समृद्ध बाँकेका आधारहरु के के हुन सक्छन् ? उद्योग, वाणिज्य, कृषि वा पर्यटन जिल्लाको समग्र विकासका लागि के के कुरामा प्राथमिकता दिनुपर्ला ? पहिलो पटक बाँकेको समग्र विकासका प्राथमिकतामा बहस थालिएको छ ।

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको ५४ औं बार्षिकोत्सव पारेर बाँके विकासका प्राथमिकता निर्धारण गर्न पहल लिएको हो । त्यसका लागि शनिबार बृहत प्रतिनिधिमूलक सहभागितामा ‘समृद्ध बाँकेका आधारहरु’ विषयक कार्यशाला गरिएको छ ।
उद्योग, वाणिज्य, पर्यटन, कृषि तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरुको सहभागितामा विभिन्न प्राज्ञिक व्यक्तित्वहरुले विषयगत आधार प्रस्तुत गर्दै त्यसमाथि विभिन्न क्षेत्रका अगुवाहरुले आफ्ना धारणा राखेका हुन् । संघका अध्यक्ष अब्दुल वाहिद मन्सरीको अध्यक्षतामा भएको कार्यक्रम बीच त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. राजेश केशर खनाल, कोशराज रेग्मी र अन्नपूर्ण पोष्टका उपसम्पादक शंकर खनालले आधारपत्र तयार गरेका थिए । ‘यो एउटा बहसको प्रारम्भ मात्रै हो’, आधारपत्र प्रस्तुत गर्दै डा. खनालले भने, ‘त्यसमा टेकेर बाँके जिल्लाको दीर्घकालीन विकासका पूर्वाधारहरु तय गर्न सकिन्छ ।’

आधारपत्रमा विभिन्न क्षेत्रका प्रतिनिधिहरुले सुझाव तथा धारणा राखेका थिए । समूहका तर्फबाट सहप्राध्यापक अशोक बस्नेत, हिसानका बाँके/बर्दिया अध्यक्ष डा. अवनिन्द्र दत्त मिश्र, नेपालगन्ज बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख थानिश्वर पाण्डेय, नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य भिम रानाभाट र पत्रकार महासंघका जिल्ला सचिव कमल डाँगीले सुझावहरु प्रस्तुत गरेका थिए ।
‘समूहगत बहसबाट तमाम सुझावहरु आएका छन्’, कार्यशालाका लागि आधारपत्र लेखक मध्येका पत्रकार शंकर खनालले दैनिक नेपालगन्जसँग भने, ‘यि विषयहरुलाई समेटेर समृद्ध बाँकेका आधारहरु तय गरिनेछ ।’ संघका सल्लाहकार समेत रहेका उपप्राध्यापक कोशराज रेग्मीले आधारपत्रमा आएका सुझावहरु समेटेर संघले प्रक्रियागत र चरणबद्ध छलफल अगाडि बढाउन आफ्नो सुझाव रहने बताए ।

संघको स्थापना दिवसलाई सिर्जनशील र जिल्लाको दीर्घकालीन विकासमा महत्व राख्ने गरी मनाउन यसखालको कार्यशाला आयोजना गरिएको संघका महासचिव चिरञ्जीवि ओलीको भनाइ छ । ‘संघले विकासका मुद्दामा पहिलेदेखि पहल गरि आएपनि यो बहसले अर्थपूर्ण नतिजा दिने विश्वास छ’, संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले भने । श्रेष्ठ सहित पूर्व अध्यक्षहरुलाई संघले स्थापना दिवस पारेर सम्मान पनि गर्यो । बहसको सहजीकरण पत्रकार झलक गैरेले गरेका थिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन प्रमुख कृष्ण पुन, बाँके निकुञ्जका प्रमुख श्याम कुमार शाह, कृषि ज्ञाने केन्द्रका अधिकृत सकिल अहमद, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी लगायतले विकासका अवधारणा तय गर्न संघले अघि सारेको पहलको सराहना गरेका थिए ।