बेपत्ताको मुद्दा दर्ता

द्वन्द्वकालीन बेपत्ताको जाहेरी नेपालमै पहिलो पटक जिल्ला प्रहरी कार्यालय दाङ्गमा दर्ता भएको छ । अन्तर्राष्ट्रिय बेपत्ता बिरुद्धको दिवसका सन्दर्भमा दर्ता गराउन खोजिएको जाहेरी दरखास्तलाई प्रहरीले ४ महिना पछि दर्ता गरेको हो ।


द्वन्द्वकालमा आफ्ना पति विर्जु चौधरीलाई सुरक्षाकर्मीले पक्राउ गरि हालसम्म बेपत्ता पारेकोले पीडकलाई कारवाही माग र उचित क्षतिपूर्तिको माग राख्दै जिल्ला दाङ घोराही उपपमहानगरपालिका वडा नं. १७ पहुरका टोल निवासी बर्ष ४० को कृष्णा चौधरीले जाहेरी दर्ता गराएका हुन् ।

भदौको अन्तिम हप्ता प्रहरीले जाहेरी दर्ता नगरे पछि बेपत्ता पत्नी कृष्णा चौधरीले गत मंसिर ७ गते सरकारकारी वकिल कार्यालय दाङ्गमा निवेदन दिएकी थिइन् । सरकारी वकिलले तत्काल जाहेरी दर्ता नगरी म बुझेर खवर गरौला भनेका थिए । मिति २०७८ साल पौष २७ गते जाहेरी दर्ता गर्न लिखित निर्देशन दिएपछि जाहेरी दर्ता भएको पीडितको पक्षमा मुद्दा लडेकी अधिवक्ता बिनु श्रेष्ठले बताइन् । जिल्ला प्रहरी कार्यालय दाङ्गका मुद्दा फाटका प्रहरी सहायक निरिक्षक सुरेन्द्र पन्तका अनुसार पौषको २८ गते दर्ता नं ३०३ मा जाहेरी दर्ता भएको छ ।
मिती २०५८ साल चैत्र १९ गते विहान विउ विजन किन्न साविक घोराही नगरपालिकाको तुलसिपुर चौकमा दुरसंचार अगाडि रहेको गेट नजिकै शाही नेपाली सेनाले घोराही ब्यारेकमा लगेको त्यहीँबाट बेपत्ता पारेको थियो । जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं १७ ओखरा बस्ने प्रकाश चौधरीलाई शाही नेपाली सेनाले मिति २०५८ साल चैत्र २२ गते पक्राउ गरि सोही ब्यारेकमा लगेको थियो । प्रकाश चौधरी त्यहाँ ६२ दिन गैरकानुनी थुनाबाट मुक्त भए पनि संगै सोही ब्यारेकमा राखिएका विर्जु चौधरी हालसम्म बेपत्ताको स्थितिमा छन् ।
दाङ्ग लगायत देशका बिभिन्न जिल्लाका १७ बेपत्ताका उजुरी दायर नभएको अवस्थामा दाङ्गमा पहिलो पटक नया मुलुकी फौजदारी संहिता अनुसार बेपत्ताको जाहेरी दर्ता भएको हो ।


बाँकेकी चन्द्रकला उप्रेती र देउसरा बिकले आफ्ना पति भुपेन्द्र राज उप्रेती र धन बहादुर कामीलाई द्वन्द्वकालमा सुरक्षाकर्मीले पक्राउ गरि हालसम्म बेपत्ता पारेको बिषयमा प्रहरीमा जाहेरी दर्ता गराउन जादा प्रहरीले जाहेरी दर्ता गर्न इन्कार गरेको थियो । यसैगरी बर्दियाका देवीसरा वलीले आफ्ना पति सुरेश वलीलाई बेपत्ता पारेको बिषयमा जिल्ला प्रहरी कार्यालय बर्दियामा जाहेरी दर्ताको प्रयास गर्नु भएको थियो । यसैगरी बर्दिया मनाउका गरिबुबा थारु र पदम थारुले आफ्ना छोराहरुलाई बेपत्ता पारेको बिषयमा दर्ता गराउन खोजेको जाहेरी पनि प्रहरीले दर्ता गरेको थिएन । प्रहरी र सरकारी वकिल समेतले जाहेरी दर्ता गर्न इन्कार गरे पछि त्यस उपरमा पीडितहरुले उच्च अदालत तुल्सीपुर नेपालगन्जमा परमादेशको रिट निवेदन दर्ता गरेका छन् ।


अन्तराष्ट्रिय कानून अनुसार बेपत्ता निरन्तरको अपराध भएको र नेपालको मुलुकी फौजदारी संहिताले फौजदारी अपराध मानेकाले प्रहरीले अपराधको प्रभावकारी अनुसन्धान गरि पीडितलाई न्यायको प्रत्याभुति दिलाउनु पर्ने पीडितको पक्षमा मुद्दा लडेका अधिवक्ता वसन्त गौतमले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया