सामुदायिक वनमा वन्यजन्तु चराउन, घाँस, दाउरा तथा पातका लागि नगए कहाँ जाने ? तर त्यही सामुदायिक वनमा बाघको आतंक छ । तर, सामुदायिक वनमा छिरेको बाघले वन्यजन्तु मात्रै मार्दै मानिसको ज्यान समेत लिने गरेको छ । हालै एक महिला बाघलाई हसियाँले हानेर बचिन् । दुई जना मरे । यसअघि क्याम्पसका प्राध्यापक राजमार्गमै बचे बाघको आक्रमणबाट । गत तीन महिनामा शुक्रबारसम्म तीन जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका थिए, शनिबार चौथो थपिएका छन् ।
बाँके, बर्दियाका निकुञ्ज तथा सामुदायिक वन क्षेत्रमा जंगली जनावरबाट मानिस मारिंदा तथा घर पालुवा जनावरमा आक्रमण हुँदा पनि उनीहरुलाई जोगाउने योजना निकुञ्ज तथा बाँके प्रशासन, प्रहरी सँग छैन । उनीहरुसँग एउटै योजना छ, बाघ मार्न पाइँदैन ।
यसअघि ललिता विष्टलाई खाएको बाघ उनको शवसँगै हुँदा पनि प्रहरीले बाघलाई गोली हानेर मार्न सकेन । बरु दुई राउण्ड हवाई फायर गरेर लास नियन्त्रणमा लियो । बाँके प्रहरी, जिल्ला प्रशासन कार्यालय बाँके तथा बाँके राष्ट्रिय निकुञ्ज मान्छे खाने हिंस्रक बाघलाई मार्ने आदेश दिनसक्ने आफ्नो अधिकार क्षेत्र भित्र नरहेको बताउँछन् । बरु उनीहरु वन क्षेत्रमा नजान, राजमार्गमा अँध्यारो भएको बेला नहिड्न, एक्लै नहिड्न सुझाव दिन्छन् । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले नागरिकको सुरक्षा प्रहरीको मातहत रहेको र त्यसमा प्रतिबद्ध रहेको बताए । ‘वन्यजन्तुको सन्दर्भमा यो अलि जटिल छ, तर मानिसलाई आक्रमण गरिरहेको अवस्थामा नागरिकलाई हामी जोगाउँछौं’, उनले भने । तर, प्रहरीकै आदेशमा हवाई फायर गर्दा उनले मान्छे मार्ने बाघलाई गोली हान्ने आदेश भने दिन सकेनन् । ‘कानुनको दायरामा रहेर हामीले काम गर्ने हो’, उनले भने ।
बाघ लोप हुन लागेपछि सरकारले बाघ संरक्षणको नीति लिएको छ । तर, मान्छे नै मार्ने बाघलाई मार्ने स्पष्ट आदेश बाँके स्थिति सरोकारवाला निकायसँग छैन । प्रहरी तथा प्रशासनका एक अधिकारीले नाम नखोल्ने सर्तमा स्पष्ट रुपमा दैनिक नेपालगन्जसँग भने, ‘बाघले मान्छे मारे पनि हामी त्यो बाघलाई मार्न पाउँदैनौं ।’ उनले प्रत्यक्ष झम्टिएको अवस्थामा हतियारधारी सुरक्षाकर्मीले मान्छे जोगाउन गोली चलाए उनलाई कानुनी कारवाहीबाट जोगाउन सकिने भएपनि बाघले मान्छे मारिसकेको अवस्थामा बाघलाई मार्न नपाइने बताए ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले निकुञ्ज तथा सामुदायिक वनमा पाटेबाघको आक्रमणको घटनाबारे प्रशासनले गम्भीरतापूर्वक लिएर बाघ नियन्त्रण तथा स्थानीय बासिन्दालाई सचेत बनाउन तर्फ ध्यानाकर्षण गरेको बताउँछन् । ‘निकुञ्ज तथा सामुदायिक वनसँग त्यसबारे समन्वय गरिरहेका छौं’, उनले भने, ‘दुई वटा हात्ती बाघको निगरानीका लागि खटाइएको छ, मान्छे खाने बाघ नियन्त्रणमा लिन प्राविधिक टिम केन्द्रबाट समेत माग गरिएको छ ।’ उनले बाघको चहलपहल बढेका बेला सामुदायिक वन आसपासका बासिन्दालाई जंगल नजान भनेपनि गैरहेको देखिएको बताए ।
