देशभरिका नेवार अगुवाहरु नेपालगन्ज आइपुगेका छन् । आज शुक्रवार आयोजना हुने हुने नेवाः देयः दबूको केन्द्रीय विधान अधिवेशनका लागि नेवार अगुवाहरु नेपालगन्ज आइपुगेका हुन् ।
नेवाः देयः दबू बाँकेको आतिथ्यमा हुन लागेको प्रथम विधान अधिवेशन हुन लागेको हो । ‘देशभरका ६८ जिल्लाका २ सय ५० बढी प्रतिनिधि र झण्डै एकसय ५० पर्यवेक्षक पाहुनाहरुको सहभागिता सुनिश्चित भएको छ,’ नेवारी भाषा, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ संगठन स्थापित भएको जानकारी दिंदै नेवाः देयः दबू बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले भने । उनैको संयोजकत्वमा गठित विभिन्न समितिहरुले आ–आफ्ना जिम्मेवारीका कामको पुरा गरिसकेको जनाएको छ ।
नेवारहरुको साझा छाता संगठन, नेवाः देयः दबूको केन्द्रीय समितिको विहीवार नेपालगन्जमा बसेको बैठकले प्रथम विधान अधिवेशनका ऐजेन्डाहरु तय गरेको जानकारी दिंदै जिल्ला अध्यक्ष श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘नेवाःसमुदायको भाषा कला संस्कृति भेषभुषाको संरक्षण गर्दै देशभरका बिभिन्न समुदायसँग सद्भाव सम्बन्ध बिस्तार गर्ने प्रमुख उद्देश्य लिएर नेवाःदेय् दबू क्रियाशील हुँदै आएकोले राज्य पुनःसंरचनापछि संगठनलाई चलायमान बनाउने गरि विधान बनाउन यो आयोजना गरिएको हो ।’ नेवाः देयः दबूका केन्द्रीय अध्यक्ष नरेश कुमार ताम्राकारको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विधान अधिवेशनका ऐजेन्डा तय गरेको हो ।
बाँके जिल्लाका नेवारहरुको प्रतिनिधिमूलक संस्था नेवाः देय दबू र नेवाः पुचः बाँके र जिल्लामा छरिएर रहेका नेवारहरुको १४ वटा गुठीका अध्यक्ष तथा प्रतिनिधिहरुसंग पनि विधान अधिवेशनको तयारीको समन्वय, व्यापक छलफल र सहयोग लिने काम भएको नेवाः देयः दबू बाँकेका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक श्रेष्ठले जानकारी दिए । त्यसका लागि बुधवार नेपालगन्जमा वृहत छलफल गरिएको थियो ।
नेवाः देयः दबू बाँकेका सल्लाहकार पूर्ण लाल चुकेका अनुसार, विधान अधिवेशनमा ६८ जिल्लाका करीब ४ सय जना प्रतिनिधि, पर्यवेक्षकहरु सहभागी हुनेछन् । आयोजनालाई भव्यता दिन ११ वटा समिति सक्रिय बनाइएको छ । अधिवेशन तयारीका लागि ३०१ सदस्यीय मूल समिति, ७१ सदस्यीय सल्लाहकार समिति, २१ सदस्यीय कार्यान्वयन समिति गठन गरिएको छ ।
आज शुक्रवार कार्यक्रमका प्रमुख अतिथि, वरिष्ठ अधिकारकर्मी मल्ल के सुन्दरले विधान अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । नागरिक आन्दोलनका अगुवा मल्ल के सुन्दर नेवाः देयः दबुको केन्द्रीय संरक्षक पनि हुन् । त्यसअघि मगर, गुरु, थारु, पञ्चे बाजा, शिख समुदाय लगायतको जातिय संस्कृति झल्किने खालका झाँकीहरु सहित विशाल र्याली आयोजना गरिने झाँकी व्यवस्थापन समितिका संयोजक नरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
नेवाः पुचः बाँकेका उपाध्यक्ष जितेन्द्र कुमार जोशी समेत रहेको सचिवालय समिति, नेवाः मिसाः दबू, बाँकेकी अध्यक्ष शोभा श्रेष्ठको संयोजकत्वमा सगुन व्यवस्थापन समिति, कोषाध्यक्ष विकल श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन समितिले विधान अधिवेशनको तयारीमा विभिन्न काम गरिरहेको मूल समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताए । उनका अनुसार, सल्लाहकार मनोज श्रेष्ठको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, नरेन्द्र श्रेष्ठको संयोजकत्वमा झाँकी व्यवस्थापन समिति, ज्ञानेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन समिति, सूर्य कुमार श्रेष्ठको संयोजकत्वमा स्वयम्सेवक व्यवस्थापन समितिले काम गरेको छ ।
पत्रकार समीरमान श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति, रुपक श्रेष्ठको संयोजकत्वमा फोटो तथा भिडियोग्राफी समिति, दिपेन्द्र जोशीको संयोजकत्वमा आवास व्यवस्थापन समिति र प्रेमलाल श्रेष्ठको संयोजकत्वमा भोजन व्यवस्थापन समितिले विधान अधिवेशनका लागि आवश्यक तयारी गरेका छन् ।
बाँकेलाई चिनाउने अवसर
नेवाः देयः दबु बाँकेका सल्लाहकार पूर्णलाल चुकेले विधान अधिवेशन बाँकेलाई सद्भावको सहरका रुपमा चिनाउने अवसर भएको बताउँछन् । बाँकेमा २०५७ सालमा नेवारहरुलाई संगठित गर्नका लागि पहिलो सम्मेलन भएको सम्झँदै वरिष्ठ पत्रकार चुके भन्छन्, ‘त्यति खेर मध्यपश्चिम स्तरीय क्षेत्रीय सम्मेलन पनि बाँकेमा नै भएको थियो ।’
‘२०५७ सालमा शताब्दीपुरुष, संस्कृतविद् सत्यमोहन जोशी, पद्मरत्न तुलाधर, मल्लके सुन्दर, लक्ष्मण राजवंशी लगायतका व्यक्तिहरुको सहभागितामा ठूलो क्षेत्रीय सम्मेलन तथा नेवा पुचः बाँकेको भेला आयोजना भएको थियो’, नेवाः पुचः बाँकेका सल्लाहकार चुकेले दैनिक नेपालगन्जसँग भने, ‘त्यसपछि अहिले बाँकेले विधान अधिवेशनको अवसर पाएको छ ।’
संघीय ढाँचामा लगिंदै: कृष्ण प्रसाद श्रेष्ठ, अध्यक्ष, नेवाः देय दबू बाँके
प्रथम विधान अधिवेशन २०७८ ले नेवाः देयः दबूलाई नयाँ संरचनामा लैजाने छ । देश संघीयतामा गैसकेपछि सबै ठाउँमा प्रदेश, जिल्ला र नगरस्तरीय शाखाहरु बन्ने क्रममा त्यही हिसाबको विधान आवश्यक रहेकाले बाँकेमा विधान संशोधनको केन्द्रीय कार्यक्रम राखिएको हो ।
हाल पुरानै विधान रहेको छ । देश संघीयतामा जानु अघि नै बनेको विधान कार्यान्वयनमा रहेकाले संघीय ढाँचामा लग्न संशोधन गर्न लागिएको हो । अहिले ६८ जिल्लामा शाखा बिस्तार भएको छ । अब ९ वटा जिल्लामा शाखा बिस्तार बाँकी रहेको छ ।
नेवारहरुको संस्कार, संस्कृति, रीतिरिवाजको संरक्षणका लागि पनि संगठन बनाइएको थियो । नेपाललाई चिनाउने नै नेवार जाति हो । नेवार समुदायमा यति धेरै संस्कार छ कि गन्नै समय लाग्दछ । धेरै परम्पराहरु रहेका छन्, भाषा, संस्कृति भेषभुषा पनि आफ्नै रहेको छ । आउने पिढीलाई हाम्रो संस्कार जानकारी गराउनु पर्ने हुन्छ । त्यसका लागि पनि संगठन आवश्यक छ ।
विधान अधिवेशनमा लाखे नाच, झाँकी लगायतका नेवार समुदायका चार पाँच वटा झाँकी, थारु, गुरुङ्ग जातिको, मगर जातिको लगायत स्थानीय जाति समुदायको सांस्कृतिक प्रस्तुति पनि रहनेछ । एउटा सांस्कृतिक झल्को पनि विधान अधिवेशनमा प्रस्तुत हुनेछ ।
देशभरबाट पाहुनाहरु नेपालगन्ज आउने कार्यक्रम रहेको हुनाले नेपालगन्जबासीले उहाँहरुलाई स्वागत गर्नुपर्दछ, राम्रो सन्देश जान्छ । जस्तो वैश्य समाजले स्वागत गर्ने कार्यक्रम छ । अरु समाजसँग पनि हामीले आग्रह गरेका छौं । व्यवसायिक प्रतिष्ठानहरुले पनि यसलाई सहयोग गरेको अवस्था छ ।
बाँकेमा राष्ट्रिय स्तरको कार्यक्रम हुँदा हाम्रो पनि कार्यक्रम हो भनेर बुझिदिने हो भने कार्यक्रम सफल हुन्छ । हामीलाई विश्वास छ, नेपालगन्जवासीले मन खोलेर स्वागत गर्नुहुनेछ ।