अमेरिकी प्रजातन्त्र’ विरुद्ध नयाँ राजनीतिक प्रणालीको वकालतमा नेकपा

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन)ले मुलुकको राज्य व्यवस्था नै नयाँ राजनीतिक प्रणाली अनुसार फेरबदल आवश्यक भएको बताएका छन् । बास्तोलाले त्यसका लागि ‘सशस्त्र विद्रोह नै आवश्यक नभएको’ धारणा राख्दै बृहत कम्युनिष्ट एकताको आवश्यकतामा जोड दिए ।

राजनीतिक अभियान लिएर बाँके, बर्दियामा सक्रिय नेता बास्तोलाले आइतबार नेपालगन्जमा पत्रकारहरुसँग भेटघाट गरे । अघिल्लो दिन शनिबार जिल्लाका विभिन्न बौद्धिक व्यक्तित्वहरुसँग ‘अमेरिकी प्रजातन्त्र’ बारे बृहत छलफल गर्दै विवादास्पद एमसीसी परियोजना त्यसैको कमजोरीको अंग भएको धारणा राखेका बास्तोलाले आइतबार पत्रकारहरुसँग भेटघाट गरेका हुन् । ‘यो राज्य व्यवस्था र प्रणालीमा जुनसुकै व्यक्ति सत्ता वा शासनमा पुगेपनि बृहत परिवर्तन सम्भव छैन’, कम्युनिष्ट नेता बास्तोलाले भने, ‘त्यसैले नयाँ राजनीतिक प्रणालीमा जान आवश्यक छ ।’

२००७ सालदेखिका राजनीतिक परिवर्तनहरुले मुलुकलाई अपेक्षित विकासको गति दिन नसकेको आंैल्याएका नेकपा प्रवक्ता बास्तोलाले भने, ‘तपाईहरुले देखिरहेको परिवर्तन नकारात्मक गति तर्फको हो ।’ बास्तोलाले नयाँ राजनीतिक प्रणालीमा जान बृहत बाम–प्रजातान्त्रिक एकतामा जोड दिए । ‘मिल्न सक्ने विषयवस्तुमा एक ठाउँ बसौं’, राजनीतिक दलहरुलाई आव्हान गर्दै नेकपा सचिवालय सदस्य बास्तोलाले भने, ‘मिल्न नसकेका विषयवस्तुहरुलाई आम जनतामाझ लैजाउ र निर्णयार्थ जनमत संग्रह गरौं ।’ त्यसरीनै सर्वपक्षीय सरकार गठनको माग उनको थियो ।

अहिलेको राज्य व्यवस्थामा पार्टी भन्दा माथि दलाल पूँजीवादी हाबी भएको तर्क गर्दै बास्तोलाले भने, ‘दलाल पूँजीवादी अर्थ व्यवस्थाले कुनै पनि राजनीतिक दलहरुलाई स्थायित्व र एकतामा टिक्न दिंदैन ।’ ‘त्यसका लागि अहिलेको अमेरिकी प्रजातन्त्र मोडेलको संसदीय राजनीतिक व्यवस्था फाल्न जरुरी छ’, नेकपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहेका बास्तोलाले एमसीसी कार्यान्वयन गरेर नेपाललाई भारत र चीनको दुस्मनका रुपमा उभ्याउन खोजिएको तर्क पनि उनको थियो । ‘यो असंलग्न परराष्ट्र नीति विपरित हो’, बास्तोलाले भने । सरकारले गरेका तीन बूँदे सहमति पालना नगरिएको प्रति वार्ता समितिका बास्तोलाको आक्रोश थियो । (हेर्नु्स् भिडियो, तल)

पत्रकारहरुलाई स्वागत गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका बाँके–बर्दिया इन्चार्ज दिपक चलाउनेले जिल्लामा भैरहेको बेथिति र अस्तव्यस्ततामा पार्टीले ‘निगरानी गरिरहेको’ बताए । ‘त्यसविरुद्ध जनता आन्दोलनमा उत्रनु पर्छ’, उनले भने । हेर्नु्स् भिडियो, तल)

प्रतिक्रिया

प्रतिक्रिया