असुरक्षित मूर्ति, बाँकेमा चोरीको मूर्ति फेला

केही बर्ष अघि बागेश्वरी मन्दिरमा रहेको खडेश्वर महादेवको मूर्तिमा रहेको गहना चोरी भएको थियो । त्यसपछि मन्दिरमा सुरक्षा बढाउनुका लागि सीसी क्यामेराबाट निगरानी हुँदै आएको छ ।

केही महिना अघि नेपालगन्ज कारकाँदो स्थित राधाकृष्ण मन्दिरमा रहेको श्रीकृष्णको मूर्तिमा रहेको चाँदीको पाउ, श्रीबन्दी लगायतका गहना चोरी भयो । उक्त गहना अझै फेला परेको छैन । मूर्ति चोरी भएपछि अहिले मन्दिरमा सुरक्षाका लागि सीसी क्यामेरा जडान गरिएको छ ।
बुधबार राती नेपालगन्ज–१ स्थित रामजानकी मन्दिरबाट चोरिएको मन्दिरका मूर्ति सहितका विभिन्न सामाग्री प्रहरीले फेला पार्यो ।
गत महिना ललितपुरबाट एक फिट अग्लो र ८ इन्च चौडा भएको सिद्धेश्वर महादेवको मन्दिरबाट चोरी भएको मूर्ति बसुन्धराका मूर्ति केही समयपछि नजिकैको जंगलबाट फेला पर्यो ।

खासगरी पुरातात्विक ऐतिहासिक महत्वका मूर्ति र पैसाका लागि साना मन्दिरहरुबाट मूर्ति तथा गहना चोरी हुने गरेको पाइन्छ । नेपाल प्रहरीका अनुसार, एक वर्षमा १० ऐतिहासिक र पुरातात्विक मूर्ति चोरी भएका छन् ।

आर्थिक वर्ष ०७८÷७९ मा विभिन्न जिल्लाबाट आकाश भैरवको मूर्ति, ढलौटको गणेशको मूर्ति, नवदुर्गा भवानीको ढलौटको मूर्ति, भैरवको मूर्ति, शेषनारायणको मूर्ति, काँसको घन्टी, राधाकृष्णको ढलौटको मूर्ति, तामाको अम्खोरा, ढलौटको सिंहको मूर्ति, प्राचीन पुरातात्विक महत्वको ढलौटको गणेशको मूर्ति, विष्णुनारायणको ढुंगाको मूर्ति र बसुन्धराको मूर्ति चोरी भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

पछिल्ला समय देशभर मूर्ति तथा मन्दिरमा भगवानलाई लगाएका गहना चोरीका घटना एकपछि अर्को सार्वजनिक हुँदै आएको छ । कतिपय बर्षौ अघि चोरिएका मूर्ति विदेशमा फेला परेको र फर्काइएको समाचारहरु प्रकाशमा आउने गरेका छन् ।

भगवानको मूर्ति कसले चोर्ला भन्ने आम धारणका कारण मन्दिरको सुरक्षामा खासै ध्यान दिइँदैन । तर, ऐतिहासिक मूर्ति विदेशमा बेच्न तथा गरगहना बेच्नका लागि त्यसखालको अपराध हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरी अधिकारीहरु मूर्ति चोरी भएपछि खोज्नु भन्दा त्यसको सुरक्षामा ध्यान दिनुपर्ने बताउँछन् । ‘चोरी हुन नदिनु राम्रो हो, त्यसका लागि सुरक्षाका उपायहरु अवलम्वन गर्नुपर्छ’, प्रहरी अधिकारी भन्छन् ।

नेपालमा मन्दिरको सुरक्षा एकदम कमजोर रहेको पाइन्छ । जसले गर्दा गलत नियत भएका व्यक्तिले सहजै एतिहासिक महत्वका मूर्ति चोरेर विदेश पुर्याउने गरेका छन् ।

फेला पर्यो मूर्ति, चारी गर्ने प्रहरी फन्दामा

वडा प्रहरी कार्यालय नेपालगन्ज मन्दिरबाट चोरिएका मूर्ति केही समयमै बरामद गर्न सफल भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ स्थित रामजानकी मन्दिरबाट करिब १२ बजे चोरी भएका मूर्ति लगायतका सामाग्री वडा प्रहरी कार्यालय नेपालगन्जले मानिस सहित सामान बरामद गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, घटनामा असरफ बागवान पक्राउ परेको जानकारी दिएको छ । प्रहरीले बागवानबाट भगवानको मूर्ति ३ थान, घण्टी ५ थान, नाग देवताको मूति २ थान, तामाको लोटा ४ थान, त्रिशुल ३ थान, आरती १ थान, पाला छोप्ने ढक्कन ८ थान, पाला २ थान, टिका राख्ने भाँडा १ थान, फलामको सिक्री १ थान, सानो आरी १ थान, रिन्च १ थान बागवानसँग बरामद गरेको हो ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले चोरीको घटना थाहा पाउने वित्तिकै खोजतलास र सुराकीको सहयोगमा मूर्ति बरामद गर्न सफल भएको बताएका छन् ।

बेवारिसे मूर्ति

बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १५ बाट बेवारिसे अवस्थामा मूर्ति फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले बेवारिसे अवस्थामा मूर्ति फेला पारेपछि बिहीबार सप्रमाण दाबीका लागि आउन आव्हान समेत गरेको छ ।
‘भेटिएका मूर्ति अहिलेसम्म कसैले दाबी गर्नु भएको छैन’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने । बाँके प्रहरीले दुर्गादेवि, शिव पार्वति र राधाकृष्णको मूर्ति फेला पारेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया