
क) पृष्ठभूमि
संघीय गणतन्त्र नेपालको सबै तहका निर्वाचित सरकारहरुका कार्यकालहरुमा केकस्ता गतिविधिहरु जनतामाझ गएका छन भन्ने विषयमा थुप्रै बहस होलान तर हालैका दिनहरुमा नेपालका न्यायपालिकाकरिब डेढ महिना अवरुद्ध भयो र अहिले सर्वोच्च अदालतआंशिक रुपमा सञ्चालन भएपनि न्यायपालिकाका कयौं काम कारवाही अवरुद्ध छन् । संघीय संसद र त्यस मातहतका समितिहरु निष्क्रिय भएको पनि एक वर्ष भन्दा बढीसमय भइसक्यो ।
हालैका दिनहरुमा नेपालको राजनीति घटनाक्रममा नेकपा (एमाले)ले एकातिर न्यायाधीशहरु इजलासमा नगएका कारण सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको भनिरहेको छ भने अर्कातिर प्रतिनिधिसभा अवरुद्ध गरिरहेको छ । नेकपा (माओवादी केन्द्र)ले एमालेका कारण मुलुकको संवैधानिक प्रक्रिया ‘डिरेल हुन लाग्यो भन्दैआलोचना गरिरहेका छ भने नेकपा (एस)ले प्रधानन्यायाधीशका कारण न्यायप्रणाली नै अवरुद्ध हुँदा प्रतिनिधिसभामा आफ्नो भूमिका निर्वाह गर्न सकेन भन्दैछ । उता कांग्रेसले अघिल्लो सरकारले जारी गरेको अध्यादेशहरुको चर्को आलोचना गर्ने तर अरुको दल विभाजित गरी सांसदहरुलाई वैधता दिन राजनीतिक दलसम्बन्धी अध्यादेशल्यायो भन्ने विषयहरुमा आरोप प्रत्यारोपका माध्यमबाट राज्यमा विचलन देखिएको अवस्था छ ।
ख) विधमान अवस्था
यस्ता घटनाक्रममा प्रभावहिन राज्यका अंगहरुको अवस्था र प्रकृतिले सामान्य नागरिकमा समेत के कस्ता सोच र व्यवहारहरुको विकास हुन गएको छ, संवेदनशिल विषय हो । सार्वभौम निकायद्वारा निर्मित विश्व कै उत्कृष्ट संविधानले संघीय लोकतान्त्रिक गणातन्त्रात्मक शासन व्यवस्था रहेको, सामाजिक सद्भाव ऐक्यवद्धता र सामाञ्जस्यता कायम राखी राष्ट्रिय एकता कायम गर्ने समाजवाद उन्मुख, स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्नेर विश्व समुदायमा राष्ट्रिय सम्मान अभिवृद्धि गरी नागरिकमा शान्ति, विकास, सुशासन र समृद्धि कायम गर्ने सोच राखेको छ ।
राज्यको स्वरुपले ७६१ वटा सरकारको प्रतिनीधित्व गरेको छ भने अधिकार र विषयवस्तुलाई संविधानतः अनुसुचीहरुमा लिपिवद्ध गरेको छ । सरकारहरुको द्वन्द्व बहस र मनमुटावहरुबाट उठ्न सक्ने कानूनी र नैतिकतामा देखापर्ने समस्याहरुबाट उत्पन्न हुने चुनौतिहरुमा ध्यान दिएर अगाडी बढ्नुपर्ने बेला देखिन्छ । विना हराएको कस्तुरी झै भएर अर्थहिन र नीजि स्वार्थ प्रेरित रही सदैब रुमलिनु पक्कै पनि राम्रो देखिदैन । राजनितिक तरलतामा रमाएकाहरुले धमिलो पानीमा माछा मार्ने खेल राष्ट्र र जनताका लागि ज्यादै अप्रिय सत्य हुनसक्छ । वैश्विक शक्तिको दवाव र प्रभावमा परेर राष्ट्रिय जीवन समाप्त गर्ने कुत्सित पात्रहरु समेत ठाडो कान गरेर बसेको अवस्था छ नै ।
जनतामा निराशाको बादल मडारिरेहको अवस्था छ भने द्रव्यपिचासहरुले अर्काको घरमा आगो लगाएर रमाउनेहरुको भीडमा बसेर आफ्नै घरको खरानीलाई नजरअन्दाज गरेको अवस्था पनि छ । जन धन समय र स्रोतसाधनहरुको ध्वसं हुने गरी पुन अर्को आन्दोलनलाई धेग्ने सामार्थ्य आम नेपालीमा छदै छैन ।
ग) कमजोरी शासन व्यवस्थामा कि पात्रहरुमा ?
