नेपालमा गर्भ भाडामा लगाउनको लागि कुनै कानुनी व्यवस्था छैन । विदेशी पुरुषसँग पैसा लिएर गर्भवति (सेरोगेसी मदर) बनिदिने नेपाली महिलाहरुको संख्या बढ्दै जान थालेको अनुमान छ । उसो विगतमा तेस्रो मुलुकका नागरिक भारतीय महिलाको कोख भाडामा लिएर नेपालमा बसेर बच्चा जन्माएका थुप्रै उदाहरण रहेका छन् ।
सर्वोच्च अदालतको अनुसार, ‘बच्चा जन्माउन असक्षम दम्पतीले बच्चा जन्माउन सक्षम महिलासँग सम्झौता गरी दाताको वीर्य तथा अण्डाणु लिएर कृत्रिम गर्भाधान प्रक्रियाबाट गर्भधारण गरी निजको कानुनी तथा जैविक माता पितालाई जन्मेको बच्चा सुम्पिन तयार हुन्छिन् । त्यस्तो बच्चा जन्माउने आमालाई सट्टा आमा अर्थात सरोगेट मदर भनिन्छ ।’ यसअघि एउटा मुद्दामा सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयलाई ‘सरोगेसी गर्न स्वास्थ संस्थालाई अनुमति नदिनु’ भन्ने आदेश दियो ।
सेरोगेसी मदर आपसी लेनदेनमा गुपचुप हुने भएकाले कतिले कोख दिए भन्ने तथ्यांक रहेको छैन । तर, बाहिर आउने १÷२ घटनाले सेरोगेसी मदर बढ्दै गएको अनुमान गर्न सकिन्छ । ‘सेरोगेसी मदरका धेरै घटनाहरु हाम्रो जानकारीमा छ’, माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले भने, ‘महिलाहरु आफै पनि खुलेर नआउँदा यसबारे कानुनी प्रक्रिया अगाडि बढाउन सकिएको छैन ।’ कोइरालाले सेरोगेसी मदरको एउटा घटना भने कानुनी प्रक्रियामा लैजाने तयारी भैरहेको शुक्रबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा जानकारी दिएका छन् ।
गरिबीको फाइदा उठाउँदै महिलाको शोषणका रुपमा पनि सेरोगेरीलाई लिने गरिएको छ । त्यसैले यसको विरोध हुने गरेको छ । कतिपयले सेरेगेसीलाई ‘सम्पर्क व्यक्ति र अस्पतालको’ कमाउधन्दाका रुपमा लिन्छन् ।