बाँके : एक महिनामा ११ हजार मतदाता थपिए

पछिल्ला दिन बाँकेमा चिसो ह्वात्तै बढेको छ । यसका वावजुद फोटोसहितका नामावली संकलनका लागि रातीदेखि नै लाइन बस्ने गरेको पाइएको छ । खासगरी इलाका प्रशासन कार्यालय कोहलपुरमा मतदाता नामावलीका लागि रातीदेखि नै लामबद्ध भएका हुन् । नेपालगन्ज स्थित जिल्ला निर्वाचन कार्यालयमा पनि मतदाताहरुको लाम बढ्दै गएको छ ।

नेपालगन्ज स्थित जिल्ला निर्वाचन कार्यालय बाँकेमा जिल्लाभरीका योग्यता पुगेका मतदाताले फोटोसहितको नामावली दर्ता गराउन सक्छन् । अन्य जिल्लाका नागरिकले पनि निर्वाचन कार्यालयले पुगेर मतदाता नामावली संकलन गराउन सक्ने व्यवस्था रहेको छ ।
२०७४ सालपछि निर्वाचन कार्यालयको टोली गाउँ पुगेर मतदाता नामावली संकलन गरेको थिएन । कोभिडका कारणले पनि जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन समेत केही समय अवरुद्ध भयो । अहिले मतदाता नामावली संकलनका क्रममा भीड लाग्नुको कारण पनि त्यही हो ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका जिल्ला निर्वाचन अधिकारी खुम प्रसाद सुवेदीले जिल्ला कार्यालयबाट दैनिक ५÷७ सयको नामावली संकलन हुँदै आएको जानकारी दिए । ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन भएपछि मतदाता नामावलीमा दर्ता हुनेको संख्या ह्वात्तै बढेको छ’, जिल्ला निर्वाचन अधिकारी सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘कार्यक्रम अन्तर्गत बाँकेका स्थानीय तहमा पुगेर १५ दिनसम्म नामावली संकलन समेत गरेका छौं ।’

कोहलपुरको इलाका प्रशासन कार्यालय, नेपालगन्जको जिल्ला प्रशासन कार्यालय र अन्य स्थानीय तहमा आयोगको टोलीले १५ दिनसम्म दुई चरणमा मतदाता नामावली संकलन गरेको थियो । अहिले इलाका प्रशासन कार्यालय कोहलपुर र निर्वाचन कार्यालय बाँकेबाट मतदाता नामावली संकलन भैरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार, गत साउनदेखि मंसिर १५ सम्म ७ हजार मतदाताले नामावली संकलन गराएकोमा गत मंसिर १७ गतेदेखि सुरु भएको मतदाता नामावली संकलन विशेष कार्यक्रम पछि पुसको १८ सम्म थप २१ हजारले मतदाता नामावलीमा फाराम भरेका छन् ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छैन । तर, आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिंदैछ । स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद २ को निर्वाचन कार्यक्रम तथा निर्वाचन प्रणालीको पहिलो बुंदामा नै ‘सदस्यको निर्वाचन गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनेछ,’ उल्लेख छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ ले निर्वाचनको मिति तोक्ने अधिकार नेपाल सरकारलाई दिएको छ । सरकारले त्यसका लागि आयोगको परामर्श लिनुपर्नेछ । सरकारले परामर्श लिनु अघि नै निर्वाचन आयोगको टोलीले वर्तमान सरकार प्रमुखलाई भेटेर यसअघि नै स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गरिसकेको छ । सरकारले स्थानीय तहको मिति घोषणा गरि नसकेको भएपनि आयोगले भने निर्वाचन लक्षित आफ्नो कामहरु अगाडि बढाइसकेको छ । ऐन बमोजिम आगामी चैत्र ५ भित्र स्थानीय तहको निर्वाचन हुनुपर्दछ ।

निर्वाचन घोषणापछि आयोग निर्वाचनको थप तयारीमा लाग्नेछ । त्यस्तै, निर्वाचन घोषणापछि मतदाता नामावली संकलन कार्य रोकिनेछ । घोषणापछि मतदाता नामावली दर्ता भएपनि उनीहरुले आगामी निर्वाचनमा मतदान गर्न पाउँदैनन् । सरकारले कुनै पनि बेला निर्वाचन घोषण गर्न सक्ने भएकाले स्थानीय तहको निर्वाचनमा आफ्नो मत सुनिश्चित गर्न अहिले मतदाता नामावलीमा नाम संकलन गराउनेको भीड लागेको हो । ‘निर्वाचन घोषणा नहुँदासम्म मतदाता नामावली संकलन कार्य जारी रहनेछ’, जिल्ला निर्वाचन अधिकारी सुवेदीले भने ।

मतदाता नामावली दर्ता गराउनका लागि राजनीतिक दलले समेत नागरिकहरुलाई सूचित गर्दै आएका छन् । कतिपय स्थानीय तहबाट बस नै रिजर्व गरेर फोटो सहितको मतदाता नामावलीका लागि जिल्ला निर्वाचन कार्यालय पुग्ने गरेका छन् । दलका नेताहरु आउँदो स्थानीय तहको निर्वाचनको प्रतिको आकर्षणले गर्दा पनि अहिले मानिसहरु स्वस्फूर्त निर्वाचन कार्यालय पुगेर नामावली दर्ता गराइरहेको बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया