बौलाहाको डायरी–२

भ्रममा बाँच्नको जिन्दगानी अजब र गजबको मजा हुन्छ नत्र वास्तविकताले त रुवाई पो दिन्छ ।
मिर्जा गालिव

सपथ खाएको दिन
१५ जुन १९७७
फूलाेंका सहर जयपुरबाट हामीहरु लैला मज्नुको मजार अनुपगढको बिजोर पुग्यौँ । प्रेमको सुन्दर र महान लैला मज्नुको मजार (चिहान) यहाँ छ । हरेक वर्ष जुनको १४ र १५मा यहाँ हजारौ प्रेमिल जोडी सपथ खान प्रेम मेलामा हाजीर जनाउँछन् । यहाँबाट पाकिस्तानी सीमा २ किलो मिटरमात्र टाढा छ ।
दमिस्काका शाह नाज्दकी छोरी लैलालाई अमिरी जनजातिका कैससंग प्रेम भएको थाहा पाएपछि धनाढ्य वक्तसंग निकाह (बिबाह) गराइ दिए । कैस प्रेम पीडामा छट्पटिएर देशाटनमा निक्लियो । लैलाले पनि वक्तसंग तलाक लिएर कैस खेज्न निक्लिन् । उनले यहीँ कैसलाई भेटिन् । तर, लैलाका बाउ र दाजुभाईले कैसको हत्या गरिदए । लैलाले प्रेमीको मृत्युस्थलमै आत्महत्या गरिन् । हामीले आपतविपत, जस्तै प्रतिकुलतालाई पनि चिर्ने कबुल प्रेमको सपथ ग्रहण ग¥यौँ ।

१६ जुन १९७७
प्रेम, यौन र बिबाहबारे हरेक समाज र युगमा गम्भीर वहस चलेको मात्रै छैन् ठूल्ठूला युद्ध पनि भए । पृथ्वीराज र संयोगिता बीचको प्रेमले भारतीय उपमहाद्धीपको सामाजिक र आर्थिक संरचनामा फेरवदल ल्याइदियो । प्रेमको बलिबेदीमा हजारौँ जोडीहरु चढिसकेका छन् । प्रेमका दुश्मनहरुका समाजिक नग्रा अत्यन्तै तिखारिएका हुन्छन् ।
प्रेम कहिल्यै पनि विज्ञापन बन्नु हुँदैन न शुभकमना न समवेदना न बधाई नै हुनुहुन्छ । विज्ञापन ब्यबसायसंग जोडिएको हुन्छ । ब्यवसायले नाफा खोज्छ । माया, सम्मान, भावना र समवेदना मानवीय सम्वेदनाका उपज हुन, अनुभूति हुन सक्छन, तर अभिब्यक्ति वा विज्ञापन बन्न कहिल्यै सक्दैनन् ।
संगीताले भनिन्ः नियत र सोच राम्रो राखेपछि परिणाम पनि पवित्र प्रेमको अनुकुलनै निक्लन्छ ।


२९ सेप्टेम्वर १९७७
हातमा प्रमाणपत्र, दीलमा उमंग, मस्तिकमा सपना, परिचयमा इन्जिनियर र डाक्टर बनेर आज हामी रुपैडियाबाट नेपालगन्ज पस्यौँ । घरमा खुशी छायो । परिवार,परिस्थिति, समाज र नीजी जिन्दगीका नक्सा कोर्न सुरु भयो ।

९ मई १९७८
हो … के भो डा. संगीता …! हाम्रा मिलनमा केही समयको अन्तराल मेरो हुम्लाको जागीर,तिम्रो पोखरा अस्पताल …। किन र कसरी यसबीचमा सगरमाथा खडा भो, प्रशान्त महासागर भन्दा गहिरो खाडल । परिवारको चित्त नदुखाई हामी हाम्रो निर्णय आफै लनि सक्छौँ, नि । कसैलाइ गल्ती सोच्नु पहिला उस्को अवस्था नियाल्नुपर्छ ।
कसैलाई आरोप नलगाउँः राम्रा मान्छेले खुशी साट्छन, नराम्रा मान्छेले अनुभव दिन्छन, तुच्छ मान्छेले पाठ पढाउछन्, उम्दा मान्छेले स्मरण सुनाउँछन् । सबैले कही न केही दिइरहेको हुन्छ । हाम्रो लिनसक्ने क्षमतामा भर पर्छ । अहिले म लुईस गूल्गको भनाई सम्झँदैछुःजब यस धर्तीमा तिमी कसैलाई प्यार गर्न सक्दैनौ भने तिमीलाई बाच्न कुनै ठाउँ रहने छैन ।’ जस्को जिन्दगीका रेखानै बांगोटिंगो हिड्छन् कागजी धर्सा कोरेर जिन्दगी नबिताउने निर्णय गर्दै सिमीकोटबाट झर्ने निधो गरेँ ।


१२ डिसेम्वर १९७८
मेरो जिन्दगीका कथा जस्तै मेरो सहरलाई भएको छ । कुइरो र टुइटोले छेकेको सहरको जिन्दगीमा शीतलहर सुरुभो । धर्ती र मान्छेलाई न्याना आवश्यक छ । कठ्याग्रिएको धर्तीमा बिउ उम्रँदैन, मादा आमा बन्न सक्दैनन् । उदास हुन्छ दील, चिसिन्छन सम्बन्धहरु । प्रेमीहरु चिशाभावले अंगालो मार्न संकदैनन । अब म यस झोलालाई नै त हग गर्छु ।

के सोचेको थियौँ ? के भइरहेको छ ? मेरै सोच अनुसार मेरो समय र समाज हाकिन्छ भन्ने मिथ्या विश्वास रहेछ । माफ गर, मैले साच्चै हो १० कदम अगाडि सोच्न पनि सकिरहेको रहेन छु ।जान्नु ठिक हो की हैन् ? केही कुरा थाहा नपाँउदा वेस । आमा वेश्या र रन्डी भएको कुरा छोराले थाहा नपाँउदा राम्रो । आमाहरू रन्डी र वेस्या कहिल्यै हुनैसक्दैनन् । तर, यस संसारमा यौन व्यभिचारीहरू त हुन्छन् त फेरि ।
दिमाग छ नि… के के सोच्छ, सोच्दिन्छ – जव मुटुसंग हृदय र गिदीसंग चेतना जोडिदैन तब संवेदना कहाँबाट तप्किन्छ र ! हाँसो र आँशुमा संवेदनाका रसनै कहाँ पो रहन्छर ! तब त नाता, कुल कुटुम्म र मित्रहरू एउटा व्यवसायी साझेदार मात्रै बन्न पुग्छन् । नाफाका लागी असल पार्टनर त बन्न सक्छन् तर असल आफन्त बन्न गाह्रो पर्छ । शंका, पुर्वाग्रह,आवेग सबै मानिसका दुश्मन हुन ।अज्ञान र अल्पज्ञान यिनको जन्मदिने आमा । यिनैले मानिस दुखी जीवन बाँचेर अरुलाई पनि दुख दिन्छन् ।

उफ धोका …सिर्फ धोका दिनु नै धोकेबाज हुँदैन्, जो नक्कली आफन्त हुन्छन ति त महाधोकेवाज नै हुन । जस्तो चल्या छ, त्यस्तै निरन्तर चल्दैन । मैले धोका खाएको भनेर कहिल्यै भन्या छैन, नभन्ने छु । जानीजानी ठूलो खाल्टो भएका बाटोमा हिँडीँ । त्यहाँबाट गुज्रिएका मान्छे कहिल्यै फर्केनन् । मैले नजानेर, थाहा नपाएर कहाँ हिडेको थिएँ र ! यात्रा त शिक्षा हो । नयाँनयाँ दृष्य देखिन्छन ।न याँ मान्छे भेटिन्छन । नयाँ हावापानी भेटिन्छ । नयाँ कथा र सौन्दर्य भेटिन्छन । तिसबै एउटै डोकाँ हाल्दा नयाँ विचार,मान्यता, नयाँ विश्वास, नयाँ संवेदना उब्जिन्छ । हो, मान्छे नित्य नयाँ मान्छे बन्छ । गएको मान्छे फर्कंदैन, उसका आकृतिमात्रै देखिन सकिने हो । वैचारिक पुनर्जन्मले मान्छे नित्य नयाँ भैरहन्छ ।

