बाँकेको कोहलपुरमा शनिवार भव्य कार्यक्रमबीच सागर गैरेको दोस्रो कृति बलैगाउँ देखिबाकुसम्म विमोचन गरिएको छ । वरिष्ठ कथाकार सनत रेग्मीले कृतिको विमोचन गरेका हुन् । कृति पढेर आफुले एकपटक उडान भरेको धारणा दिंदै प्रमुख अतिथि रेग्मीले लेखनमा फरक स्वाद र अनुभूति भएकाले आफु पनि लेखकसँगै धेरै ठाउँमा घुमेको सुनाए ।

‘कतिपय पुस्तकले तान्दैन, कपितपय पढ्नकालागि पढ्नु पर्छ,’ तर सागर गैरेको ‘बलैगाउँ देखि बाकुसम्म’ कृतिले सजिलै आफुलाई तानेको धारणा राख्दै कथाकार रेग्मीले आफूले भ्रमण गरेको कुरालाई सजिलै पुस्तकमा उतार्न एकदमै गा¥हो हुने र त्यसलाई पनि कलात्मक तरिकाले पाठकसामु पस्किनु निकै चुनौति रहेको बताए ।
वरिष्ठ कथाकार रेग्मीले सागर गैरेको नियात्रा नेपाली नियात्राको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको धारणा दिंदै उनले ‘लकडाउन’ पछि दोस्रो कृतिका रुपमा आएको ‘बलैगाउँदेखि बाकुसम्म’ नियात्रा कृति खारिएर आएको प्रतिक्रिया दिए । ‘यो कृतिले सागर गैरेलाई मात्रै होइन यो क्षेत्रलाई नै चिनाउन सहयोग गर्छ,’ रेग्मीको भनाइ थियो ।

कृति विमोचन पश्चात् पुस्तक परिचर्चा गरिएको थियो । परिचर्चा कार्यक्रममा कृतिकारसँग समालोचक हरि सुवेदीलाई उभ्याइएको थियो । लेखक सागर गैरेले सहज कर्ताले सोधेका प्रश्नहरूको उत्तर दिंदै आफ्ना लेखकीय अनुभूतिहरू सुनाएका थिए । आफुले भोगेको, देखेको कुरालाई सकेसम्म सजिलो हुने तरिकाले पस्किने रहरले दोस्रो कृति जन्मिएको लेखक सागर गैरेले बताए । उनले अर्काको किताब पढ्दा आफुसँग पनि यस्ता अनुभव भएकाले आफुले पनि लेख्न सक्छु भन्ने रहरले पुस्तकसम्म तानेको बताए । ‘भन्दाजति सजिलो हुन्छ, त्यै कुरा लेखिसकेपछि पाठक भएर पढ्दा निकै आनन्द आउँछ,’ कृतिकार गैरेको अनुभूति थियो ।
समालोचक हरि सुवेदीले कृति भित्रका गुण र दोषहरूलाई केलाउने प्रयास गरेका थिए । सुवेदीले लेखक गैरेको फरक शैली भनेकै अरूको कुरालाई स्वीकार गर्दै, आत्मसात गर्दै जाने रहेको बताए ।
वस्तुपरक र आत्मपरक शैलीलाई लेखकले मिलाएर उतारेको बताउँदै अब संरचनाको हिसाबले नभई वजनका हिसाबले साहित्यको पाटो केलाउनु पर्ने धारणा सुवेदीले राखे ।

‘लकडाउन’ को तुलनामा यो कृति निकै अब्बल छ,’ कृतिबारे सुवेदीले भने । उनले सूचना प्रविधिको विकासले पुस्तक पढ्ने बानी हराउँदै गएको चिन्ता व्यक्त गर्दै पाठकहरुको पुस्तक पढ्न रुची बनाउने खालका कृतिहरु निकाल्न जरुरी रहेको उल्लेख गरे । परिचर्चा कार्यक्रमको सहजीकरण कथाकार सुमित्रा न्यौपानेले गरेकी थिइन् ।
कार्यक्रम आयोजक संस्था, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले अबका दिनमा कोहलपुरको साहित्यलाई माथि उकास्न यस्ता खाले कार्यक्रमहरूलाई व्यापक निरन्तरता दिँदै थिएटर हल बनाउने सपनालाई सार्थक पार्न आफूहरू खट्ने बताए । विमोचन कार्यक्रम प्रतिष्ठानका सचिब बद्री ढकाल ‘हिरामणि’ले संचालन गरेका थिए ।