
दुई वर्षदेखि देखि प्रदेश सहकारी संघ लुम्बिनीको अध्यक्ष पद सम्हालिरहेका प्रेम प्रसाद सुवेदी २०७२ देखि जिल्ला सहकारी संघ बाँकेको नेतृत्वमा छन् । एक दशकदेखि देखि बाँकेको बैजनाथस्थित चुलिमालिका कृषि सहकारी संस्था लिका सचिव सुवेदी त्यसअघि कृषि सहकारी संघमा सचिवकै जिम्मेवारीमा थिए । कृषि सहकारी संघ देखि साना किसान कृषि सहकारी संघसम्मको अध्यक्ष पद सम्हालिसकेका छन् ।
जिल्ला सहकारी संघ बाँकेमा दोस्रो कार्यकालको नेतृत्व सम्हालिरहँदा संघको मुहारनै फेर्न लागिपरेका सहकारीमा युवा अभियन्ता सुवेदीको ‘मिसन’ बुझ्न गाह्रो छैन ।
‘दिगो रुपमा संघ सञ्चालन गर्न आर्थिक रुपमा बलियो हुनुपर्दछ भन्ने अवधारणालाई लिएर हामीले सदस्यलाई नै परिचालन गर्ने नीति लिइका छौं,’ साधारणसभाको सन्दर्भमा दैनिक नेपालगन्जले शुक्रवार गरेको संवादमा अध्यक्ष सुवेदीले भने ।
‘बहस, पैरवीमात्रै होइन जिल्ला सहकारी संघले नाफा कमायो भने सदस्य सहकारीलाई दिने गरी आर्थिक सशक्तिकरणका लागि पनि सक्षम हुन सक्ने गरि काम गरिरहेका हौं, सुवेदीले भने । कुराकानी संक्षेप आजको सहकारी संवादमा ।
जिल्ला सहकारी संघ बाँकेको ३० औं बार्षिक साधारणसभा आयोजना गर्दै हुनुहुन्छ । के के हुँदै यसपटक साधारणसभामा !
विगतका बर्ष झै यो बर्ष पनि बर्षभरी गरेका गतिविधिहरु र आगामी बर्षका नीति तथा कार्यक्रमहरुलाई हामी साधारणसभामा प्रस्तुत गर्नेछौं । साधारणसभामा हामीले गरेका राम्रा कामहरु र हामीले सुधार गर्नुपर्ने कुराहरुमा र आगामी दिनका नीति तथा कार्यक्रममा हाम्रा सदस्य तथा विज्ञहरुको सुझाव सहित त्यसलाई अगाडि बढाउने छौं ।
जिल्ला सहकारी संघले अहिले विशेषगरी सेवा र वस्तु दुवैको कारोबार गरिरहेको छ । सेवाका क्षेत्रमा बचत तथा ऋणमा अन्तरलगानी गरिरहेका छौं । वस्तुका सन्दर्भमा किसानहरुलाई लक्षित गरेर मल, बिउ दिइरहेका छौं । त्यसको साथसाथै परामर्श सेवा, तालिम, शिक्षा, सूचना सम्प्रेषणका काम हामीहरुले गरिरहेका छौं ।
सामान्यतया संघले सहकारीहरुलाई गोलबद्ध गर्दै सशक्तिकरणको काम गर्दछ, तपाईहरु आफै पनि कारोबार गरिरहनु भएको छ ?
जिल्ला सहकारी संघ अथवा कुनै पनि संघ, संगठनको दिगोपनाको सवाल हुन्छ । दिगो रुपमा कसरी सञ्चालन गर्ने ? दिगो रुपमा सञ्चालन गर्न आर्थिक रुपमा बलियो हुनुपर्दछ । आर्थिक रुपमा बलियो भएन भने भोलिका दिनमा बलियो हुन सक्दैन । सदस्यसँग जोडिएन भने पनि दिगो हुनसक्दैन । त्यसैले हामीले सदस्यलाई नै परिचालन गर्ने र जिल्ला सहकारी संघले नाफा कमायो भने सहकारीलाई दिने गरी सहकारीका सदस्यहरुसँग टच हुनका लागि हामीले बहस, पैरवी, आर्थिक सशक्तिकरणका लागि पनि त्यसरी काम गरिरहेका हौं ।
कारोबारको अवस्था कस्तो छ ?
सुरुवात गर्दा हामीले ३५ हजारबाट सुरु गरेको हो । पहिला ६४ लाख जिल्ला संघ घाटामा रहेको थियो भने अहिले साढे ३ लाख रुपैयाँ नाफामा छ ।
आर्थिक क्षेत्रमा सहकारीले पुर्याएको योगदानलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
नेपालको जीडीपीमा करिब ५ प्रतिशत योगदान सहकारीहरुको रहेको छ भन्ने राष्ट्रिय योजना आयोगको तथ्यांकमा छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा बहुआयामिक गरिबी हटाउने कुरामा, गरिबी निवारणका लागि सहकारीहरुले धेरै ठूलो भूमिका खेलेका छन् । आर्थिक समृद्धिमा सहकारीको क्षेत्रको उल्लेखनीय भूमिका छ ।
यसबीच सहकारीका समस्या के छन् ?
