बृहत सम्भावना रहेकाले मर्जरको निर्णय

जय पृथ्वी कृषि सहकारी संस्था लिमिटेड र आमा बचत कृषि सहकारी संस्था लिमिटेड आज विहीवार गाभिंदै (मर्ज) छन् । जय पृथ्वी कृषि सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर चन्द जिल्ला कृषि सहकारी संघका सचिव हुन् । नगर सहकारी सञ्जाल नेपालगन्जका सचिवसमेत रहेका उनीसँग हामीले मर्जर प्रक्रिया, यसको अवधारणा र कृषि सहकारी संस्थाको अवस्था समेतका बारेमा गरेका कुराकानी आजको अंकमा प्रस्तुत गरेका छौं ।

२०६३ सालमा विधिवत रुपमा दर्ता भएको आमा बचत तथा ऋण सहकारी स.स्था लि र जयपृथ्वी कृषि सहकारी संस्था लि फरक प्रकृतिका सहकारी हुन् । दुवैको करिब ४० लाख शेयर पुँजी भएकोमा करिब ६ करोडको कारोवार भएको अध्यक्ष चन्दको भनाइ छ । ‘दुवै सहकारीको कार्यक्षेत्र तथा शेयर सदस्य हरुको दोहोरो सदस्यता हुने भएकाले पनि सदस्यहरुलाई सहमत बनाउन सजिलो भयो,’ अध्यक्ष चन्द भन्छन्, ‘अब दुबैका शेयर सदस्य मर्जरमा जाँदा दुई हजार पुग्छ, सबै सहमत भएपछि प्रक्रिया शुरु भएको हो ।’
फरक प्रकृतिका दुई सहकारी संस्था मर्जरमा जाँदा चुनौति र अबका सम्भावनासँग जोडिएर मर्जरका पहलकर्ता चन्दको कुराकानी आजको विशेष ।

कृषि र बचत तथा ऋण सहकारी गाभिने (मर्जर) अवधारणा कसरी आयो ?
विगत केही बर्षदेखि यो सहकारीमा हामी जोडिइराखेका छौं । म नगर सञ्जालको सचिव र कृषि सहकारी संघको पनि सचिव भएको नाताले मेरो पनि दायित्व रहन्छ, कृषि क्षेत्रलाई सहकारीको माध्यमबाट कसरी अपग्रेट गर्ने भन्ने । अर्को फरक प्रकृतिका दुई सहकारीलाई मर्ज गर्ने कुरा आयो ।

अब अहिले सरकारले फरक प्रकृतिका भएपनि धेरै सहकारी हुनुभन्दा थोरै सहकारी भएर राम्रो सेवा दिन सकेको खण्डमा त्यो राम्रो हुन्छ भनेर नीति लिएको छ । र, हामी फरक प्रकृतिका भएपनि एउटै क्षेत्रमा काम गर्ने भएको, सदस्यहरु पनि डुप्लिकेशन भएको लगायतका कारणले पनि मर्जरको निर्णयमा पुगेका हौं ।

नेपालगन्जमा बचत तथा ऋण सहकारी एउटा मात्र होस्, कृषि सहकारी एउटा मात्र होस्, दुग्ध सहकारी, बहुउद्देश्यीय सहकारी एउटा मात्र होस् । त्यो भयो भने सहकारी बलियो हुन्छ, निर्णय गर्ने क्षमता पनि ठूलो हुन्छ, बलियो हुन्छ । सहकारीमा हुने बेथिति पनि कन्ट्रोल हुन्छ ।

दुवै सहकारीले एउटै सदस्यलाई सेवा दिनुभन्दा एउटै सहकारी भएर गुणस्तरीय सेवा आफ्ना सदस्यलाई किन नदिने त भनेर दुई बर्षदेखि एक्ससाइज गर्दै आएको हो । त्यसक्रममा विगतको साधारणसभामा हामीले खुला गर्यो कि फरक प्रकृतिका भएपनि हामी एउटै थलोमा आउनुपर्छ । र, एउटै थलोमा आएपछि सँगै भएर क्वालिटिको सेवा दिनुपर्दछ । त्यही अवधारणाले हामी यहाँसम्म आएका हौं ।
कृषिको कुरा गर्दा बाँके जिल्लामा कृषिको सम्भावना चाहीँ मैले प्रचुर देखेको छु । हामीले विगत धेरै बर्षदेखि कृषि क्षेत्रमा काम गर्दै आएका छौं । हामी बोर्डर नजिक भएकाले अलिकति चुनौति त छन् । तर, पनि कृषि क्षेत्रमा सहकारी मार्फत गर्न सकिने एकदमै धेरै गर्न सकिने काम र अवसर छन् ।