आजसम्म विश्वमा रहेका देशहरुका आआफ्नै शासकीय व्यवस्थाका ईतिहासिक विषयहरु छन । नेपालको सन्दर्भमा पनि राज्यको उत्पत्तिकालमा रहेका गण÷कविला राजस्यदेखि हालको गणराज्यको अवस्थासम्म आईपुग्दा बाईसे चौविसे राज्य परिवारवादमा रहेको जहाँनिया राणा शासनकाल ‘पञ्चायती व्यवस्था’ राजासहितको वहुदलिय व्यवस्था र हालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अवस्थासम्म आईपुग्दा थुप्रै असल र खराव अभ्यासहरु भएको देख्न सकिन्छ ।
राजनीतिक दर्शनका हिसाबले शासन व्यवस्थाको कुन प्रारुप राम्रो र उपयुक्त हुन्छ भन्ने सवालमा घोत्लिएर विश्लेषण गर्नुपर्ने देखिन्छ । शासन व्यवस्थामा रहेका समकालिन पात्रहरुको भूमिकाले प्रभाव पार्दछ । असल र खराबको बोध र महशुस गराउँदछ । आम जनतामा आशा दिने कि निराशा भन्ने कुराको निर्धारण गर्ने र सो तर्फ प्रस्थान गराउने विन्दु नै यसका पात्रहरु नै हुन्छन् । यस्ता पात्रहरु राजनीतिक दलहरु सार्वजिक प्रशासकहरु प्रेस जगत निजी क्षेत्र सहकारी क्षेत्र नागरिक समाज तथा उक्त व्यवस्थालाई मजवुद दिने सबै संयन्त्रहरु पर्दछन । यिनीहरुको भूमिकाले आम नागरिक र राष्ट्रको वृहतर हितका के कस्तो भूमिका निर्वाह गरेका भन्ने अर्थ राख्दछ¸ पर्ख र हेरको अवस्थामा रहेका हुन्छन । मानविय मूल्य र कल्याणकारी राष्ट्रका लागि के कस्ता प्रयासहरु भए गरेका छन प्रतिक्षारत रहेको हुन्छ । पात्रहरुको प्रवृतिहरु र दृष्टिकोणको अभिमुख के कता रहेको छन र कसरी वर्तमान अवस्थाहरु देखापरेका छन परखको विषय हुन्छ । असल होस वा खराव ध्रवसत्य भएर बसेको हुन्छ आम बुझाईमा ।
लोभ मोह र निजी स्वार्थले उत्प्रेरित भई अन्याय, अत्याचार, अपराध, संकट, द्वन्द्व जस्ता नकारात्मक गतिविधिहरुले यत्रतत्र सर्वत्रको अवस्था भएमा र शासकहरुले समेत उक्त अवस्थाहरुमा स्वामित्वबोध गरेमा पात्रहरुप्रति नै प्रश्न चिन्ह खडा हुन्छ । यसको जवाफदेहि संयन्त्रसमेत मूकदर्शक भएमा राम राम भन्ने शिवाय केहि उपाय हुदैन।यसर्थ दोष शासन व्यवस्थामा हुदैन यसका पात्रहरुमा हुन्छ । व्रिटिशको उपनिवेशबाट मुक्त भएको भारतको संविधान तयार गर्ने जिम्मा पाएका भिमराव अम्वेडकरले तयार गरी संविधान बुझाए तब उनीलाई निर्माण गरेको मा धन्यवाद दिए त्यतिवेला उनले भनेका थिए कि मैल त नागरिकहरुको ईच्छाहरुलाई शब्दमा बुनेर दिएको मात्र हो । यसमा भएका असल कुराहरुलाई खराब तरिकाले कार्यान्वयन गरेमा होस वा खराब कुराहरुलाई असल तरिकाले कार्यान्वयन गर्ने होस यि दुवै कुराहरु यसका कार्यान्वयनकर्तामा निर्भर रहन्छ ।असल र खराबको विषय त्यसको प्रयोगमा निर्भर रहन्छ । शासन व्यवस्थामा कुनै खराबी हुदैन यसका पात्रहरुमा हुन्छ । नकारात्मक पात्रहरुको जमातले विग्रहयुक्त समाजको जन्म दिन्छ । चेतयुक्त राज्यमा समग्र पक्षहरुका सहित अन्तः बौद्धिक विचलन देखापर्दछ यसर्थ शासन व्यवस्था आफैमा राम्रो नराम्रो हँुदैन ।