टिम गौडेलको पदाधिकारी घोषणा, सदस्य ‘छिट्टै’

यसै पुस २७ गते हुन तय भएको नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशनका लागि सोमबार नारायणप्रसाद गौडेल नेतृत्वको समूहले आफ्नो पक्षको पदाधिकारी घोषणा गरेका छन् । उप–सभापतिमा गोपाल अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले ’आशीष’ तथा सह–सचिवमा विश्वराज लम्साल र रेणु सिंहको नाम औपचारिक घोषणा गरिएको हो ।


गौडेल प्यानलका प्रचार संयोजक टेकनारायण भुषालले कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य र बाँकेका सभापति किरण कोइराला सहितका नेताहरुबीच उम्मेदवारको नाम सार्वजनिक गरे । ‘जिल्ला कार्यसमिति सदस्य उम्मेदवारको नाम २५ गते चियापान कार्यक्रम गरेर सार्वजनिक गरिनेछ,’ सभापतिका उम्मेदवार गौडेलले टिम बन्दै गरेको संकेत गर्दै भने ।

उम्मेदवार घोषणा कार्यक्रममा गौडेलले आफ्नो प्यानल निर्वाचित भएपछि जिल्लाभरी छरिएर रहेका तमाम द्वन्द्वपीडितलाई कांग्रेसमा जोड्ने बताए । आफ्नो प्यानल निर्वाचित भएपछि पार्टीसँग किसान, तरुण, बिद्यार्थी, ब्यापारी, मजदुर, सबैको प्रतिनिधित्व हुने गौडेलको दावी थियो । ‘स्थानीय तथा केन्द्रीय निर्वाचनमा बाँके जिल्लाको तीनै क्षेत्रमा कांग्रेसको चारतारे झण्डा फरफराउनेछौं,’ गौडेलले भने । आफ्नो नेतृत्वको पहिलो निर्णयबाटै अनुशासन समिति बनाउने प्रतिवद्धता जनाएका गौडेलले भने, ‘कांग्रेसभित्र घात–अन्तरघात गर्ने कसैलाई पनि बाँकी राखिेनेछैन ।’


उपसभापतिका उम्मेदवार गोपाल अधिकारीले आफ्नो उम्मेदवारीको औचित्य स्मरण गराउँदै पार्टी कार्यालय बनाउन आफुहरुले गरेको संघर्षको चर्चा गरे ।


घोषणा कार्यक्रममा कांग्रेस बाँकेका सचिव तप्त पौडेल, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, तत्कालिन संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर लगायत ठुलो संख्यामा नेता तथा कार्यकर्ताको सहभागिता गराइएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया