बाँकेका विभिन्न स्थानीय तहले बाल विवाह न्यूनीकरण तथा छात्रालाई विद्यालय टिकाइराख्नका लागि कन्या मुद्दति खाता देखि साइकल वितरणको कार्यक्रम अघि सारेका छन् । मुस्लिम, मधेसी, थारुको बाहुल्य रहेको बाँकेमा छात्राहरु बीचमै पढाई छाड्ने, उमेर नपुगी विवाह गर्ने ठूलो संख्या रहेको छ । बाँकेका स्थानीय तहले छात्रालाई विद्यालय टिकाउनका लागि छात्रा विद्यालय, कन्या मुद्दति खातादेखि साइकल वितरणसम्म कार्यक्रमहरु गरिरहेका हुन् ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको सल्यानीबंगलामा रहेको विद्यालयलाई कन्या विद्यालयका रुपमा अघि बढायो । मंगल प्रसाद मावि विद्यालयमा छात्रा कलेज बनेर तयार भएको छ । हाल सम्बन्धनको प्रक्रिया सुरु गरेको उपमहानगरपालिका कार्यपालिका बैठकले गत पुस १३ गते मात्रै कम्प्युटर तथा तालिमका लागि २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । कार्यपालिका बैठकले बिएससी सिएसआइटी, बिबिएस, बिएड विषयमा कक्षा सञ्चालनका लागि मध्यपश्चिम विश्व विद्यालय विरेन्द्रनगर सुर्खेतबाट सम्बन्धन प्राप्त गर्नको लागि आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ । नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले यसअघि मधेसी तथा मुस्लिम समुदायका छात्राहरुलाई लक्षित गरी छात्रा कलेज सञ्चालनमा ल्याउने बताउँदै आएका थिए । मधेसी तथा मुस्लिम समुदायमा उच्च शिक्षाका लागि छोरीहरुलाई पुरुष विद्यार्थी पढ्ने क्याम्पसमा पठाउन नचाहँदा पढाई छाड्नुपर्ने बाध्यताको सम्बोधनका लागि करिब ९ करोड लागतमा छात्रा कलेज बनाएको हो ।
छात्राको विद्यालयमा आकर्षण बढाउन बाँकेको नरैनापुर, जानकी र राप्तीसोनारी गाउँपालिकाले साइकल वितरणको कार्यक्रम यसअघि अगाडि बढाइसकेका छन् । त्यस्तै, डुडुवा गाउँपालिकाले कन्या मुद्दति खाताको कार्यक्रम अगाडि बढाएको छ । राप्तीसोनारी थारु र डुडुवा, जानकी र नरैनापुर मधेसी बाहुल्य क्षेत्र हो । घरदेखि विद्यालय टाढा हुँदा घरायसी कामले गर्दा विद्यालय नै नजाने गरेको पाएपछि पालिकाहरुले छात्रालाई साइकल वितरण गरेका हुन् । पालिकाले त्यसका लागि आवश्यकता अनुसार बजेट विनियोजन गर्दै आएका छन् ।
राप्ती सोनारी गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्रालाई गत साता आइतबारबाट साइकल वितरण सुरु गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुले छात्राको शैक्षिक अवस्था सुधार्न साइकलले मद्दत पुर्याउने बताएका छन् । ‘शिक्षालाई गाउँपालिकाले प्राथमिकता दिदै गर्दा साइकलको पनि हामीले महसुस् गरौं’, उनले भने, ‘बिद्यालयका कक्षामा सुरुमा छात्राको संख्या धेरै हुन्छ, जब कक्षा बढ्दै जान्छ, तब छात्राको संख्या घट्दै जान्छ ।’ अध्यक्ष थारुले सुरुमा ७ सय ५० साइकल वितरणका लागि बजेट विनियोजन गरिएको भएपनि अहिले १ हजार २ सय पुगेको जानकारी दिए । साइकल पाउने भएपछि ड्रपआउट भएका छात्रा पुनः बिद्यालयमा फर्किने र टाढाबाट बिद्यालय आवत जावत गर्ने अपेक्षा लिइएको अध्यक्ष थारुले बताएका छन् । पालिकाले साइकलका लागि ६० लाख बजेट छुट्याएको छ ।
नरैनापुर गाउँपालिकाले यसअघि तीनवटा माध्यामिक र एउटा आधारभूत विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १२ सम्मका ५ सय २ जना छात्रालाई साइकल वितरण गरेको छ । त्यसका लागि पालिकाले ५० लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले साइकलले छात्रालाई विद्यालय पुग्न सहज भएको बताउँछन् । जानकी गाउँपालिका जानकी गाउँपालिकाले पनि यसअघि १५ जना छात्रालाई साइकल वितरण गरेको थियो । पालिकाले शिक्षाको पहुँच सहजताका लागि साइकल वितरण गरेको बताएको छ ।
बाँकेको डुडुवा गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा बालिका शिक्षामा सहयोग पु¥याउन ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ यसअघिदेखि नै सञ्चालनमा ल्याएको छ । खासगरी बाल विवाह न्यूनीकरण र छोरीलाई विद्यालयसम्म पुर्याउने उद्देश्यले पालिकाले कन्या मुद्दती शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको हो । कार्यक्रम अन्तर्गत नवजात बालिकाका नाममा अभिभावक संरक्षक रहने गरी बैङ्कमा खाता खोल्नुका साथै त्यसमा अभिभावकको ५ हजार र गाउँपालिकाबाट ५ हजार थप गरी १० हजार रुपैयाँ बचत हुनेछ । गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी यसले छोरीलाई विद्यालय पठाउन तथा बाल विवाह निरुत्साहनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दछन् ।