
सत्तारुढ गठबन्धनको एउटा महत्वपूर्ण शक्ति नेकपा माओवादी केन्द्रले जारी आठौं महाधिवेशनबाट आइतबार केन्द्रीय समिति चयन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको २ सय ३६ सदस्यीय केन्द्रीय समितिलाई हलले ध्वनि मतले पारित गरेपछि केन्द्रीय समिति चयन भएको हो ।
नवनिर्वाचित केन्द्रीय समितिमा बाँकेबाट तीन जनाको प्रतिनिधित्व भएको छ । संसदीय समितिकी सभापति समेत रहेकी प्रतिनिधिसभा सदस्य पूर्ण कुमारी सुवेदी, बाँके क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश्वरजंग गहतराज र अञ्जना चौधरी केन्द्रीय समितिमा सदस्य निर्वाचित भएका हुन् ।
‘सोमबार केन्द्रीय समितिले पदाधिकारी चयन गर्नेछ’, नवनिर्वाचित केन्द्रीय सदस्य सुवेदीले दैनिक नेपालगन्जसँग भनिन्, ‘त्यसका लागि नेतृत्वले आवश्यक कसरत गरिरहेको छ ।’ उनले सर्वसम्मत ढंगबाट केन्द्रीय समिति निर्वाचित गरी महाधिवेशन भव्यतापूर्वक सफल भएको पनि बताइन् ।
नवनिर्वाचित केन्द्रीय समितिमा खुल्लातर्फ १३२ जना र सामानुपातिकतर्फ १२५ जना छन् ।
महाधिवेशनले समसामयिक प्रस्ताव पारित गरेको छ । माओवादीले केही समयदेखि सम्बन्धित समिति चयन गर्ने र सोही समितिमार्फत पदाधिकारी चयन गर्ने प्रणाली अवलम्बन गर्दै आएको छ । सोही प्रणालीअनुसार सोमबार बस्ने २३६ सदस्यीय केन्द्रीय समितिको बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने भएको छ । केन्द्रीय समितिको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने भएको छ । सहमतिका आधारमा पदाधिकारी चयन हुन नसके मात्रै केन्द्रीय समितिमा मतदान गर्ने कार्यक्रम तय गरिएको नवनिर्वाचित केन्द्रीय सदस्य सुवेदीले जानकारी दिइन् ।
माओवादीको महाधिवेशन अघिल्लो आइतबार कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन भएको थियो । केन्द्रीय समिति बनेसँगै आठौं दिन महाधिवेशन सम्पन्न भएको माओवादीले जानकारी दिएको छ ।