बाँकेमा गत पाँच महिनामा भएको सडक दुर्घटनामा ३३ जनाको ज्यान गएको छ । चालु आ.व.को पाँच महिनामा ७९ वटा दुर्घटनामा ३३ को मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक रहेको छ । चालु आ.व.को साउनदेखि मंसिरसम्म भएका दुर्घटनामा जिल्लामा ४२ जना गम्भीर र ५९ जना सामान्य घाइते भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार, आ.व. २०७५/०७६ मा भएको ९९ वटा दुर्घटनामा ४२ पुरुष, १३ महिला, ४ बालक गरी ६० जनाको मृत्यु भएको छ । आ.व. २०७६/०७७ मा बाँकेमा १ सय ९१ वटा दुर्घटना भएका थिए । जसमा ५२ पुरुष, १२ महिला, ६ बालक र ३ बालिका गरी ७३ जनाको ज्यान गएको छ । आ.व. २०७७/०७८ मा बाँकेमा १ सय ४३ वटा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांक रहेको छ । जसमा ५६ जना पुरुष, १७ महिला र ४ बालकको अकालमा ज्यान गएको थियो ।
विगतमा बाँकेमा लकडाउन तथा निषेधाज्ञाका बावजुद दुर्घटनाको संख्या नघटेको तथ्यांकले देखाएको छ । सडक बिस्तार र स्तरीय बन्दै गर्दा पनि दुर्घटना नियन्त्रणमा आउन सकेको पाइँदैन । बाँकेमा दुर्घटनामा घाइते हुनेको संख्या पनि बढ्दो छ । जसमध्ये कतिपय अपाङ्गताको जीवन बिताउन बाध्य छन् । आ.व. २०७५/०७६ मा १ सय ६१, आ.व. २०७६/०७७ मा २ सय ८० र आ.व. २०७७/०७८ मा २ सय ८ जना दुर्घटनामा घाइते भएका छन् ।
नियम तोडिदै, राजश्व असुली बढ्दै
बाँकेमा ट्राफिक नियम उल्लंघनका घटना तथा त्यस विरुद्ध कारवाही बढ्दै गएको छ । जिल्लामा राजश्व असुली पनि बढ्दै गएको तथ्यांकले देखाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आ.व. २०७८/०७९ को पाँच महिनाको अवधिमा ९२ लाख २१ हजार राजश्व संकलन गरेको छ । उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १६ हजार ८ सय ५ वटा सवारी साधानलाई कारबाही गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार, आ.व. २०७७/०७८ मा २ करोड ७० लाख ६६ हजार ५ सय रुपैयाँ जरिवाना असुल भएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारी अनुसार, आ.व. २०७७/०७८ मा ४८ हजार ८ सय २ सय ४ वटा सवारी कारवाहीमा परेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आ.व. २०७५/०७६ मा १ करोड ६७ लाख, ७८ हजार ५ सय, आ.व. २०७६/०७७ मा १ करोड २९ लाख, ६९ हजार, आ.व. २०७७/०७८ मा २ करोड ७० लाख ६६ हजार ५ सय राजश्व असुल गरेको हो । यसले ट्राफिक नियमको पालना गराउने तथा प्रहरीले चेकजाँच गरी कारवाही गर्ने क्रम बढेको देखाउँछ ।
दर्ताको आव्हान, इरिक्साको बेवास्था
नेपालगन्ज उपमहानगरपालिकाले इरिक्सा व्यवस्थापनकालागि दर्ता गर्न जारी गरेको सूचनाको इरिक्सा धनीहरुले बेवास्ता गरिदिएका छन् । उपमहानगरपालिकाले दिएको समयसीमा भित्रै निकै कम मात्र इरिक्सा, अटो दर्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाहले बताएका छन् ।
‘इरिक्सा व्यवस्थापन चुनौतिपूर्ण छ, नेपालगन्ज उपमहानगरपालिकाले गरेको प्रयास अझै केही कडा कदम चाल्नुपर्ने देखिएको छ’, ट्राफिक प्रमुख शाहले भने, ‘त्यसका लागि समवन्वय गरिरहेको छु ।’ उनले नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिसँग भेटेर नियमनबारे छलफल गरिरहेको जानकारी दिए ।
‘नियमको उल्लंघन दुर्घटनाको कारण’

सडक यात्रु, यात्रारत यात्रु तथा सवारी चालकले ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटनामा निकै कमी आउँछ
– हिमालय शाह, प्रहरी निरीक्षक
प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक हिमालय शाहले ट्राफिक नियमको उल्लंघन नै दुर्घटनाको प्रमुख कारण भएको बताएका छन् । उनले पछिल्लो समय दुर्घटनामा ज्यान जानेको संख्या बढिरहनु प्रमुख कारण नियमको उल्लंघन भएको बताउँछन् ।
‘बढी दुर्घटना लापरवाहीले नै हुने गरेको छ’, उनले भने, ‘सडक यात्रु, यात्रारत यात्रु तथा सवारी चालकले ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटनामा निकै कमी आउँछ ।’
बाँकेमा हुने दुर्घटनामा तिव्र गति, मापसे सेवन, चालकको लापरवाही पाइने गरेको छ ।