एसिड आक्रमणविरुद्ध ‘मुस्कान’ को अभियान

नेपालगन्जमा स्वागत–सम्मान


एसिड आक्रमण पीडित मुस्कान खातुन आफै त्यसविरुद्धको सामाजिक अभियानमा थप सशक्त भएर लाग्ने बताएकी छन् । नागरिक समुदायकातर्फबाट नेपालगन्ज वाणिज्य संघले विहीवार गरेको स्वागत–सम्मान ग्रहण गर्दै खातुनले महिला हिंसाविरुद्धको आफ्नो कदम सशक्त हुँदै जाने बताइन् ।


संघका अध्यक्ष अब्दुल वाहिद मन्सूरीले खादा ओढाएर सम्मान गरेपछि कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरुले एसिड आक्रमणविरुद्धको खातुनकोजागरण अभियानलाई आर्थिक सहयोगको घोषणा गरे ।


‘नेपालगन्ज आएर यहांँका व्यक्तिहरुसँंग भेटघाट गरेपछि मेरो अभियानका लागि थप उर्जा बढेको छ,’ आफै हिंसामा परेरपनि त्यसविरुद्ध अभियानमा क्रियाशील खातुनले भनिन्, ‘म अझ सशक्त रुपमा एसिड विरुद्धको अभियानमा लाग्नेछु ।’ आफुजस्तै पीडितहरुलाई न्याय दिलाउन पहल र प्रयास गर्ने मुस्कानको प्रतिबद्धता दोहोर्याइन् ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सूरीले पीडित निराशामा नगएर आफै हिंसाविरुद्ध लाग्नु साहसिलो कार्य भएको बताए । ‘यी साहसिक नेपाली छोरी मुस्कान खातुनलाई सम्मान गर्दा गर्व महसुस भइरहेछ,’ नेता तथा मन्त्री–प्रधानमन्त्रीहरुलाई नेपालगन्ज आउँदा संघमा स्वागत गर्दै सम्मान गनृे प्रचलन चलाएको सम्झँदै संघका अध्यक्ष मन्सूरीले भने, ‘मुस्कान खातुन जस्तो साहसी महिलाको सम्मान गरेर वाणिज्य संघ नै सम्मानित भएको महसुस भइरहेको छ ।’


तत्कालिन संविधान सभा सदस्य अब्दुल हमीद सिद्दीकी, कसौधन बैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य, हज समिति पूर्व सदस्य अब्दुल कदीर अंसारी,जामा मश्जिदका पूर्व अध्यक्ष रहमान मिंया, नेपाल मुस्लिम महिला संघकी कश्मीरा खातुन, बाल अधिकारकर्मी साहिल अंसारी र महिला अधिकारकर्मी शाहिदा शाह लगायतले मुस्कानलाई स्वागत गरे ।


महिला हिंसाविरुद्धका धारणा राख्दै संविधानसभा सदस्य अब्दुल हमीद सिद्दीकीले हिंसक व्यक्ति समाजका लागि घातक भएको बताए । ‘यस्ता माथि कडा कारबाही गर्न गराउन सबै लाग्नु पर्छ,’ उनले भने ‘कम्तिमा हामीले केही सहयोग गरिदिए उनलाई ठुलो गुण हुनेछ । ’
नेपालगन्ज वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका कसौधन बैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले अपराधीलाई सामाजिक बहिष्कार गर्नु जरूरी रहेको बताए । ‘जबसम्म सामाजिक बहिष्कार गरिदैन् तब सम्म सकारात्मक प्रतिफल आउदैंन,’ बैश्यले भने ।

स्वागत मन्तव्यका क्रममा साहिल अंसारीले मुस्कान खातुनको साहस बढाउन उनको अभिभावकहरुको निकै योगदान रहेको बताए । महिला अधिकारकर्मी शाहिदा शाहले समाजमा भएका सबै खाले हिंसा अन्त्य गर्न एकजुट हुन जरूरी रहेको बताइन् । ‘अन्य पीडितहरुलाई पनि आत्मबल बढाउने खालका सयुंक्त अभियान अति आवश्यक छ,’ अधिकारकर्मी शाहले भनिन् ।


स्वागत सम्मान कार्यक्रम संचालन गरिरहेकी संघकी सदस्य मन्दिरा पाण्डेले मुस्कानको अभियानमा आर्थिक सहयोगको उद्घोष गरेलगत्तै अर्की सदस्य उषा थापा भण्डारी, मुरलीधर शर्मा लगायतले मुस्कानको अभियानमा आर्थिक ऐक्यबद्धता जनाए ।

प्रतिक्रिया

प्रतिक्रिया