त्यसैले हो, दुई संस्था मर्ज गरेर कृषि तिर आकर्षित हुनुभयो ?
हजुर, हामीले चाहीँ बचत तथा ऋण सहकारी संस्था नेपालगन्जको सन्दर्भमा धेरै रहेको छ । कृषि सहकारीहरु पनि छन् । तर, हाम्रो कार्यक्षेत्रको हिसाबले बाँके जिल्लाभरी भैसकेको कारणले हामीले बचत तथा ऋण, खरिद तथा बिक्री गर्ने कार्यलाई मात्रै प्राथमिकता नदिएर कृषिलाई अलिकति फोकस गर्न खोजेको हो । कारण के छ भने विगत लकडाउनका बेला भोग्नु परेको तरकारी लगायत विभिन्न उत्पादन भएका वस्तु बिक्री नभएका समस्या भए, हरेक व्यक्ति किसान छन् यहाँ, हरेक व्यक्तिको घरमा सानो तिनो भएपनि बारीहरु हुन्छन्, तर उनीहरुलाई आइडिया हुँदैन र बाहिरको बिषादी हालेको तरकारीहरु खानुपर्ने स्थिति छ । त्यो अवस्थामा हामीले ठूलो ठूलो किसानीको अवधारणा मात्रै ल्याएको होइन सानासाना कृषिको अवधारणा पनि ल्याएका छौं । कौशीमा पनि तरकारी उत्पादन गरेर आफ्नो परिवारलाई चाहिने तरकारी मात्र उत्पादन गर्न सकिन्छ भने किन नगर्ने त ? र, अर्को कुरा यो भन्दा बाहिर जोसँग प्रशस्त जग्गा छ, उनीहरुलाई व्यवसायिक रुपमा कसरी तान्ने भनेर उनीहरुलाई आर्थिक रुपमा सहयोग गर्ने र सहयोग गरिसकेपछि उनीहरुको उत्पादन भएको उत्पादनलाई नेपालगन्जको बजारमा बजारीकरण गर्ने कार्यमा छौं ।


नेपालगन्ज भनेको यस्तो क्षेत्र हो जसको वरिपरि प्रशस्त मात्रामा तरकारी उत्पादन हुने ठाउँहरु छ । मासुजन्य पदार्थ उत्पादन हुने ठाउँ हो । तिनीहरु कस्तो छ भने उत्पादन गर्ने व्यक्ति र खरिद गर्ने व्यक्तिको समन्वयता छैन । त्यो अवस्थामा हामीले किसानलाई उत्पादन गर्न सिकाउने, त्यसका लागि अर्थ उपलब्ध गराउने र उनीहरुले उत्पादन गरेका जतिपनि बस्तु छन् बजारमा ल्याएर, गुणस्तर छ, अर्गानिक छ, विशेषज्ञ सँग चेक गराएर यसलाई उपभोक्तासम्म पुर्याउने प्लान छ ।

एउटै मान्छेले धेरै चिज गर्दा उत्पादन धेरै हुँदैन । एउटा व्यक्तिले एउटा मात्रै उत्पादन गर्दा बढी उत्पादन हुन्छ, मार्केट पाउँछ । त्यसैले हामीले के भनेका छौं भने एक वडा एक उत्पादन । यो भयो भने कृषिले फड्को मार्छ ।

फरक प्रकृतिको संस्थालाई कसरी मर्जरका लागि सहमतिमा ल्याउनुभयो ?
हामीले कृषि सहकारीले पनि काम गर्नका लागि आर्थिक पाटो त चाहिन्छ नै । बचत तथा ऋण सहकारीका सञ्चालकहरु कतै न कतै कृषिसँग आबद्ध हुनुहुन्छ । उहाँहरुलाई हामीले के अवधारणा राख्यौ भने बचत तथा ऋण सहकारीले आफ्नो तरिकाले काम गर्दछ, यहाँहरुले गरेको काममा हाम्रो कृषिले यसरी काम गर्न सक्यो भने हाम्रो फ्युचरको खाका प्रस्तुत गर्यौं । किसानहरुलाई थोरै थोरै पैसाहरु दिएर उनीहरुको उत्पादन बिक्री गर्दियो भने उनीहरुको आर्थिक स्तरपनि वृद्धि हुन्छ, सहकारी किन त ? सहकारीहरुको आर्थिक, सामाजिक अभिवृद्धि गर्नका लागि हो । कृषि सहकारीबाट गयो भने आफ्ना सदस्यको आर्थिक र सामाजिक रुपान्तरण सजिलो तरिकाले गर्न सकिन्छ भन्ने मुख्य तात्पर्यबाट सहकारी मर्ज गर्यौं ।

