जनताको प्रत्यक्ष लगानीबाट शुरु गरिएको बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले छोटो समयमै नयाँ नयाँ सेवा थप गर्दै लिएको छ । २०७५ साल असार ११ गतेखि संचालनमा आएको क्यान्सर अस्पताल पूर्णरुपमा संचालनमा आउन नसके पनि सेवा विस्तार भने गर्दै आएको छ । अब खजुरामा कान्ति बाल अस्पतालको सहकार्यमा बाल क्यान्सरको उपचार सुरु गरिने भएको छ ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा बाल बालिकामा हुने क्यान्सरको उपाचार गर्ने उद्देश्यले कान्ति बाल अस्पतालले सहकार्य अगाडि बढाएको छ । दूरदराजबाट बालबालिकालाई काठमाडौं पु¥याएर उपचार गर्न महंगो हुनुका साथै समय पनि धेरै लाग्ने भएकाले देशका विभिन्न अस्पतालसंंग सहकार्य गर्दै बाल क्यान्सरको उपचार गर्न सहकार्य गर्न लागिएको जनाइएको छ ।
कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डाक्टर बिष्णुरथ गिरी हाललाई सुशील कोइराला क्यान्सर अस्पतालमा उपलब्ध जनशक्तिलाई नै प्रयोग गरेर बाल क्यान्सर उपचार सेवा सुरु गरिने बताउँछन् । उनले नेपालका सीमित ठाउँमा मात्र बाल क्यान्सरको उपचार सेवा भएकाले बिरामीका परिवारले ठूलो रकम खर्च गरेर काठमाडौं र भरतपुर लिने भएकाले यसलाई सरलीकरण गर्न सम्भव भएका ठाउँहरुमा सेवा दिने उद्देश्यले खजुरासंग सहकार्य गर्न थालिएको बताए ।
डा.बिष्णुरथ गिरी, बाल क्यान्सर रोग विशेषज्ञ कान्ति बाल अस्पताल । कालो ज्याकेट सुशील कोइराला क्यान्सर अस्पताल खजुरामा कार्यरत नर्स तथा चिकित्सकलाई बाल क्यान्सरको उपचार सम्बन्धी २ दिने अभिमूखिकरणसमेत गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद आचार्य अस्पतालले सेवा विस्तार गर्ने क्रममा बाल क्यान्सर रोगको उपचार सेवा शुरु गर्न लागिएको बताउँदै आवश्यक जनशक्ति परिपूर्ति गरिने बताउँछन् ।
अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसी स्थायी दरबन्दी नहुँदा करारमा जनशक्ति टिकाउन निकै मुस्किल परेको बताउँछन् । उनले अस्पताललाई पूर्णरुपमा संचालन गर्नका निम्ति रेडियसन सेकाई मेसिन प्रक्रियामा रहेको र दरबन्दी परिपूर्तिका लागि मन्त्रालयसंग पहल गरिरहेको बताए । साविक मध्य तथा सुदूरपश्चिम क्षेत्रका जनताको उपचारको केन्द्र विन्दुको रुपमा रहेको खजुरा स्थित सुशील कोइराल प्रखर क्यान्सर अस्पताल पूर्णरुपमा संचालनमा आउन सके यस क्षेत्रका जनतालाई निकै सहज हुने देखिन्छ ।