्ष प्रभात कुमार चौधरीले पहिला अलग अलग कारोबार थियो अहिले युनिक वित्तीय संस्थामा समाहित भएका छौं, एकपरिवार भएको कुरा व्यक्त गर्नुभयो । यसले संस्थालाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।युनिक वित्तीय संस्थाका सञ्चालक तथा मर्जर समितिका संयोजक शिव बहादुर चौधरीले दुईटा संस्था एक भएर अगाडि बढ्दा शेयर होल्डर, सदस्यको पूँजी सुरक्षित हुने कुरा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका विशेष अतिथि तथा माउ संस्था युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले पनि शुभकामना दिनुभएको थियो ।
एकीकृत कारोबार घोषणा कार्यक्रम युनिक वित्तीय संस्थाका अध्यक्ष श्री काली प्रसाद चौधरीज्यूको सभाध्यक्षमा भएको थियो । समापन मन्तव्यको क्रममा समाध्यक्षले दुई संस्था एक भएको घोषणा गर्नुहुँदै मर्जरपछि आउने चुनौतीहरुलाई ख्याल गर्नुपर्ने कुरा बताउनुभयो । साथै उहाँले अबको वित्तीय कारोबारमा सिनर्जी इफेक्ट देखिनुपर्ने कुरा बताउनुभयो । संस्थालाई यहाँसम्म पुर्याउने कार्यकारी निर्देशक लगायत सबैलाई धन्यवा दिनुभयो । कार्यक्रममा दुवै वित्तीय संस्थाका सञ्चालक, मर्जर समितिका संयोजक र युनिक वित्तीय संस्थाको व्यवस्थापन टिम तथा केन्द्रका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।