शारीरिक पीडाभन्दा मानसिक पीडाले झन दुख्दो रहेछ । आफनै विश्वासले आफैँलाई चिमोँट्दा मान्छे मुर्छा हुँदो रहेछ । निजी बिलौनाका यहाँ के नै अर्थ हुन्छ र ? आत्माको आक्रोस ओकल्न नसक्ने र समाधान पहिल्याउन नसक्ने मेरो युग र मिथ्या विश्वासमै बहुला भिडले डोरिइरहेको टुलुटुलु हेर्नु भिड सामनेका मेरा विवशता हुन । यस्तो समय पनि आँउदो रहेछ जहाँ मानिस मन,वचन र कर्मले नै सोच, मनोभाव र अवस्था नांगिदा रहेछन् । तटस्थ र मौनता साँध्न सक्दो रहेनछ ।

के तिमी दोस्रो पटक त्यही नदी तर्न सक्छौ ? सक्दैनौ । अर्कोपटक नदी तर्नेकोको नाममा फेरि किनारा त छुन्छौ तर नदी बन्ने पानी त बगिसकेको हुन्छ । अझ नदीका नाम पनि भूगोल र वहावसंगै फेरिँदा रहेछन् । कर्णालीकै उदाहरण लेउ …तिब्बतमा माप्चोचोङ्गो हिमनदीबाट निस्केर मानसरोवर नजिक रकोस सरोवरमा (राक्षस ताल) मिसिंदै दक्षिणढलो लागेपछि करण खोला, मुगु, नेपालमा मिसिएपछि मात्र कर्णाली भनिन्छ । नदीमा बेगमय छाल, करेन्टमय धार रहिन्जेल कर्णाली भनिए पनि जब त्यही नदी ’शान्त’ र ’भलाद्दमी’ बन्छ, पानी त्यही भएपनि भारतीय सीमा पस्ने वित्तिकै घाघरा, सरयु गंगासागर बन्छ ।

मान्छे पनि पहिलाकै आदर्श र सक्रियतावादी रहेन भने पुराना परिचय र पहिचान रहिरहँदैन् । आखिर खोलले आत्माको, चेतनाको, आदर्शको, अभियन्ताको प्रतिनिधित्व कहीँ गर्न सक्छर ! सक्दैन् । खोल आखिर खोल नै हो …चाहे त्यो हाडछाला मासुको होस् वा कपडा या चमडाको, या सर्पको काँचुली ।

संघारमा सबैलाई अझ चिनिन्छ र भविष्यमा पात्रको प्रबृति अनसार नै ब्यबहार गरिन्छ । बजारमा जे बिक्छ, त्यही पसलमा राखिन्छ । मानवता, सिद्धान्त, आदर्श, सपना, प्रतिबद्दता, संवेदनशीलता केही त्यहाँ बिक्दैनन् । बिक्छ के त ? असहिष्णुता,घृणा, आवेग अन्धसमर्थन, अन्धविरोध, जातियता, क्षेत्रीयता,आस र त्रास,चरित्रहीन–राजनीति, भिडको भाषा, तर्कहीन हठिपना । तब जे गर्दा फाइदा पुग्छ, त्यही गर्ने आचरणको छुट ।


२३ अप्रिल १९८६
मेरो झोलामा सुकेकै भए पनि गुलाफको फुल छ । गुलाफको अर्थ रोममा गोप्य, महिला र प्रेमको प्रतिक भनिन्छ । आमाले बुहारीलाई लगाइदिन दिनुभएको मंगलसुत्र छ । अब दुवैको कुनै काम छैन । मङ्गलै नभएको जिन्दगानीमा के काम मंगलसुत्रको ! कतै भावुकता थियो, कतै कल्पना थियो । कतै आदर्श थियो, कतै तिर्सना थियो । तर पनि मान्छेहरू जिन्दगीको उज्यालो खोजीमा हिँडिरहे । ति उज्यालो खोज्ने मान्छे हामीपनि थियौँ ।