बाघ गाउँमा पसेर नोक्सानी गरेपनि त्यसलाई मार्ने भन्दा बेहोस पार्ने तर्फ सम्बन्धित निकायको ध्यान हुने गर्दछ । बाघ पीडित भन्छन्, सरकारले बाघ बढाउनु राम्रो हो तर एउटा बाघलाई चाहिने क्षेत्र, खाना र पानीको व्यवस्थापन कम्तिमा सरकारले गर्नुपर्दछ, अनिमात्र उनीहरु अन्य वन क्षेत्र तथा गाउँ, बस्तीमा प्रवेश गर्दैनन् ।
बाँके राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत श्याम कुमार शर्माले पछिल्ला बाघ आक्रमणको घटनापछि दुई वटा हात्ती बाघको निगरानीका लागि सामुदायिक वन तर्फ पठाएका बताउँछन् । ‘निकुञ्ज भित्र पर्ने राजमार्ग तथा सामुदायिक वनमा बाघको चहलपहल भएको बेला एक्लै तथा विहान र साँझ मोटरसाइकल, इरिक्सामा हिड्नु अनुपयुक्त हो’, उनले भने । ‘राप्तीसोनारीको सामुदायिक वनमा बाघको आक्रमण पछि हामीले हात्ती पठायौं, तर बाघ दैनिक २० किलोमिटरसम्म यात्रा गर्ने भएकाले शनिबार अर्कै ठाउँमा मानवीय क्षति भयो’, उनले भने ।
संरक्षण अधिकृत शर्माले पनि आफुले हिंस्रक बाघ मार्ने आदेश दिन नसक्ने स्पष्ट पारेका छन् । ‘बाघले मान्छे मारे त्यसलाई नियन्त्रणमा लिन खोज्ने, बेहोस गर्ने तथा बाघको चहलपहल भएको क्षेत्रमा केही समय नजान स्थानीयबासीलाई सूचित गर्ने हो तर बाघ मार्ने आदेश कानुन बमोजिम दिन सकिंदैन’, उनले भने । उनले सामुदायिक वनको अधिकार क्षेत्र रहने सामुदायिक वन डिभिजनसँग पनि सचेतनाका लागि समन्वय गरिरहेको जानकारी दिए ।
एउटा बाघलाई कति क्षेत्रफल छुट्याउनु पर्छ भन्ने अध्ययन नभएपनि योजनामा रहेको संरक्षण अधिकृत शर्माले जानकारी दिएका छन् । उनले भारतमा १ सय वर्गकिलोमिटरमा १४ वटासम्म बाघ रहेकोमा नेपालमा सोही क्षेत्रफलमा ४ भन्दा बढी बाघ रहेको बताएका छन् । हाल बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणनाको कार्य जारी रहेको छ । उनले बाघको आक्रमण जोगिन सामुदायिक वनमा बाघ देखिएका बेला एक्लै नजान सुझाव दिएका थिए ।
गयो थारुको ज्यान
बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ६ की चाँदनी थारुको ज्यान बाघको आक्रमणमा परी शनिबार गएको छ । शनिबार बिहान दाउरा खोज्न गएकी थारुको बाघको आक्रमणमा ज्यान गएको स्थानीयबासीले बताएका छन् ।
सिद्धेश्वर सामुदायिक बन उपभोक्ता समितिले थारुहरुको सबैभन्दा ठूलो पर्व माघीको लागि दाउरा खोलेपछि स्थानीय दाउराका लायग सामुदायिक वन छिरेका थिए । त्यही बेला बाघको आक्रमणमा थारु परेकी हुन् ।
बुधबार राप्ती सोनारी ४ प्रसोहना कि ५२ बर्षिया लिला विष्टलाई बाघले आक्रमण गरि ज्यान लिएको थियो । शुक्रबार बाघको आक्रमण बाट राप्ती सोनारी ५ चिलहरियाका बम बहादुर पुन बाँच्न सफल भएका थिए । मंगलबार राप्ती सोनारी ४ कै दुर्गा थारु बाघको पन्जाबाट भाग्न सफल भएकी थिइन् ।