नागरिक सहकार्यमा सेना

मगन्ताटोलमै पुगेर कम्बलसँग चामल वितरण


नेपाली सेनाका उच्च अधिकारीहरुको एउटा टोलीले नागरिक संस्थाका प्रतिनिधिहरुसँगको सहकार्यमा विहीवार सीमावर्ती क्षेत्रका अभावग्रस्त बस्तीका परिवारलाई कम्बल सहित खाद्यान्न वितरण गरेको छ ।


नागरिक सम्बद्ध विभिन्न संस्थाहरुसँग सहकार्यमा डुडुवा गाउँपालिका– ६ मंगताटोल पुगेका सैनिक उच्च अधिकारीहरुले एकसय परिवारलाई एक थान कम्बल सहित दुई किलो चामल र बिस्कुट वितरण गरेका हुन् । त्यसका लागि श्री नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण र सैनिक श्रीमती संघले रोयल नेपालगन्ज फुटबल क्लब तथा वेष्टर्न हस्पिटल तथा रिसर्च सेन्टरसँग सहकार्य गरेको थियो ।


बाँकेमा मागेरै गुजारा चलाउने, महावत जातीको बसोबास रहेको मंगताटोलमा चिसोका कारण परेको समस्याबारे जानकारी आएपछि कम्बल, दुई किलो चामल र बिस्कुट वितरण गरिएको आयोजकले जानकारी दिएका छन् ।

श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, सैनिक श्रीमती संघको समारोह समितिका सहसंयोजक विमु पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की र श्रीमती प्रमिला केसी कार्की, श्री नम्बर ४ बाहिनी अड्डाका मेजर दीप श्रेष्ठ र श्रीमती लक्ष्मी श्रेष्ठ सहयोग हस्तान्तरण कालागि मगन्ताटोल पुगेका हुन् ।

उनीहरुसँगै वेष्टर्न अस्पतालका सञ्चालक डा. कल्पना थापा, प्रवन्ध निर्देशक राहुल थापा, रोयल नेपालगन्ज फुटबल क्लबका अध्यक्ष सूर्यमणि अधिकारी, उनकी आमा महालक्ष्मी अधिकारी र श्रीमती प्रतिमा अधिकारीलगायतले मंगताटोलका एकसय घरपरिवारलाई एउटा कम्बल, दुई किलो चामल र बिस्कुट वितरण गरेका थिए ।


कार्यक्रममा प्रमुख अतिथि, सहायक रथी पाठकले चिसोले नागरिकको समस्यामा सेना सहयोगी रहने बताए । नागरिक संस्थासंगको सहकार्यमा राहतग्राही ठाउँमा यसखालको सहयोगलाई निरन्तरता दिन सकिने उनको भनाइ थियो ।

डुडुवा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष मोहन मिश्रले टोलमै आएर अति आवश्यक वस्तीमा राहत दिइएको बताए । उनले राज्यको अनुसूचीमा पर्न नसक्दा मगन्ताहरुलाई सरकारी सहयोग पुग्न नसकेको जानकारी दिंदै उनीहरुका लागि सहयोग निकै अर्थपूर्ण रहेको बताए ।


‘सेनाले वर्दीमा मुलुकको सुरक्षा गर्छ, नागरिक विना वर्दी,’ नागरिक– सेना सहकार्यमा मानवीय सहयोग गरिएको टिप्पणी गर्दै भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले दैनिक नेपालगन्जसँग भने, ‘नेपाली सेना यीनै नागरिककै लागि त हो नि !’ सेनाले यसैसाता खजुरामा स्वास्थ्य शिविरका लागि पनि विभिन्न स्थानीय संघसंस्थासँग सहकार्य गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया