आज दुई फरक प्रकृतिका सहकारी मर्ज हुँदै

बैंकिङ्ग क्षेत्र मात्रै मर्जरमा जाने गरेकोमा सरकारले नीतिगत व्यवस्था गरिदिएपछि सहकारीहरु मर्जरतर्फ आकर्षित हुन थालेका छन् । बाँकेमा यसअघि दुई वटा साना किसान र दुई वटा कृषि सहकारी मर्ज भैसकेको जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिएका छन् । उनले दुई वटा कृषि संघ र साना किसान संघ पनि एकीकरण भैसकेको बताए ।
अध्यक्ष सुवेदीले जिल्लाका केही सहकारीले मर्जरमा जान चाहेकाले त्यसबारे बुझिरहेको, निर्णय समेत गरेको अवस्था उल्लेख गर्दै सहकारी मर्ज हुँदा थप मजबुत मात्रै नभई सेवा पनि गुणस्तरीय हुने गरेको बताए । ‘मर्जर प्रति सहकारीहरुको आकर्षण देखिन्छ’, उनी भन्छन् । अध्यक्ष सुवेदी कतिपय ठूला सहकारीमा रहेका सञ्चालक समितिको पदीय लोभ मर्जरका बाधक हुने गरेको बताउँछन् ।
‘सहकारी संख्यात्मक भन्दा सेवाका हिसाबले गुणात्मक बनाउन मर्जर आवश्यक छ, यो निकै राम्रो सहकारी क्षेत्रका लागि’, अध्यक्ष सुवेदीले भने, ‘सहकारी मर्ज हुँदा निर्णय क्षमता बढ्छ, लागत घट्छ ।’ उनले सहकारीको संख्या कम हुँदा अनुगमनमा पनि सरोकारवाला निकायलाई सहज हुने धारणा राख्छन् ।

शेयर पूँजी ४० लाखको हाराहारीमा रहेका र करिब ६ करोडको कारोबार रहेको सहकारी मर्ज हुन
लोकन्द्र बहादुर चन्द, सचिव
जिल्ला कृषि सहकारी संघ
यसैबीच, आज बिहीबार दुई फरक प्रकृतिका सहकारी मर्ज हुँदैछन् । आमा बचत तथा ऋण सहकारी संस्था र जयपृथ्वी कृषि सहकारी संस्था एक आपसमा मर्ज हुन लागेका हुन् । जिल्ला कृषि सहकारी संघका सचिव लोकन्द्र बहादुर चन्दले शेयर पूँजी ४० लाखको हाराहारीमा रहेका र करिब ६ करोडको कारोबार रहेको सहकारी मर्ज हुन लागेको जानकारी दिएका छन् । ‘मर्जरले दोहोरो सदस्यता हट्छ, एउटै सहकारीबाट अब सेवा प्रदान गरिनेछ’, उनले भने ।