साँच्चै बोल्न त मुटु चाहियो नि,पैताला चाट्न त एउटै जिब्रो काफी छ । जव झुठको चाङ लागेपछि जीवनपद्धति बन्छ, अनि मानिसहरु त्यही झुठमा रम्न थाल्छन् । सत्यदेखि डर लाग्न थाल्छ । जति झुठ बोल्यो त्यतिनै वाहवाही भएर अरु वरीपरी झुम्मिन थाल्छन ।
भन्नकालागी त आफन्त धेरै हुन्छन् तर मन उदास भएको बेला सोध्ने कोही पनि हुँदोरहेनछ । रवि बौलायो भन्छन अरे । नोकरी छोडेको,विहे नगरेको, प्राक्टिस नगरेको र सम्पतिलाइ ध्यान नदिएको, जातपातलाई घृणा गरेको, धर्मकर्म नमानेको कारण बौलाएर हो अरे । बैसमा कस्ले विहा गर्दैन ! कस्लाई धनको मोह हुँदैन ! धर्मकर्म वेगर, भगवान बेगर कस्को जिन्दगी चल्या छ ! भन्छन अरे । म तिनीहरुलाई आइन्सटाइनलाई सापेक्षतावादको चुनौति दिने नासाका वैज्ञानिक वशिष्ठनारायण सिंहका कथा सुनाउँछु । यदी प्रोफसर जान केली हुँदैनथे भने उनले क्यालिफोर्नियाबाट पिएचडी गर्नै सक्दैनथे । प्रतिभा चिनेर फस्टाउने परिवेश नियाल्नुपर्छ । एकातर्फ सोधग्रन्ध अर्कै थेसिस चोरले छपाउनु अर्कोतर्फ १९७३मा विहे गरेकी वन्दना सिंह सन्काहा भनेर छोडिदिएपछि दुईटै घटना एकैपटक भएकाले झट्का त लाग्ने नै भयो सिजोफ्रेनियाले डिसअर्डर भएछन । हो, डा.संगीताको प्रेमले बौलाएको भन्छन अरे ।
जस्ले बुझदैन, बुझने कोशिस गर्दैन तब त बौलाहा भन्छन् । मलाई पनि सिजोफ्रेनिया भएको चर्चा गरिरहेके हिजो सुनेँ ।


२३ जनवरी १९९१
म धर्के (इन्जिनियर) हुँ, शिक्षाविद् त हुँदै हैन । शिक्षा पद्दति र ज्ञानको उत्पादनबारे आज लामो समय सोचेँ । मैले अव्वल मार्कका हासिल गरेर इज्जिनियरिङ गरीँ, संगीता डाक्टर बनिन् । तर, जुन शिक्षाले जीवनको अर्थ लगाउन सकेन, त्यसको के काम ? न मैले देशको, युगको, समाजको नक्सा कोर्न सकें, न आप्mनै जीवनको तस्विर । म बिन्दु, रेखा,अंक र अक्षर देख्दा देख्दै टोलाउँछु । जिन्दगीका चित्र त विन्दु र रेखा बन्दै बन्ने हो । रंग र अत्मादिने त दिल र दिमाग हुनेले होनी … । डा.संगीताले साँच्चैको जीवन…नयाँ जीवन दिन सकिन त ! लेवर रूममा नवजात शिशुको खिलखिलाउँदो अनुहार र नयाँ जीवन देख्दा नेस्टोल्जिया हुन्छ होला की नाइँ !
जुन शिक्षा पद्दतीले मस्तिकको उवर्रा खेतलाई दासभूमिमा फेरेर ज्ञानमार्गके ढोका बन्दै गर्दै जीवन सरल र सहज बनाउँदैन्, भने त्यसले त शिक्षित मुर्ख वा स्वार्थी जमात मात्रै उत्पादन गर्छ । यस्तो समूह तयार गर्छ जे देखिँदा त नेपाली होस् तर उसका सोंच, भूमिका, सपना, चिन्तन, रूचि,नैतिक आचरण विदेशी जस्तो ।

ज्ञानका भूगोल विस्तार गर्ने शिक्षा त मानव केन्द्रित चिन्तन र संवेदनाको जगेर्ना गर्नुपथ्र्यो । मानवजातिले पाएका उपलब्धीलाई रक्षा गर्दै धर्तीलाई सुन्दर बनाउन योग्यता, क्षमता, भूमिका लगाउन प्रोत्साहित गर्नुपथ्र्यो । निजी र पूँजी केन्द्रित सोंच त्याग्ने हैसला दिन्थ्यो । अध्यारो र अत्याचार विरूद्ध चेतना र प्रकाश छर्दै उभिन्ने आँट दिनुपथ्र्यो ।

शिक्षाकै चश्माबाट नियाल्दा त डा. संगीता शाह र इन्जिनियर रवि शर्मा उच्च शिक्षा पाएकै हौँ । तर हाम्रो पुस्ता, समूहले आफ्ना सारा ज्ञान स्वकेन्द्रित बनायो । आफ्नै खाले समाज र समूहप्रति केन्दित भयौँ । यसले पुरानो सत्ता, नायकको जसरी सेवा ग¥यो त्यस्तै नयाँ शासकलाई पनि बुट बजार्छ, नयाँले पनि ंत्यही पछ्याउदै छ । तब म सोच्छुः– मान्छेका निष्ठा के हुन ! आत्माले चल्छ कि… चेतनाले डो¥याउँछ ! कसरी फेरिन सक्छ ! मस्तिकमा घन ठोक्दै पुराना विश्वास, सौन्दर्यलाई मेटाएर नयाँ विश्वास उमार्न तर्क निर्माण गर्ने, सुसुप्त चेतलाई जागृत गर्ने तरिका के हुन ?

शासित तप्काबाट चिन्तनशील सोंच र कर्ता कहिल्यै नजन्मियोस भन्ने शासक वर्ग सोच्छ । जन्मे पनि नटिकोस् भनेर बल्छी थापिरहेका हुन्छन । वर्ग,विश्वास, व्यवहार सिफ्ट गरेपछि सुन्दरता फेरिन्छ, नायक र कर्म फेरिन्छ । तब त हिजोका आदर्शवादी खलनायक बनेर नयाँ मालिकको सेवामा समर्पित हुन्छन । हो..मैले धेरै शिक्षित मान्छेहरू खुशी बेचेर सुख किन्नेहरू देखेकोछु ।

हाम्रा कलेजजीवनका उम्दा साथीहरू जेपी मूभमेन्टमा गए, फर्केर पनि आए तर नक्सलमा गएका भने कहिल्यै फर्केनन् । मैले मेरै कालखण्डमा क्रान्ति र परिवर्तनमा समर्पित जोश र विश्वासले ओतप्रोत समूह देखेकै हो । अहिले पनि नियाल्दै छु । सपनाहरू कतै गलत नायकको फन्दामा त पर्दै छैनन् ? परिणामभन्दा पनि नियत पवित्र थियो वा थिएन मूख्य कुरा हो ।

हामी अपमानित अर्काले चिनेर बन्दैनौ, आफैले आफुलाई नचिनेर, गरिमा थाम्न नसकेर हुने गर्छौ । तरिका बदलौँ, धेरै कुरा फेरिन्छ ।
जब तिमी भित्रैबाट टुट्दा पनि मुस्कुराउन सक्छौ, तव त तिमीलाई ध्वस्त गर्ने शक्ति अरू हुँदैन । । ज्ञानीजन थाहा नपाएका कुरा बोल्दैनन, मुर्खलाई त सवैकुरा थाहा हुन्छ । राम्रा मान्छे खुशी दिन्छन,खराव अनुभव, तुच्छले पाठ दिन्छन, उम्दाले स्मरण दिन्छन । पाकेको फल नरम,मिठो र रंग परिवर्तन भएजस्तै राम्रा मानिसमा नम्रता, वाणीमा मिठास र व्यवहारमा परिपक्कता हुन्छ । संस्कारलाई पनि माझिन्छन् ।
क्रमश…

प्रतिक्रिया

प्रतिक्रिया