एउटा सहकारी संस्थाले गलत गर्ने हो भने सबै सहकारी संस्थालाई असर पुग्ने देखियो । राम्रो हो कि नराम्रो हो भन्ने छुट्याउनु भन्दा पहिला त्यो सबै सहकारी एउटै हुन् भन्ने भावनाले बुझ्दा समस्या हुने गरेको छ । त्यसलाई हामी बिस्तारै चिर्दै लगेका छौं ।
राज्यको नीतिहरु बनेका छन् । कार्यान्वयन हुन सकिरहेका छैनन् । नेपाल संघीयतामा गैसकेपछि तीन तहमा गएको छ । सहकारीहरु पनि तीन तहमा विभाजित भएका छन् । तीन तहमा आउँदै गर्दा कतिपय स्थानीय तहले सहकारीलाई हेर्ने दृष्टिकोण, बुझ्ने दृष्टिकोण र त्यसलाई परिचालन गर्ने शैली नमिलेको हुनाले हामीलाई समस्या छ ।
सहकारी भित्रका विकृति न्यूनीकरणका लागि तपाईले गरेको प्रयास के हो ?
जिल्ला सहकारी संघ बाँकेले सहकारी ऐन २०७४ पछि जिल्ला सहकारी संघहरुलाई समेत सहकारीको अनुगमन गर्ने कानुनी अधिकार प्राप्त भएको छ । यो बर्ष मात्रै डेढ सय सहकारी बाँकेमा अनुगमन गर्दैछौं । ५० वटा जति अनुगमन गरिसकेका छौं ।
समन्वयको पाटो एउटा छ । त्यस्तै कतिपय सहकारी समस्यामा पर्न थाले भने तिनीहरुलाई कर्जा लगानी गरेर पनि उत्थान गरेका छौं । सदस्यहरुको पैसा डुब्न दिएका छैनौं । दोस्रो यदी गल्ती गरिहालेको फेला परे जिल्ला सहकारी संघ स्वयं वादी भएर जाहेरी दिएर सञ्चालकहरुलाई समातेर सदस्यहरुको पैसा असुलीका लागि मुद्दा चलाएको पनि हामीसँग तथ्य प्रमाण रहेको छ ।
सहकारी सञ्चालक मोटाउने, तर लगानीको समग्र प्रभाव चाहीँ त्यसको कार्यक्षेत्रमा नपर्ने गुनासो आउँछ नि ?
सबै संघ, संगठन कानुनी रुपमा चल्ने हो । त्यसविरुद्धका गएकालाई कानुन विपरित कारवाही हुन्छ । सहकारी क्षेत्रमा पनि केही त्यस्तो पाइएको छ । जसलाई हामीले धानको बियाँका रुपमा लिएका छौं । तिनीहरुलाई पनि बिस्तारै सहकारीका ऐन, नियम, मापदण्ड, सहकारी सिद्धान्त अनुसार परिचालन गर्नुपर्छ तालिम, अनुगमन, सुझाव दिइरहेका छौं ।
सहकारीको लक्ष्य भनेको सदस्यको समृद्धि ल्याउने हो । उनीहरुको जीवनमा समृद्धि ल्याउनु नै उद्देश्य भएकाले सञ्चालन मात्रै मोटाउने सदस्यहरुको जीवनस्तर परिवर्तन नआउने हुनुहुँदैन । यदी कसैले गरेको भने सम्झाउने, नमाने कानुन बमोजिम कारवाही गरिदिनु पर्दछ ।
अन्त्यमा, यो ३० औं वार्षिकोत्सवको सन्दर्भमा केही ?
जिल्ला सहकारी संघ बाँकेको ३० औं बार्षिकोत्सव मनाइरहँदा स्थापनाको हिसाबले हामीले ५० औं बर्ष पार गरिसकेका छौं । २०१८ सालमा सहकारी संघको स्थापना भएको हो । वैधानिक रुपमा दर्ता भएको ३० औं बर्षमा छौं । सदस्यलाई अधिकतम लाभ दिने गरी सहकारी सञ्चालन गर्नुपर्दछ । सहकारीका सञ्चालकले ऐन, नियम कानुन विपरित गर्नुहुँदैन । सहकारीमा बचत गर्नेले पनि सञ्चालक बुझेर, कार्यालय हेरेर मात्रै बचत गर्नुपर्दछ ।