काँग्रेस बाँकेमा केन्द्रीय नेताको सक्रियता
नेपाली कांग्रेसका केन्द्रीय नेताहरु बाँके आउन थालेका छन् । पुस २७ गते हुने जिल्ला अधिवेशनका लागि उनीहरु जिल्ला आउन थालेका हु्न् ।

नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा नव निर्वाचित सह–महामन्त्री किशोरसिंह राठौरले बाँकेमा सर्वसम्मत नेतृत्वको पहल गर्ने बताएका छन् । संस्थापनका नेता उनले आफूले सकेसम्म सर्वसम्मतिको प्रयास गर्ने बताए ।
पत्रकार सम्मेलनमा सह–महामन्त्री राठौरले १४ औं महाधिवेशनले उर्जा दिएको भन्दै पार्टी सुदृढ ढंगले अघि बढ्ने धारणा राख्दै महाधिवेशनले एकताको सन्देश दिएको दावी गरे ।
राष्ट्रिय सहमति कायम गरेर मात्र एमसीसी पारित हुने धारणा राखेका राठौरले पत्रकारहरुसँग भने, ‘अहिले नै एमसीसी पारिहुँदैन ।’ आसन्न निर्वाचनसम्मनै गठबन्धन जाने चर्चाबारे पत्रकारहरुसँगको कुराकानीमा उनले परिस्थिति हेरेर निर्णय हुने बताए ।
काँग्रेस पहिलोः बाल्मिकी
नेपाली कांग्रेसका नव–निर्वाचित केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले आगामी निर्वाचनपछि नेपाली कांग्रेस नै देशको पहिलो पार्टी बन्ने ठोकुवा गरेका छन् ।

केन्द्रीय सदस्य निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला आएका नेता बाल्मिकीलाई कांग्रेस बाँकेले गरेको स्वागत तथा बधाई कार्यक्रममा संविधानको पालना गर्नका लागि भएपनि जनताले कांग्रेसलाई बहुमत दिनुपर्ने तर्क गरे । ‘अबको चुनावमा हामीलाई बहुमत दिनुस्, हामी संविधानको पालना गर्छौं,’ बाल्मिकीले पार्टीभित्र इमान्दारीपूर्वक काम गरेपछि नेता, कार्यकर्ताले अवसर पाउने धारणा राख्दै भने ।
नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला लगायत नेता, कार्यकर्ताले टिका र खादा ओढाएर केन्द्रीय सदस्य बाल्मिकीलाई स्वागत तथा बधाई दिएका थिए ।