तपाईहरु उत्पादन तिर लाग्नुभएको छ । जिल्लामा कृषि सहकारीको अवस्था कस्तो छ ?
बाँके जिल्लामा कृषि सहकारीहरुको अवस्था अन्य सहकारीको भन्दा दयनीय छ । कारण के छ भने अन्य सहकारी प्रत्यक्ष रुपमा पैसासँग कारोबार गर्ने भए, कृषि सहकारीहरुको अवस्था अली दयनीय हुनुको कारण भनेको आबद्ध किसानहरु साक्षर नहुनु, उत्पादन गरेको वस्तु कहाँ राम्रो मूल्यमा बिक्री गर्ने ? त्यो ठाउँ पनि थाहा हुँदैन । किसान र व्यापारीको लिङ्क नै भएको हुँदैन । लिङ्क नहुँदा किसानको आर्थिक अवस्था वृद्धि नहुने, सानातिना किसानले उत्पादन गरेका वस्तुलाई प्रोसेसिङ गरेर नयाँ रुप दिउ भन्दा त्यो पनि छैन, खुर्सानी जहाँ पनि उत्पादन हुन्छ नि, खोई हामीले खुर्सानीको पाउडर बनाउन सकेको ? खुर्सानीको अचार बनाउन सकेको खोई ? त्यो खुर्सानीलाई सुकाएर अर्को चिज बनाउन सकेको खोई ? हाम्रो परम्परादेखि खुर्सानी उत्पादन गर्ने तरकारीमा हाल्ने, खाने सकियो ।
अब त्यो होइन किसानले उत्पादन गरेका हरेक चिजलाई प्रोसेसिङ गरेर उनीहरुको आर्थिक अवस्था वृद्धि गर्नु पर्दछ । किसानका उत्पादन प्रोसेसिङ गर्ने, प्रोसेसिङमा पार्टनर बनाउने, उनीहरुका उत्पादन सहजै विक्रीको व्यवस्था मिलाउने हो भने किसानको अवस्थामा सुधार आउँछ । कृषिका लागि पैसा अभाव भए हामी सहकारी मार्फत पैसा दिन्छौं । संस्थाले सहयोग गर्दछ र उत्पादन गर्न भन्छ, उत्पादन भएको वस्तुको हामी किन्दिन्छौं । यो धारणाले विगत केही बर्षदेखि कृषि सहकारीको अवस्थामा केही सुधार आएको छ ।

राज्य सहयोग कत्तिको छ ?
राज्यको सहयोग नआएको होइन । तर, केही अन्तरद्वन्द्व छन् । राज्यको सहयोग आउँछ, त्यो कसले पायो त्यो महत्वपूर्ण कुरा हुन्छ । दोस्रो हामी कृषि सहकारीले अझै पनि भनिरहेका छौं राज्यलाई हामीलाई अनुदान दिनुभन्दा ऋण देओस् । अनुदानले मान्छे बिग्रन्छ, काम गर्न हौसला हुँदैन, अल्छी बन्छ । पटकपटक किसानहरुलाई पनि हामी यही भन्छौं । किनभने अनुदान दियो, बिग्रयो भनेपनि अनुदानले ब्यहोर्छ भन्ने हुन्छ । हाम्रो चासो कहाँ नेर हो भने कृषि सहकारीहरुलाई सरकारले अनुदान दिनुभन्दा सस्तो ब्याजदरमा कर्जाहरु देओस् । कर्जा दियो भने जिम्मेवारी बढ्छ । सरकारलाई मैले पैसा तिर्नुछ भन्ने भावना हुन्छ । तपाईलाई चारवटा भैसी किन्न अनुदान दियो, चार वटा भैसी मरेर तपाईलाई के फरक पर्दैन । किनभने तपाईको पैसा नै होइन । त्यसले गर्दा सरकारबाट सहयोग नभएको होइन, व्यवस्थित सहयोग चाही छैन । ऋण दियो, अनुदान दियो त्यसको अनुगमन फितलो छ । हामीले उत्पादन गर्न सिकाउँछौं, उत्पादन गरेको चिज कहाँ लगेर बिक्री गर्नुपर्दछ त्यो सिकाउँदैनौं । हामीले उत्पादन गर्न सिकाउँदछौं तर अलिकति प्रोसेसिङ गरेर नयाँ चिज बनाएर बेच्नुपर्छ भन्ने आइडिया छैन । उत्पादन गरेर मात्र हुँदैन, त्यसको बजारीकरण र प्रोसेसिङ पनि सिकाउनु पर्दछ ।

त्यसका लागि लबिङ गर्नुभएको छ ?
हामीले गरिरहेका छौं । केन्द्रमा पनि सहकारी संघ, महासंघ छन्, जिल्लामा पनि संघ छन् । पटकपटक हामीले हाम्रा कुरा राखिरहेका छौं । हामीले अनुदान होइन कर्जा दिन भनेका छौं । जो हामीले तिर्नु परोस् । त्यसले सरकारको पनि पैसा बच्छ । त्यो गर्यो भने राम्रो हुन्छ, अर्को के भनिरहेका छौं भने उत्पादन गर्न मात्र सिकाउने होइन त्यसको बजार कसरी बढाउने, उत्पादन गरेर बजारमा जानुभन्दा पहिला प्रसोधन कसरी गर्ने ? जबसम्म प्रशोधन गरेर नयाँ चिज बनाउँदैनौं त्यसको कुनै मूल्य हुँदैन । यहाँबाट दाल भारत जान्छ, उसले त्यो दालबाट दालमोठ लगायतका विभिन्न परिकार बनाएर हामीलाई बेच्छ । र, हामी किन्न बाध्य हुन्छौं । हामी पनि प्रशोधन गर्न सक्छौं नि तर हामीले त्यो आइडिया नपाएको हो कि ।

दुई सहकारी मर्जर पछि अबको दिशा के हुने ?
हामीले कृषि सहकारी बनाउने भनेपछि हाम्रो जतिपनि सञ्चालकहरु आउनुहुन्छ, उहाँहरु अनुभवी हुनुहुन्छ । हाम्रो टार्गेट भनेको जिल्लाभरी कार्यक्षेत्र भैसकेपछि एउटै व्यक्तिले कुखुरा पनि पालेको छ, तरकारी पनि लगाएको छ, भैसी पनि पालेको छ, यो हुन्न अब । हामी एउटा गाउँपालिकामा छिर्यौं भने त्यहाँ एउटा मात्र उत्पादन गर्दछौं । अर्कोमा कुखुरा मात्रै पालोस्, अर्को अर्को वस्तु प्रोडक्सन गरोस् । त्यसले गर्दा समग्र आउँछ र देशव्यापी मार्केट पाउँछ । अहिले के भैरहेको छ भने एउटै व्यक्तिले खुर्सानी पनि लगाएको छ, भेन्टा पनि लगाएको छ, कुखुरा पनि पाल्छ अण्डा पनि बेच्छ । एउटै मान्छेले धेरै चिज गर्दा उत्पादन धेरै हुँदैन । एउटा व्यक्तिले एउटा मात्रै उत्पादन गर्दा बढी उत्पादन हुन्छ, मार्केट पाउँछ । त्यसैले हामीले के भनेका छौं भने एक वडा एक उत्पादन । यो भयो भने कृषिले फड्को मार्छ ।

मर्जर प्रक्रियामा अरु सहकारी पनि जाँदैछन् ?
हो, जाँदैछन् । अहिले चार वटा सहकारी मर्जरमा जाने एकैपटक भन्ने कुरा चलिरहेको थियो । केही उहाँहरुको प्राविधिक कुराले ढिलाई भएको छ । तर, केही समयपछि मर्जर हुन्छ । हामीले नमूनाका रुपमा फरक प्रकृतिको सहकारी मर्ज भएर काम गर्न सक्छन् भनेर देखाउन लागेका छौं । र, अर्को लगत्तै हामी मर्जरको आव्हान पनि गर्दछौं । जरुरी छैन मै आउनु पर्छ, जो राम्रो व्यक्ति हुनुहुन्छ उहाँ आउन सक्नुहुन्छ, सबैलाई स्वागत छ । कृषि, बहुउद्देश्यीय, बचत तथा ऋण, दुग्ध सहकारी जो पनि आउन सक्नुहुन्छ । म के चाहन्छु भने नेपालगन्जमा बचत तथा ऋण सहकारी एउटा मात्र होस्, कृषि सहकारी एउटा मात्र होस्, दुग्ध सहकारी, बहुउद्देश्यीय सहकारी एउटा मात्र होस् । त्यो भयो भने सहकारी बलियो हुन्छ, निर्णय गर्ने क्षमता पनि ठूलो हुन्छ, बलियो हुन्छ । सहकारीमा हुने बेथिति पनि कन्ट्रोल हुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया