बाँके काँग्रेसको अधिवेशन: नेतृत्वमा रस्साकस्सी

नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन तय भएको छ । पटकपटक सर्दै आएको काँग्रेस बाँकेको अधिवेशन रोकिएका देशभरका १६ जिल्लाको अधिवेशनसँगै पुस २७ गते हुने भएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले पार्टीको १४औँ महाधिवेशनका लागि अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन २७ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको नवनिर्वाचित केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीले जानकारी दिए ।

बाँकेसँगै कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, कैलाली, अछाम र नवलपुरको जिल्ला अधिवेशन हुन बाँकी छ । यसअघि कांग्रेसको सातै प्रदेशको प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको छ । विभिन्न विवाद र अन्तिम समयमा प्रदेश निर्वाचन र केन्द्रीय महाधिवेशन नजिकिएपछि बाँकेको अधिवेशन रोकिएको थियो ।

अधिवेशन तय भएपछि जिल्लाको नेतृत्वको रस्साकस्सी पनि सुरु भएको छ । बाँकेमा संस्थापन इतरबाट नारायणप्रसाद गौडेल एकमतले सभापति पदमा निर्वाचनका लागि टुंगो लागिसकेको छ । बाँके काँग्रेसका सभापति किरण कोइरालाले आफुहरुको सल्लाहबाट नै गौडेलको नेतृत्वमा निर्वाचनमा जाने निर्णय भएको बताइन् । ‘त्यही निर्णयले म केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी हुँ’, केन्द्रीय सदस्यमा सफल हुन नसकेपछि जिल्लामा दोहोर्याउने कि ? दैनिक नेपालगन्जको प्रश्नमा सभापति कोइरालाले भनिन्, ‘हामी पुरानै निर्णयमा अडिग छौं ।’ सभापति कोइराला झिनो मतले केन्द्रीय सदस्य पदमा पराजित भएकी थिइन् ।

संस्थापन इतरबाट गौडेल आगामी नेतृत्वका लागि एकमतले कसरतमा लागिरहँदा संस्थापनमा पनि उम्मेदवारी घोषणाको लहर जस्तै छ । सबैभन्दा पहिले पूर्व सभासद् बादशाह कुर्मीले औपचारिक रुपमै पत्रकार सम्मेलन गरी ‘सबै साथीहरुको सल्लाहबाट आफु सभापति उम्मेदवार रहेको’ घोषणा गरे । त्यसलगत्तै राजकुमार बर्माले कुर्मी आफुखुशी उठेको प्रतिक्रिया दिंदै आफ्नो उम्मेदवारी रहने बताए । ‘म सभापतिको उम्मेदवार हुँ’, आफु संस्थापन पक्षको आधिकारिक उम्मेदवार रहेको दाबी गर्दै बर्माले दैनिक नेपालगन्जसँग भनेका थिए, ‘घोषणाका लागि आवश्यक तयारी र साथीहरुसँग सल्लाह, परामर्श गरिरहेको छु ।’ त्यसलगत्तै जिल्ला अधिवेशन अनिश्चित बनेपछि रस्साकस्सी मत्थर भयो ।

संस्थापन पक्षमा प्रभावशाली मानिएका लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमालले बाँकेको सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । पुस २७ गतेका लागि जिल्ला अधिवेशन तय भए लगत्तै प्रदेश सभा सदस्य समेत रहेका मन्त्री हमालले दैनिक नेपालगन्जसँग भने, ‘मेरो उम्मेदवारी निश्चित छ ।’ उनले आफु सभापति पदका लागि उम्मेदवार रहेको र बाँकी साथीहरुसँग छलफल परामर्श गरिरहेको जानकारी दिंदै भने, ‘सम्भवत संस्थापनबाट म एक्लो उम्मेदवार हुनेछु ।’

यसैबीच, संस्थापनमा सभापति पदको खोसाखोस भएपछि एउटा उम्मेदवार बनाउन केन्द्रले हस्तक्षेप गर्ने भएको छ । ‘हाम्रा नेता, गृहमन्त्री बालकृष्ण खाँण त्यसका लागि बाँके आउँदै हुनुहुन्छ’, काँग्रेस सम्बद्ध स्रोतले दैनिक नेपालगन्जसँग भन्यो, ‘उहाँहरु बीचबाट एउटा उम्मेदवार तय गर्न पार्टी केन्द्रले हस्तक्षेप गर्दैछ ।’ उनका अनुसार, कुर्मी, बर्मा र हमालसँगै निरञ्जन सिंह सिजापति पनि संस्थापनका बलिया दाबेदार हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया